शिक्षण पेसा सफल बनाउन कार्यमूलक अनुसन्धान

कार्यमूलक अनुसन्धान प्रतिवेदन

अनुसन्धानको शीर्षक: नियमित गृहकार्य गर्ने विद्यार्थीहरूको सङ्ख्या कसरी बढाउन सकिएला ?

अनुसन्धानको पृष्ठभूमि:

विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः सबै विद्यालयमा देखिन्छ । शिक्षकहरु जतिबेला पनि विद्यार्थीलाई दिएको काम कहिल्यै गर्दैनन्, घरमा कापी, किताब पल्टाउँदैनन् भनेर दोषमात्र लगाइरहेका हुन्छन् तर विद्यार्थीलाई क्रियाकलाप प्रति कति सक्षम बनाउन सकिएको छ भन्ने कुरातर्फ न ध्यान दिइएको पाइन्छ नत कार्यमूलक अनुसन्धान नै गरिएको पाइन्छ । शिक्षणमा आधुनिक प्रविधिको प्रयोग गरिएको पाइँदैन, नत विद्यार्थीहरूको रुची, चाहनाबमोजिमका क्रियाकलापलाई समेटिएको पाइन्छ । प्रयोगात्मक शिक्षणलाई बेवास्ता गरी परम्परागत शिक्षण सिकाइलाई नै निरन्तरता दिँदै आइरहेको पाइन्छ । मैले हाम्रो विद्यालयका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् भनेर थाहा पाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाए । यसै कुरालाई अध्ययनको विषय बनाएर । अधिकाँश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् भन्ने कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरे ।

समस्याको पहिचान

मैले पढाउने विद्यालयको कक्षा १० को सेक्सन ‘ए’मा जम्मा ८० जना विद्यार्थी अध्ययनरत छन् । उक्त कक्षामा म पहिलो घण्टीमा विज्ञान विषय पढाउँछु । मैले राम्ररी याद गरिरहेको छु कि गत वर्ष पनि तिनै विद्यार्थीहरु कक्षा ९ मा हुँदा उनीहरुमा सबैले गृहकार्य नगर्ने समस्या भोगीरहेको थिए । त्यसकारण उनीहरुले गृहकार्य किन नियमित रुपमा गर्दैनन् र उनीहरुलाई कसरी नियमित गृहकार्य गर्ने बनाउन सकिन्छ भनी मैले कार्यमूलक अनुसन्धानको प्रक्रिया सुरु गरेको छु ।

पहिलो चरण

योजनाः

कक्षामा कति जनासम्म विद्यार्थीले गृहकार्य बुझाउँछन् त्यसको जानकारी लिने ।

क्रियाकलापः

पहिलो दिन विद्यार्थीलाई नियमित कक्षा सकिएपछि मैले पढाउँदै गरेको कक्षा १० विज्ञान विषयको एकाइ १६ मा रहेको ‘मानव शरीरमा रक्त सञ्चार क्रिया’ पाठअन्तर्गतका देहायबमोजिम दुईवटा प्रश्न सेतोपाटीमा लेखेर भोलिपल्ट त्यसको उत्तर अनिवार्य लेखेर ल्याउन विद्यार्थीलाई निर्देश गरे । सबै विद्यार्थीहरुले प्रश्न कापीमा सारे र उक्त दिनको कक्षा सकियो ।

प्रश्नहरूः    रगतका मुख्य कार्यहरू लेख्नुहोस् ।    रगत कुन कुन पदार्थ मिली बनेको हुन्छ ? सचित्र व्याख्या गर्नुहोस् ।

अवलोकनः

भोलिपल्ट कक्षामा पुगेपछि सबैको गृहकार्य अगाडि राख्न आग्रह गरे । सबैले कापी अगाडि राखे तर ८० जना विद्यार्थीमध्ये उपस्थित ७१ जनामा ४५ जनाले पूरै दुईवटै प्रश्नको उत्तर लेखेका थिए । १६ जनाले एउटामात्र प्रश्नको उत्तर लेखेका र बाँकीले एउटा प्रश्नको पनि हल गरेको पाइएन ।

