गरीबी उन्मूलन गर्ने प्राविधिक शिक्षा आवश्यक

प्रदेश नं ३ को प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अहिले प्रदेशमा गरीबी निवारण गर्न प्राविधिक शिक्षा र त्यसलाई कार्यान्वयन गर्न सम्बन्धित निकायको इमान्दारिताको खाँचो रहेको बताउनुभयो ।

उहाँले प्रदेश ३ को नीति योजना आयोगद्वारा आज आयोजित ‘दिगो विकासका लक्ष्यको आधार’ तथ्याङ्कसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा छिमेकी देशबाट ऊर्जा आयात गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न स्वदेशमै ऊर्जा शक्ति उत्पादनका लागि दक्ष जनशक्तिको आधारशिला तयार पारी उत्पादन गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । नीति योजना आयोगले नीतिगत कार्यक्रमलाई तर्जुमा मात्र होइन भौगोलिक, जनसङ्ख्याका आधारमा दिगो विकासको पूर्वाधारलाई जोड्न सकिने योजनालाई मात्र कार्यान्वयन गर्नेतर्फ ध्यान केन्द्रित हुनुपर्नेमा सभामुख श्रेष्ठले जोड दिनुभयो ।

आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रदेशमा स्वदेशी उत्पादनलाई टेवा पुग्ने योजनालाई नै नीति योजना आयोगले उच्च प्राथमिकता दिनुपर्ने बताउनुभयो । वर्तमान शिक्षा प्रणालीको समीक्षा गर्दै प्राविधिक शिक्षालाई उत्पादनमूलक र व्यवसायमूलक बनाउनेतर्फ लाग्नुपर्ने बताउनुभयो । सो अवसरमा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दावादोर्जे लामाले प्रदेशमा गरीबी निवारण गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउन कृषि उत्पादन, पर्यटन विस्तार र उद्योग स्थापनाको नीतिगत कार्यक्रमलाई व्यावहारिक र जनमुखी बनाइनुपर्ने बताउनुभयो ।

कार्यक्रममा योजनाविद् डा पिताम्बर शर्माले प्रदेशमा दिगो विकासको लक्ष्य पूरा गर्दा गरीबी निवारण, पर्यटन र वातावरण प्रदूषण नियन्त्रण गर्ने तथा भौतिक पूर्वाधारको विकासलाई वास्तविक जनतासँग सहकार्य हुनसक्ने योजनालाई नीति योजना आयोगले समयानुकूल योजना बनाई बजेट कार्यान्वयन गर्ने पक्षलाई जोड दिनुपर्ने बताउनुभयो ।

सो अवसरमा प्रदेश नं ३ का नीति योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटा र सदस्य श्यामकुमार बस्नेतले नीति योजना आयोगले प्रदेशको १३ जिल्लामा ऊर्जाको व्यावसायिक उत्पादन, पर्यटनको प्रर्वद्धन गरीबी निवारण गर्ने आयमूलक कार्यक्रम र भौतिक पूर्वाधार विकासलाई कार्यान्वयन गर्ने पक्षमा दिगो विकासका लागि समीक्षाको माध्यमबाट दरिलो पार्न सकिने बताउनुभयो ।

Degrees offered in nepal
Counseling
Bachelors Portal