A Levels MA

थाइले बनाइदिएको भवन खोटाङको विद्यालयलाई हस्तान्तरण

खोटाङ, ३० जेठ (रासस) : थाइल्याण्डका एक नागरिकले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित सावित्रा माविमा पक्की भवन निर्माण गरिदिनुभएको छ । 

थाइ नागरिक मास्टर वान्चाइ रौइ एरीको रु ४० लाख लगानीमा चारकोठे दुईतले पक्की भवन निर्माण गरिएको हो ।

एरीको लगानीमा निर्माण गरिएको विद्यालय भवन बुधबार नेपालका लागि थाइल्याण्डका राजदूत भाकवत टान्स्कुलले औपचारिकरूपमा उद्घाटन गर्नुभएको छ । नवनिर्मित भवनका लागि आवश्यक फलामे डेस्क, बेञ्चलगायतका आवश्यक सामग्री खरीद गर्न एरीले थप रु पाँच लाख प्रदान गर्नुभएको निर्माण उपभोक्ता समितिका अध्यक्ष एवं वडासदस्य राजेन्द्र राईले जानकारी दिनुभयो ।

विद्यालय भवन गत असोज १ गते लुम्बिनी थाइ बिहारका प्रमुख फ्रा श्री बोधी विदेशले शिलान्यास गर्नुभएको थियो । भवनको अभाव झेल्दै आएको सावित्रा माविका लागि पूर्वविद्यार्थी एवं लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईको पहलमा फ्रा श्री बोधी विदेशमार्फत एरीबाट आर्थिक सहयोग जुटाइएको हो।

एरीको आर्थिक सहयोगमा निर्माण गरिएको विद्यालय भवनको साँचो बुधबार नै राजदूत टान्स्कुलले विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभयो । 

भवन अभाव झेलिरहेका विद्यालयलाई थाइल्याण्डका दाताको सहयोगले राहत मिलेको अभिभावक एवं वडा नं ३ बाम्राङका वडाध्यक्ष ललितकुमार राईले बताउनुभयो ।

विद्यालय भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा सहभागी हुनुभएका राजदूत टान्स्कुल, दाता एरीलगायत अतिथिलाई विद्यालय परिवारले पञ्चेबाजासहित स्वागत गरेको थियो । विभिन्न जातजातिको सांस्कृतिक झाँकी तथा साङ्गीतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको उद्घाटन कार्यक्रममा राजदूत टान्स्कुलले विद्यालयले गरेको स्वागतले आफू ऋणी भएको बताउनुभयो ।

Thuprai - Books and E-books