केयुको दोस्रो चरणको २८औँ दीक्षान्त समारोह सम्पन्न,विश्वविद्यालय स्थापना गर्न होडबाजीः कुलपति

 

काठमाडौं विश्वविद्यालय (केयु) को दोस्रो चरणको २८औँ दीक्षान्त समारोह आज सम्पन्न भएको छ । एक हजार २४० विद्यार्थीलाई दीक्षित गर्दै समारोह सम्पन्न भएको हो । विश्वविद्यालयबाट जेठ ५ गते भित्र विद्यावारिधि, स्नातकोत्तर, स्नातक तह उत्तीर्ण भएका विद्यार्थी रहेका छन् ।

दीक्षित हुनेमा स्कुल अफ आर्टस्, एजुकेसन, इञ्जीनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विधाका विद्यावारधी गर्ने नौ जना, एमफिल ४१, स्नातकोत्तर तहका ९८ र स्नातक तहका एक हजार ९२ सहित एक हजार दुई सय ४० जना रहेका छन् ।

जसमध्ये मेडिकल साइन्सेजका ५६५, इञ्जीनियरिङका ३६५, साइन्सका १६७, एजुकेसनका ५७, म्यानेजमेन्टका ५०, आर्टसका ३५, ल का एक जना दीक्षित भएका छन् ।

विश्वविद्यालय स्थापना गर्न होडबाजीः कुलपति प्रम दाहाल

विश्वविद्यालयका कुलपति तथा प्रधान मन्त्री पुष्पकमल दाहालले प्रदेश तथा संघीय स्तरमा विश्वविद्यालय स्थापनामा होड चलेको बताएका छन् । केयुको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयको गुणस्तर भन्दा विश्वविद्यालय स्थापनामा होड चलेको बताए । आवश्यक पूर्व तयारी नगरी विश्वविद्यालय स्थापना गर्दा उच्च शिक्षामा नयाँ नयाँ समस्या थपिएको भन्दै विश्वविद्यालयको गुणस्तर र विश्वसनीयतामा गम्भीर प्रश्न उठेको बताए । 

उस्तै र एउटै प्रकृतिको विश्वविद्यालय सञ्चालन गर्नुभन्दा विश्वविद्यालयले सञ्चालन गरेका दुरदराजका क्याम्पसको गुणस्तर सुधारमा जोड दिनु पर्ने उनको धारणा थियो । विश्वविद्यालयको शैक्षिक क्यालेण्डर नहुँदा परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन लथालिंग भएको बताए । सरकारले विश्वविद्यालय सम्बन्धी क्यालेण्डर तयार गरी त्यसको कार्यान्वयन कडाइका साथ लागु गर्ने बताए ।

कुलपति दाहालले केयुले ३२ वर्षको इतिहासमा विश्वविद्यालयले दक्षिण एसियाको अब्बल विश्वविद्यालय बन्न सफल भएको भन्दै हालसम्मका नेतृत्वलाई कृतज्ञता ज्ञापन गरेका थिए ।

गुणस्तरीय शिक्षाका लागि अग्रणी भएको भन्दै विश्वविद्यालयको प्रशंसा समेत गरेका थिए । अब्बल स्नातकलाई प्रारम्भिक रोजोगारी दिने कार्य गरेको हुँदा रोजगार सहितको शिक्षाका लागि सरकारले सहयोग गर्ने प्रतिवद्धता प्रदान गरे । उनले विश्वविद्यालयहरूले शिक्षण सिकाइमा परिवर्तन गर्नुपर्ने बताए । अध्ययन अनुसन्धानबाट वनपर्वतन ल्याउनु पर्नेमा जोड दिए ।

 ‘‘हाल सञ्चालनमा रहेका सबै विश्वविद्यालय र उच्च शैक्षिक संस्थाले पठनपाठन तथा अनुसन्धानको शैली परिवर्तन गर्न आवश्यक छ । खासगरी विश्वविद्यालयमा स्नातकोत्तर तहका पाठ्यक्रममा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने हुन्छ । स्नातक तहमा बढी अभ्यासमुखी र सिकाइमा जोड दिनुपर्छ ।’ उनले भने, ‘अनुसन्धानले समाजमा प्रभाव र परिवर्तन ल्याउन नसक्दा साधन स्रोतको सही सदुपयोग हुन सक्दैन ।’  विश्वविद्यालय तहको अध्ययन र अनुसन्धानलाई सवल बनाउन सरकारका अनुसन्धानसम्बन्धी कार्य विश्वविद्यालयबाट गराउने निर्णय गरिसकेको हुनाले प्राध्यापकमा राज्यका लागि योगदान गर्ने प्रत्यक्ष अवसर मिल्ने उनको भनाइ थियो । ‘काठमाडौँ विश्वविद्यालयले आफ्नो स्थापनाको ३२ वर्षमा विभिन्न सङ्कायमा ४१ हजारभन्दा बढी उच्च सीप, दक्षता र मानवीय गुणसम्पन्न जनशक्ति उत्पादन गरी मुलुकको विकासमा योगदान दिएको छ ।’  उनले थपे, ‘काठमाडौँ विश्वविद्यालयले गुणस्तरीय शिक्षाका लागि मुलुकको अग्रणी र दक्षिण एसियाकै एक प्रतिष्ठित विश्वविद्यालयका रूपमा आफूलाई स्थापित  भएको छ ।’ गुणस्तरीय, प्राविधिक  र अत्याधुनिक उच्चशिक्षा युगको विश्वव्यापी आवश्यकता भएको बताए । बर्सेनि हजारौँ विद्यार्थी नेपालबाट विदेशिनुको कारण सिर्जनशील मस्तिष्क, युवा ऊर्जा र अर्बौँ रुपैयाँ मुलुकबाट बाहिरिइरहेको सन्दर्भमा मुलुकभित्रै उच्चशिक्षाको गुणस्तर एवम शिक्षापछिको सम्मानयुक्त जीवनयापन गर्न सम्भव रोजगारी सिर्जना सबैका लागि टड्कारो आवश्यकता र चुनौती भएको प्रधानमन्त्री दाहालले जिकिर गरे । 

