After SEE Portal

गण्डकी विश्वविद्यालयमा खेल व्यवस्थापन विषयको पठनपाठन

Bridge Course

कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकका ४६ वर्षीय लेखनाथ लम्सालको दैनिकी आज भोलि बद्लिएको छ । लम्साललाई पुसमाघको सिरेटो अनि वर्षाको झरीको कुनै प्रवाह छैन । बस्तुभाउलाई कुँडोपानी र घाँसको बन्दोबस्त गरी एकाबिहानै पोखरा झर्नु उनको दैनिकी हो । उमेर छिप्पिदै गए पनि अध्ययनका लागि घाचोक–पोखरा यात्रा एक घण्टा लगाएर छिचोल्छन् ।

गण्डकी विश्वविद्यालयले गत वर्षदेखि सुरु गरेको व्याचलर इन स्पोर्टस् म्यानेज्मेन्ट (खेल व्यवस्थापन, बिएसएम) को पहिलो सेमेस्टरमा अध्ययनरत छन्  लम्साल । सानैदेखि भलिबलप्रति रुचि राख्ने उनी खेलकुद व्यवस्थापनको पढाइ पूरा गर्न लागि परेका छन् । खेल क्षेत्रमै केही गर्नुपर्छ भन्ने लक्ष्य बोकेर हिँडेका लम्साल विश्वविद्यालयले सो कक्षा सुरु गरेको खबरले उत्साहित छन् ।

अग्रज, अनुज र खेल क्षेत्रकै दिग्गजको सल्लाहमा उनले बिएसएममा भर्ना गरेका हुन् । उनी अहिले दोस्रो सेमष्टरमा अध्यनरत छन् ।

पढेर दक्ष खेलाडी उत्पादन गर्ने र आफैँले तालिम केन्द्र खोल्ने योजना उनले सुनाए । खेलकुदमा विकृति बढ्दै गएकाले त्यस्तो विकृति रोक्न शिक्षा आवश्यक रहेको उनको भनाइ छ । “खेल खेलेरमात्र हुँदैन, यसलाई पढ्नु पनि पर्छ”, उनले भने, “ व्यवस्थापन तहको व्यक्तित्व विकास गर्नुपर्ने रहेछ । यसका लागि के–के आवश्यक पर्ने रहेछ भन्ने कुरा जान्न मैले कक्षा लिइरहेको छु ।” एक खेलाडी र कुशल प्रशिक्षकका लागि संस्कृति र उत्पे्ररणा पनि आवश्यक रहेको उनले बताए ।

नेपालमै पहिलोपटक सुरु खेल व्यवस्थापनमा उहाँ जस्तै २१ जना अध्ययनरत छन् ।

पहिलो सेमेष्टरमा १२ र दोस्रो सेमेष्टरमा नौ विद्यार्थी छन् । त्यहाँ पढ्नेको उमेर १८ देखि ४६ वर्षसम्मको छ भने उनीहरु छुट्टाछुट्टै खेलसँग सम्बन्धित छन् ।

नेपालको महिला भलिबलकी कप्तान अरुणा शाहीसँगै अन्य खेलका खेलाडी र खेल क्षेत्रमा भविष्य सोच्नेले बिएसएम पढिरहेका छन् ।

अध्ययनपछि काम गर्ने क्षेत्र धेरै भएका कारण पनि प्रदेशले यसतर्फ चासो देखाएको हो । नेपालमा यो पढाइ सकेपछि धेरै सम्भावना रहेकाले गण्डकी विश्वविद्यालयले पढाइ सुरु गरेको बिएसएमका संयोजक डा मधुसुदन सुवेदीले बताए ।

डा सुवेदी पनि भारतबाट खेलकुद विषयमा विद्यावारिधि गरेर बिएसएमको संयोजकको जिम्मा लिका हुन् ।

“नेपालमा कम्तीमा पाँच हजार व्यावसायिक व्यवस्थापक चाहिएको छ”, डा सुवेदी भन्छन्,  “त्यसैले क्षेत्र धेरै छ । सबैलाई पढ्न सुझाव दिन्छु ।”

बिएसएममा जुनसुकै सङ्कायमा १२ पास गरेको भर्ना हुन सक्छन् ।

चारवर्षे सेमेस्टर प्रणालीअनुसार आठ सेमेस्टरमा पढाइ हुने उहाँले बताउनुभयो । प्रदेश सरकारको विशेष सहयोगमा कम खर्चमा उक्त पढाइ सञ्चालन भइरहेको उनको भनाइ छ । चार वर्षे पढाइ सक्दा रु तीन लाख ८० हजार लाग्ने उनले जानकारी दिए । “ आठ सेमेष्टर सक्दा रु तीन लाख ८० हजार खर्च आउँछ”, उनले भने,  “यो रकम भनेको एकदमै कम हो, विदेशमा म आफैँ पढ्न जाने भनेर बुझ्दा तीन वर्षे कोर्सका लागि निर्क खर्च लाग्ने थाहा पाएको छु ।”

एक सेमेष्टरमा ४० जनाको कोटा भए पनि अहिले सोचेजस्तो विद्यार्थी भर्ना नभएको संयोजक डा सुवेदीले जानकारी दिए। “यो नेपालकै पहिलो कोर्ष भयो अनि हामीले सुरुका वर्षमा सबै ठाउँमा पुग्न सकेनौँ यसले गर्दा पनि थोरै भर्ना भएका हुन्”, उनले भने ।

अहिले तेस्रो सेमेष्टरको भर्ना प्रक्रिया सुरु भएको छ । तेस्रो समेष्टरका लागि धेरै जनाबाट फोन, म्यासेज, इमेल आएको उनले बताए ।  अबको सेमेष्टरमा ४० वटै कोटा पुग्ने गरी भर्ना हुने उनको अनुमान छ ।

नेपालमै पहिलोपटक गण्डकी विश्वविद्यालयले सञ्चालन गरेको यो कोर्ष भने भाडाको भवनबाट सञ्चालन भईरहेको छ । पोखरा १८ हिमाली टोलमा रहेको फिस्टेल एकेडेमीको पुरानो भवन भाडामा लिएर कक्षा सञ्चालन गरिरहेको पोखरा विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले जानकारी दिए ।

त्यस्तै, पोखरा विश्वविद्यालयअन्तर्गत पढाइ हुने सबै विषयलाई स्तरीय बनाउन भवन निर्माणको काम चलिरहेको प्राडा गुरुङले बताए। नेपाल सरकारबाट जग्गा प्राप्तिपछि पोखरा ३२ ज्ञानकुञ्जमा विश्वविद्यालयको भवन शिलान्यास गरेर काम अघि बढेको छ ।

विश्वविद्यालयअन्तर्गत अहिले ब्याचलर इन स्पोर्टस् म्यानेज्मेन्ट, फार्मेसी, आइटी, बिबिए र बिएएलएलबिको कक्षा सञ्चालन गरिएको छ ।

विश्वविद्यालयले आगामी दिनमा मेकानिकल इन्जिनियरिङ, माउण्टेनिङ एग्रीकल्चर र खानी इन्जिनियरिङको विषयमा पढाइ सुरु गर्न छलफल चलिरहेको कुलपति प्राडा गुरुङले जानकारी दिए ।

 

A Levels MA
Thuprai - Books and E-books