प्रतिबिम्वन:

पढाइमा जाँगर लगाउने राम्रो पढाइ भएका विद्यार्थीहरुले गृहकार्य गरे पनि पढाइमा पछाडि भएका अन्य विद्यार्थीले गृहकार्यलाई कुनै महत्व दिएको पाइएन । त्यसकारण उक्त समस्या केही मात्रामा भए पनि समाधान गर्नको लागि उनीहरूलाई सकारात्मक पृष्ठपोषण प्रदान गर्ने, शिक्षण शैली र गृहकार्य दिने शैलीमा परिवर्तन गर्ने तथा केही रचनात्मक तथा प्रयोगात्मक क्रियाकलापमार्फत दोश्रो चरणको योजना बनाएर अघि बढ्ने निधो गरे । उक्त कार्यको लागि दुई दिनको समयसीमा पनि निर्धारण गरे ।

दोश्रो चरण

योजनाः

  • विषयगत मूल्याङ्कन प्रक्रियाको बारेमा विद्यार्थीलाई प्रष्ट गराइ गृहकार्यका आधारमा पनि उनीहरुको उपलब्धि मूल्याङ्कन हुने बारेमा जानकारी गराएर गृहकार्यप्रतिको विद्यार्थीको आकर्षण बढ्छ वा बढ्दैन पत्ता लगाउने ।
  • प्रयोगात्मक विधिबाट रगतको बनावट अध्ययन गर्न लगाउने ।
  • विद्यार्थीहरूलाई रचनात्मक किसिमको गृहकार्य दिएर उनीहरूलाई कार्यमा अग्रसर बनाउने ।
  • प्रविधिको प्रयोगबाट गृहकार्य गर्न उत्साहित गर्ने ।

क्रियाकलापः

  • पहिलो दिन कक्षामा प्रवेश गरेपछि माध्यमिक विज्ञान विषयको मूल्याङ्कन पद्धतिका बारेमा जानकारी गराए । ७५ प्रतिशत सैद्धान्तिक र २५ प्रतिशत प्रयोगात्मक परीक्षा हुने जानकारी दिएर प्रयोगात्मकमा हरेक विद्यार्थीले बुझाएको गृहकार्यको रेकर्डका आधारमा पनि मूल्याङ्कन हुने कुरा जानकारी गराए ।
  • रगतको थोपा राखिएको स्लाइड सुक्ष्म दर्शक यन्त्रमा राखेर देखाउँदै राता रक्तकोश, सेता रक्तकोश र प्लेटलेट्स छुट्याउन लगाई चित्र कोर्न लगाए ।
  • दोश्रो दिन चार्ट पेपरमा रगतको बनावटको चित्र कोर्न लगाई राता रक्तकोश, सेता रक्तकोश र प्लेटलेट्सलाई अलग अलग रङ्का धागोले प्रतिनिधित्व गर्ने गरी टाँस्न लगाए ।
  • रगतको कार्यहरू समेटिएको युट्युब भिडियो अवलोकन गर्न लगाई रगतको कार्य उनीहरू आफैलाई कापीमा टिप्न लगाए ।कक्षा क्रियाकलाप सकिएपछि पुनः उक्त गृहकार्य पूरा गरेर ल्याउन निर्देशन दिए ।

