उत्तरपुस्तिका बाटोमै खस्यो

I Tech store

परीक्षकहरूले एसएलसी परीक्षाका उत्तरपुस्तिका घरमै लगेर जाने चलन । लामो समयसम्म चल्यो त्यो चलन । स्कुलमा शिक्षकहरूले हामीलाई सुनाउँथे– शिक्षकको घरमा दाल चामल सकिएको झोंकमा तिमीहरुका नम्बर काटिन्छन् । कतिपय शिक्षकले भन्थे, “श्रीमान् श्रीमति झगडा पर्‍यो भने तिम्रा नम्बर चट् ।” डर त लागिरहन्थ्यो, कतै शिक्षकका घरमा रसदपानी नसकियून् वा जोइपोइ झगडा नहोस् । कारण एउटै थियो– एसएलसी परीक्षाका उत्तरपुस्तिका घरमा लैजाने चलनले विद्यार्थीमा सिर्जना भएको संत्रास । शिक्षकले घरमा ‘कपी’ लिएर गएपछि उनका घरका कोकोले परीक्षण गर्लान् भन्ने बडोे चिन्ता लागिरहन्थ्यो । 

ललितपुर माध्यमिक विद्यालयका शिक्षक उत्तम त्रिपाठीले ऐच्छिक भूगोल विषयको उत्तरपुस्तिकाको पोका मोटरसाइकलमा राखेर घर जाँदै थिए । बाटोमै खस्यो । उनले पत्तो पनि पाएनन् । यो  घटना थियो २०५१ साल वैशाख १३ गतेको । समाचार सार्वजनिक भयो । पुनः परीक्षा सञ्चालन हुने होला भन्ने हल्ला पनि चल्यो । वैशाख १५ गते उदयपुरका प्रकाश केसीले पोका फेला पारी परीक्षा नियन्त्रण कार्यालयमा बुझाइदिए । त्यसवापत पनिकाले उनलाई दुई हजार रुपियाँ र प्रशंसापत्र प्रदान गर्‍यो । त्यसपछि उत्तरपुस्तिका घरमा लैजान बन्द गर्नुपर्ने चर्चा चलेकै थियो । २०५६ सालको एसएलसी पूरक परीक्षाबाट घरघरमा उत्तरपुस्तिका लिएर जाने परिपाटीको अन्त्य गरियो । परीक्षण केन्द्रमा नै परीक्षकहरूलाई राखेर परीक्षण गराउने चलन थालियो ।

शिक्षा पत्रकार प्रकृति अधिकारीले लेखेको पुस्तक एसएलसीको इतिहास बजारमा आएको छ । त्यो पुस्तक पढ्दा धेरै विषय र प्रसङ्ग अहिलेका पुस्ताका लागि नौला एवं रोचक लाग्न सक्दछ । 

हो, अहिलेका पुस्तालाई प्रधानमन्त्रीको जन्मदिनका कारण परीक्षा सारिन्छ भन्ने सुन्दा अनौठो लाग्न सक्दछ । नेपालका प्रधानमन्त्रीको जन्मदिनका कारण परीक्षा नै सार्नुपरेको इतिहास रहेछ । तत्कालीन प्रधानमन्त्री मोहनशमशेर जङ्गबहादुर राणाको जन्म दिन परेपछि एसएलसी परीक्षा नै सार्नु परेको थियो । परीक्षा नियन्त्रण कार्यालयले परीक्षा तालिका तयार गरी सार्वजनिक गर्‍यो र सोहीअनुसार परीक्षा पनि धमाधम सञ्चालन गरिरह्यो । तर इतिहास विषयको परीक्षा तोकिएको दिन मोहनशमशेरको जन्म दिन परेछ । त्यो कुरा पनिकालाई हेक्का भएनछ । प्रधानमन्त्रीको जन्मदिनमा हर्षाेल्लास भव्यताका साथ मनाउनुपर्ने प्रचलन छँदै थियो । त्यसैले त्यस दिन परीक्षा सञ्चालन गर्न नमिलेपछि परीक्षालाई भोलिपल्ट सार्नुपरेको थियो । 

तत्कालीन प्रधानमन्त्री मोहनशमशेरको जन्मदिन पुस ७ गते थियो । यो घटना २००५ सालको हो । त्यस दिन परीक्षा लिन नमिलेपछि भोलिपल्ट अर्थात् पुस ८ गते इतिहास विषयको परीक्षा सञ्चालन गर्नुपरेको थियो । नेपालमा एसएलसी परीक्षाको थालनी १९९० सालबाट भएको हो । त्यसबेलादेखि पटकपटक विभिन्न कारणले परीक्षा सरेको इतिहास छ । 

