A Levels MA

बजेटले शिक्षाका वर्तमान समस्या सम्बोधन गरेन

सरकारले संघीय संसद्मा हिजो प्रस्तुत गरेको आर्थिक बर्ष २०७७/०७८ को बजेटले वर्तमान शिक्षाका समस्या सम्बोधन गर्न नसकेकोे विज्ञहरुले बताएका छन् ।

शिक्षा पत्रकार समूहले आज आयोजना गरेको भर्चुअल शिक्षा संवाद ‘बजेटमा शिक्षा: अपेक्षा, आवश्यकता र सम्बोधन’का सहभागीले सरकारले बदलिँदो चुनौती सामना गर्नेगरी कार्यक्रम ल्याउन नसकेको टिप्पणी गरेका छन् ।

प्रतिनिधी सभा शिक्षा तथा स्वास्थ्य समितिका सदस्य सांसद गगन थापाले कोभिड १९ को चुनौतीसंगै शिक्षा र स्वास्थ्य क्षेत्रले पाएको अवसर सरकारले गुमाएको बताए । ‘म अर्थमन्त्रालयलाई दोष दिन्न । शिक्षा मन्त्रालयले नयाँ प्रस्ताव र कार्यक्रम अघि सार्न नसकेको देखियो” उनले भने, ‘शिक्षामा महत्वपूर्ण सुधार ल्याउने अवसर छोप्न नेतृत्व चुक्यो ।’

शिक्षामा अहिलेको सबैभन्दा ठूलो संकट सिकाईमा रहेको उल्लेख गर्दै सांसद थापाले कोभिड १९ ले कक्षा संचालन हुन नसक्ने स्थितिमा सरकारले शिक्षामा सूचना प्रविधि (आईटी) संरचनामा ठूलो फड्को मार्नसक्ने अवसर गुमाएको उनँको भनाई थियो ।

दिवा खाजा, छात्रवृत्तिका कार्यक्रम सकारात्मक भए पनि बजेटले माध्यामिक शिक्षा निःशुल्क गर्ने उपाय दिन नसकेको उल्लेख गर्दै सांसद थापाले भने, ‘शतप्रतिशत भर्ना, साक्षर नेपाल घोषणा र सार्वजनिक शिक्षामा सुधार भनेर मात्र हुदैन । प्रष्ट कार्यक्रम ल्याउनुपर्छ, जुन बजेटमा छैन ।’ थुपै्र निजी विद्यालय टहरामा हरिबिजोग ढंगले चलिरहेकाले तिनले सामुदायिक विद्यालयलाई सहयोग गर्न सम्भव नभएको बताए ।

शिक्षाविद् प्रा.डा. विनय कुसियतले बजेटमा आफूले सामुदायिक विद्यालय सुधारको कुनै योजना नदेखेको बताए । शिक्षालाई प्रविधिमैत्री बनाउन विशेष सम्बोधन गर्नुपर्नेमा नगरिएको टिप्पणी गर्दै उनले भने, ‘नयाँ सन्दर्भमा आएको बजेट पुरानै अवस्था र परम्परागत ढंगले आयो । यसले अहिलेका आवश्यकता र माग सम्बोधन गर्न सक्दैन ।’

वरिष्ठ पत्रकार राजेन्द्र दाहालले ६ हजार स्वयम्सेवक शिक्षक भर्ना गरेर फेरी पनि कामचलाउ ढंगले विद्यालय चलाउने योजना बनाइएको बताए । ‘बजेटले सार्वजनिक शिक्षामा सिकाई सुधारका कार्यक्रम आउन सकेन । उच्च शिक्षालाई त हेर्दैहेरिएन’ उनले भने, ‘सिकाई स्तर निरन्तर तल गईरहेको छ । यस्तो बेला शिक्षक व्यवस्थापनलाई ध्यान दिनुपर्‍थो, दिईएन ।’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव कृष्ण काप्रीले समग्र बजेटको आकार घटेको बेला शिक्षामा बजेट बृद्धि हुनुलाई उपलब्धीका रुपमा लिनुपर्ने बताए ।

Thuprai - Books and E-books