Bachelors Portal

थारु युवाको रोजाइमा डकर्मी पेशा

कञ्चनपुर, २७ माघ (रासस) : घर निर्माण गर्ने सीप सिकेर दक्ष बनेका यहाँका थारु युवाको रोजाइमा डकर्मी पेशा परेको छ । 

मनग्य आम्दानी हुने भएपछि थारु युवाको रोजाईमा सो पेशा परेको हो । घर निर्माण लगायतका कार्य थारु युवाले गर्न थालेपछि भारतीय डकर्मी समेत विस्थापनमा परेका छन् । डकर्मी पेशाका लागि सीप भए पुग्ने भएकाले अधिकांश थारु युवाले उक्त पेशा अपनाएका छन् । 
डकर्मी सीप सिकेका युवाले मासिक रुपमा रु २० हजारदेखि रु ३० हजारसम्म आम्दानी गर्दै आएका छन् । घर, शौचालय, विद्यालय र स्वास्थ्य चौकी भवन निर्माणमा सीप भएका युवाले रोजगारी पाउने गरेका छन् । 

डकर्मी पेशामा संलग्न खुशिराम चौधरीले चाहेको जस्तो आम्दानी हुने भएकाले उक्त पेशा रोजेको बताउनुभयो । 

आठ बर्षदेखि डकर्मीको कार्य गर्दै आएका उहाँले घर बनाउनका लागि ठेक्का लिएर मासिक रुपमा रु ३० हजार बढी कमाई गर्दै आउनुभएको छ । झुपडीमा बस्दै आएका चौधरीले डकर्मी पेशाको कमाइले हाल घर घरेडी जोड्नुभएको छ । “साँझ विहानको छाक टार्नका लागि विगतमा मुस्किलले पुग्दथ्यो, हाल घर खर्च सबै राखेर बैंकमा बचत गर्दैछौं”, उहाँले भन्नुभयो । 

घरमै बेरोजगार रहेका युवा डकर्मी सम्बन्धी सीप सिक्नका लागि पहिला मजदुर बनेर कार्य गर्ने र विस्तारै निपूर्ण बन्ने गरेका छन् । परिवारसँगै बसेर कार्य गरी चाहिने पैसाको जोहो डकर्मी पेशाले धानिँदै आएकाले सन्तुष्ट रहेको विरबहादुर चौधरीले बताउनुभयो । 

अन्य समुदायका युवा बढी कमाउने लोभमा बैदेशिक रोजगारीमा जाने गरेका भए पनि थारु समुदायका अधिकांशले डकर्मी पेशालाई अपनाएको थारु अगुवा दानसिं दहितले जानकारी दिनुभयो । “स्वदेशमै काम गरेर विदेश गएका भन्दा बढी कमाई हुने भएकाले थारु युवाहरु मध्ये केही मात्रै विदेश गएका छन्”, उहाँले भन्नुभयो । 


स्वदेशमै मिहिनेत र लगन साथ कार्य गरे विदेश जानु नपर्ने अर्का डकर्मी पेशामा संलग्न हरिकृष्ण चौधरीले बताउनुभयो । दैनिक रु एक हजारमा ज्यालादारीमा काम गर्दै उहाँले सो पेशाको कमाइले पानी तान्ने विद्युतीय मोटर, पक्कि घर, शौचालय र मोटरसाइकल जोड्नुभएको छ । 
मेहनत बढी लाग्ने भए पनि कमाइ मेहनत अनुसारकै हुने भएकाले पेशालाई निरन्तरता दिँदै आएको उहाँको भनाइ छ । 

डकर्मी युवासँगै ज्यामीका रुपमा काम गर्दै आएका थारु युवाती पनि घर निर्माण गर्ने सीप सिकेर दक्ष डकर्मी बनेका छन् । घर निर्माणको कार्यमा संलग्न संगीता चौधरीले डकर्मीको कार्य गरेर मासिक रु २५ हजार बढी आम्दानी हुने गरेको बताउनुभयो । सो समुदायका जिल्लामा झण्डै चार हजार थारु युवा युवती डकर्मी पेशामा संलग्न छन् । 

–राजेन्द्रप्रसाद पनेरु 

Thuprai - Books and E-books