काठमाडौँ विश्वविद्यालयले अन्तर्राष्ट्रिय गुणस्तरकै शिक्षा प्रदान गरी विदेश पलायन हुने युवा र विदेशी मुद्रालाई केही हदसम्म भए पनि रोक्न प्रशंसनीय योगदान गरेको उनले स्पष्ट पारे । “यस विश्वविद्यालयले आफ्ना क्षमतावान अब्बल स्नातक तह उत्तिर्णलाई प्रारम्भिक रोजगारीसमेत दिने जुन प्रस्तावना गरेको छ यसलाई नेपाल सरकारले अत्यन्त सकारात्मक कदमका रूपमा लिएको छ । यसको विस्तार र दीगोपनका लागि यथासम्भव सघाउने छ”, प्रधानमन्त्री दाहालले भने । 

नेपाललाई इञ्जीनीयरिङ, चिकित्साशास्त्र, सूचना एवम् डिजिटल प्रविधि, वातावरण विज्ञान आदि विषयमा उच्च शिक्षाको ‘हब” बनाउने सम्भावनातर्फ सरकारको विशेष ध्यान गएको प्रधानमन्त्री दाहालले जानकारी दिए ।हाल मस्यौदा भइरहेको सरकारको वाणिज्य नीतिले पनि शिक्षा सेवालाई निर्यातयोग्य सम्भावनाको क्षेत्रका रूपमा पहिचान गरेको उहाँले जानकारी दिनुभयो ।  सम्भावनालाई वास्तविकतामा बदल्नका लागि सरकार आवश्यक कानुनी, प्रक्रियागत र संरचनागत व्यवस्था गर्न तत्पर रहेको तथा त्यसमा  विज्ञको सुझाव महत्वपूर्ण हुने प्रधानमन्त्री दाहालको कथन छ । काठमाडौँ विश्वविद्यालयबाट उत्पादित शैक्षिक जनशक्तिमध्ये १३ प्रतिशतभन्दा बढी दीक्षित ५५ भन्दा बढी मुलुकका विदेशी नागरिक भएको जानकारी पाउँदा  नेपाललाई दक्षिण एसिया क्षेत्रकै आकर्षक शैक्षिक ‘हब’ बनाउने सम्भावना केवल कल्पना मात्र नभएर वास्तविकतामा रूपान्तरण गर्न सकिने वस्तुगत यथार्थ भएको उनले बताए । सो विश्वविद्यालयले अनुसन्धान गरिरहेको भविष्यको इन्धनका रूपमा पहिचान गरिएको ग्रीन हाइड्रोजनको उत्पादन, आर्टिफिसिअल इन्टेलिजेन्स, आधुनिक प्रविधिमा आधारित कृषि  विज्ञान, हिमालय क्षेत्रको पर्यावरणको अध्ययनमा समर्पित ग्लेसियोलोजी, चिकित्सा र प्रविधिलाई समायोजन गर्ने हेल्थ–इन्फम्र्याटिक्सलगायत विषयको अध्ययन–अध्यापन, खोज–अनुसन्धान एवम् प्रकाशन–प्रचारले मुलुकको आर्थिक विकास र सामाजिक पुँजी निर्माणमा जोड दिने प्रधानमन्त्री दाहालको भनाइ छ । 

सबै स्कुल क्युएए लिन प्रक्रियामा जानेः उपकुलपति प्राडा. थापा

विश्वविद्यालयका सम्पूर्ण स्कुल विश्वविद्यालय अनुदान आयोगबाट प्रदान गरिने विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षामा ‘गुणस्तर सुनिश्चितता एवं प्रत्यायन’  कार्यक्रम (क्यूएए) लिन प्रक्रियामा रहेको समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले बताए ।

उनले केही स्वदेशी र धेरै विदेशी विश्वविद्यालयसंगै सहकार्य गर्ने तयारी गरिरहेको उनले जानकारी दिए । भारतको मद्रासस्थित इन्डियन इन्स्टीच्युट अफ टेक्नोलोजीसंग सहकार्य गरी जोेइन्ट मास्र्टस डिग्री इन इनर्जी सिस्टम, आइआइटीसंग सहकार्य गरी जोइन्ट पीएडी छिट्टै सुरु हुने जानकारी दिए । उनले अस्ट्रेलिया, नर्वेका विश्वविद्यालयसंग सहकार्यको अनुभव भएको बताए ।मधेश र गण्डकी विश्वविद्यालयसंगजोइन्ट डिग्री सुरु गर्ने तरखरमा रहेको जानकारी दिए । उनले समारोहलाई सम्बोधन गर्दै सुदुर पश्चिम र मनमोहन विश्वविद्यालय उच्च शिक्षामा नेतृत्व तहका लागि प्राध्यापक पठाएर सहयोग गरेको बताए ।

आज दीक्षित भएका दक्ष जनशक्तिले मुलुकको भविष्य निर्माणमा उल्लेख्य योगदान गर्ने विश्वास व्यक्त गरे ।