केयुको दोस्रो चरणको २७औँ दीक्षान्त समारोह सम्पन्न

विभिन्न कार्यक्रमबाट एक हजार ७१५ जना विद्यार्थीलाई प्रमाणपत्र वितरण  गर्दै काठमाडौँ विश्वविद्यालय (केयु) को दोस्रो चरणको २७औँ दीक्षान्त समारोह आज काभ्रेपलाञ्चोकको धुलिखेलमा  सम्पन्न गरिएको छ । दीक्षित हुने विदेशी विद्यार्थीमध्ये भारत, श्रीलङ्का, माल्दिभ्स, अमेरिका, अष्ट्रेलिया, चीन, बङ्गलादेश, नेदरल्याण्ड र जर्मनी गरी नौ देशका १५७ जना छन् ।

विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले विश्वविद्यालयबाट ३८ हजार ३३६ जना उत्तीर्ण भएका जानकारी दिनुभयो ।

शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायनलाई रोक्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री एवं काठमाडौँ विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले बढ्दो शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायनलाई न्यूनीकरण गर्दै युवा जनशक्तिलाई उनीहरुको रुचि र विश्व बजारको मागअनुसारको गुणस्तरीय शिक्षा उपलब्ध गराउने वातावरण निर्माण गर्न विश्वविद्यालयलाई आग्रह गरेका छन् ।

समारोहलाई सम्बोधन गर्दै उनले बढ्दो शैक्षिक बेरोजगारी हटाइ बौद्धिक प्रतिभा पलायनलाई नरोक्दासम्म मुलुकमा उज्यालो भविश्य सुनिश्चित गर्न नसकिने बताए ।

प्रधानमन्त्री देउवाले शिक्षित युवा जनशक्ति मुलुकको विकास र परिवर्तनका संवाहक भएकाले दीक्षित युवा जनशक्तिलाई त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

यसका लागि विश्वविद्यालयलाई आवश्यकपर्ने सहयोग र सहजीकरणका लागि सरकार तयार रहेको पनि उनले बताए ।

प्रधानमन्त्री देउवाले काठमाडौँ विश्वविद्यालयले शैक्षिक क्षेत्रमा मुलुकको शिक्षा क्षेत्रको प्रतिष्ठा प्रवद्र्धन गरी विश्वमा पुर्याउन सहयोग पुगेको बताए ।

उनले विश्वव्यापीरुपमा फैलिएको कोभिड– १९ को महामारीका बीचमा पनि आफ्ना शैक्षिक क्यालेण्डरअनुसार कार्यक्रमलाई निरन्तरता दिएको र बौद्धिक जनशक्तिको पलायनलाई रोक्न सीपयुक्त जनशक्ति उत्पादनमा लागेको भन्दै विश्वविद्यालयको भूमिका प्रशंसनीय रहेको धारणा व्यक्त गरेका थिए ।

प्रधानमन्त्री देउवाले आगामी दिनमा मुलुकभित्र रहेको खनिज पदार्थ परिचालन, प्रशोधन तथा जलविद्युत् व्यवस्थापन र जलवायु न्यूनीकरण, जैविक वनस्पतीय जडीबुटीको खोज र अनुसन्धान क्षेत्रमा गुणस्तरीय जनशक्ति उत्पादन गरी मुलुकको आर्थिक सामाजिक विकासमा थप टेवा पुर्याउन पनि विश्वविद्यालयलाई आग्रह गरे ।

साथै उनले अन्तर्राष्ट्रियस्तरमा पहुँच पुर्याउने काममा थप अग्रसर हुन पनि विश्वविद्यालयलाई आग्रह गरे ।

फोटोः रासस