परीक्षा सरेकोसम्बन्धी एक अर्काे रोचक प्रसङ्गलाई पनि सोही पुस्तकमा समेटिएको छ । विराटनगरका परीक्षार्थीहरू परीक्षा केन्द्र वीरगन्जमा पुग्न नसक्दा परीक्षा सार्नुपरेको सूचना सार्वजनिक गरिएको थियो । २००३ साल पुस १७ गते जाँच सर्‍यो भनेर सूचना सार्वजनिक गरेर परीक्षा सरेको जनाउँ दिइएको थियो । त्यस वर्ष पुस २४ गतेदेखि माघ ४ गतेसम्म परीक्षा सञ्चालन गरिएको थियो । परीक्षार्थी परीक्षा केन्द्रसम्म नपुग्दा परीक्षा सरेको भनी पनिकाले ढाँट कुरा गरेको भनाइ सोही वर्ष परीक्षामा सम्मिलित भएका गोपीनाथ शर्माले दावी गरेका छन् । उनको भनाइ छ, “मेरो इच्छाधीन कृषि विषय थियो । इच्छाधीन कृषि विषय लिने छात्रहरूले प्रयोगात्मक परीक्षा दिन ताहाचल एक्सपेरिमेन्टल फार्म पुग्नुपथ्र्याे । कृषि इच्छाधीन विषय लिने छात्रमा डीजीपीआई (शिक्षा निर्देशक) मृगेन्द्रशमशेरका छोरा आदित्यशमशेर पनि रहेछन् । उनीसँग त्यहाँ कुराकानी हुँदा उनी परीक्षा सुरु हुन दुई दिनअघिदेखि ज्वरो आइ बेरामी परेछन् । त्यसैले सात दिन परीक्षा सारिएको रहेछ भन्ने बुझियो ।” 

२००८ साल फागुन ८ गतेबाट एसएलसी परीक्षा सुरु हुने भनी परीक्षा तालिका सार्वजनिक गरिएको थियो । त्यसबाहेक अरुपटक पनि परीक्षा स्थगन भएका थिए । प्रश्नपत्र बाहिरिएपछि पनि केही परीक्षा केन्द्रमा पनि परीक्षा स्थगन भएका छन् । २०७५ सालको एसईई परीक्षामा पनि प्रदेश २ मा यस्तै स्थिति सिर्जना भएको थियो । कुल ३१० पृष्ठको एसएलसीको इतिहासमा एसएलसी परीक्षा सुरु भएदेखि गत भदौसम्मका सम्पूर्ण घटनालाई समेटिएको छ । एसएलसीको इतिहासका बारेमा विभिन्न लेखकले बेलाबखत थोरैथोरै लेखेका छन्, तर उनीहरूले पुस्तकका रुपमा लेखेका छैनन् । तसर्थ समग्र एसएलसी परीक्षाको इतिहास बोकेको यो पहिलो पुस्तक हो भनी ठोकुवा गर्न सकिन्छ । २००७ सालको आन्दोलनमा लागेकाले विद्यार्थीहरुले परीक्षाको तयारी गर्न नपाउँदा परीक्षामा सम्मिलित हुन सकेनन् । विद्यार्थीहरूले पुनः परीक्षाको माग राख्दै आएका थिए । अन्ततः मुलुकमा प्रजातन्त्र प्राप्त भएपछि सरकारले १०४ जनालाई सङ्कटकालीन प्रमाणपत्र प्रदान गरेको थियो । त्यस वर्ष तीनपटक पूरक परीक्षा सञ्चालन गरिएको थियो । २००७ सालमा सबै विद्यार्थी उत्तीर्ण भएको भनी हल्ला निराधार रहेको दावी लेखक अधिकारीको छ । उनले पनिकामा रहेको मार्क लेजरअनुसार अनुत्तीर्ण भएकाहरू पनि थुप्रै रहेको दावी गरेका छन् । एसएलसी परीक्षा बोर्डका पहिलो परीक्षा नियन्त्रक नन्दराम उप्रेती वा हरमणि आदीमध्ये को हुन् भन्नेमा विवाद भइरहेको छ । लेखकले यस पनि प्रमाणका आधारमा आफ्नो तर्क प्रस्तुत गरेका छन् ।

Thuprai - Books and E-books