अवलोकनः

भोलिपल्ट कक्षामा प्रवेश गरिसकेपछि अघिल्लो दिनझैँ गृहकार्य देखाउन कापी अगाडि राख्न आग्रह गरे  । कतिपयले चार्ट पेपरमा पहिले दिन कक्षामा गरिएको क्रियाकलाप जस्तै रचनात्मक तरिकाले गृहकार्य गरेका थिए, कतिपयले कापीमा गरेका थिए । ८० जनामा ७२ जना (९० प्रतिशत) विद्यार्थीहरुले दिइएको गृहकार्य पूरा गरेको पाइयो । शुरुमा जम्मा ४५ जना (५६ प्रतिशत)ले मात्र गृहकार्य गरेकामा कसरी धेरैलाई गृहकार्य गर्ने उत्साह बढ्यो भनी जान्न खोज्दा प्रयोगात्मकमा छुट्याइएको अङ्कको केही प्रतिशत अङ्क कक्षाकार्य र गृहकार्यका आधारमा मूल्याङ्कन हुनेहुँदा अङ्कमा घाटा नलागोस् भनेर गृहकार्य गरेको, प्रयोगात्मक क्रियाकलापको आधारमा सिकाइ हुँदा राम्रोसँग बुझिएकोले गृहकार्य गर्न सजिलो भएको, रगतमा भएका विभिन्न पदार्थहरूलाई अलग अलग रङ्ले जनाई चार्ट पेपरमा टाँस्दा रमाइलो तरिकाले सिकाइ भएको साथै तिनीहरूको नामसमेत कण्ठ भएको अनि गृहकार्य गर्न पनि सजिलो भएको, त्यस्तै युट्युब भिडियो हेर्दा अवलोकनबाट सिकाइ भएको जस्ता अनुभवहरू साटासाट गरे ।

प्रतिबिम्वन:

गृहकार्य नगर्नुमा विद्यार्थीको मात्र दोष हुँदैन । शिक्षकले विद्यार्थीमा कुनै उत्प्रेरणा दिन नसक्नु, परम्परागत सिकाइलाई मात्र प्रश्रय दिनु, रचनात्मक क्रियाकलाप नगर्नु, नगराउनु, आधुनिक प्रविधिको प्रयोग नगर्नु, प्रयोगात्मक शिक्षण नगर्नु, विद्यार्थीको इच्छा, चाहनालाई नबुझी शिक्षण गर्नु मुख्य कारणहरू हुन् । सकारात्मक पुनर्बल, आधुनिक तथा प्रयोगात्मक शिक्षण शैलीले विद्यार्थीमा उत्प्रेरणा बढाउँछ, सक्रियता बढाउँछ, साथै विषयवस्तु प्रतिको ज्ञानलाई प्रष्ट तथा दिगो बनाउँछ ।

निश्कर्ष:

सबै विद्यार्थीले नियमित रुपमा गृहकार्य गर्दैनन् । उनीहरुलाई कसरी नियमित गृहकार्य गर्ने अवस्थामा लैजान सकिन्छ भन्ने विषयमा कार्यमूलक अनुसन्धानलाई अगाडि बढाउँदा दोश्रो चरणमा आइपुग्दा अवस्थामा सुधार भएकोले आइन्दा दिनमा अन्य विषयवस्तुमा पनि कार्यमूलक अनुसन्धान गर्दै अगाडि बढेमा आफूलाई शिक्षण पेशामा सफल बनाउन सकिन्छ भनी महसुस गर्दै मैले अनुसन्धानको चरणलाई अन्त्य गरे । यो अनुसन्धानले विद्यार्थीमा काम गर भन्ने निर्देशन दिने तर गरेमा त्यसको प्रत्यक्ष उपलब्धि के हुने भन्ने बारेमा निश्चित नहुँदा उनीहरु क्रियाकलापप्रति आकर्षित हुँदैनन् । त्यस्तै विषयवस्तु प्रतिको सुगा रटाइले मात्र सिकाइ दिगो हुँदैन । सिकाइ क्रियाकलापमुखी हुनुपर्छ । तबमात्र सिकारूलाई पनि क्रियाकलापप्रति उत्प्रेरित गर्न सकिन्छ भन्ने कुरालाई पुष्टि गरेको छ ।

विज्ञान शिक्षक, सरस्वती माध्यमिक विद्यालय, धनगढी–७, कैलाली ।