After SEE Portal

टोल टोलमा घुम्दै पढाउँदै

Bridge Course
टोल शिक्षण गर्दै कुलमाया भगवति माध्यमिक विद्यालयका शिक्षक

भक्तपुर सूर्यविनायक नगरपालिकास्थित कुलमाया भगवति माध्यमिक विद्यालयका शिक्षकहरु आजभोलि कोरोना संक्रमण हुनुपूर्वको समयभन्दा आफूलाई व्यस्त भएको बताउँछन् । उनीहरुलाई प्रविधिमैत्री शिक्षण पनि गर्नु छ । प्रविधिमा जोडिन नसकेका बालबालिकालाई घरघरैमा गएर पढाउन थालेदेखि यहाँका शिक्षकहरु व्यस्त हुन थालेका हुन् ।

यहाँका शिक्षकहरु विभिन्न समूह बनाएर अलग अलग दिन विद्यार्थीको घर दैलोमा पुग्छन् । केही समयमा स्थानीय बालबालिकासंग अन्तरक्रिया गर्छन् । अन्तरक्रिया पछि केही दिनका लागि पुग्ने गृहकार्य दिन्छन् । हरेक दिन एकै जना शिक्षक मात्र बालबालिकाको टोलटोलमा जाँदैन हरेक दिन पालो गरेर सबै शिक्षक पुग्ने गरेका छन् ।

कुलमायाका शिक्षक मात्र होइन नगरभित्रका ३४ विद्यालयका शिक्षकलाई टोलटोलमा गएर सिकाइसहजीकरण क्रियाकलाप सञ्चालन गर्न निर्देशन दिइएको नगर शिक्षाशाखाले जानकारी दियो । सूर्यविनायक मात्र होइन देशका विभिन्न ठाउँमा टोलशिक्षण अभियान सुरु गरिएको छ ।

सिन्धुपाल्चोकका रोशी गाउँपालिकाले बालबालिकालाई टोल टोलमा पुगेर पढाउनका लागि शिक्षकलाई टोलटोलमा पाठाएको छ ।  आजभोलि रोशी गाउँपालिका–२ चण्डीस्थित ग्रामोन्नती प्राथमिक विद्यालयका शिक्षकहरु टोल टोलमा पुगेर पढाउन थालेका छन् ।

फोटो सौजन्यः शोभा खुलाल

आसपासका घरका बालबालिकालाई एक ठाउँमा जम्मा गरी शिक्षकले हरेक दिन पालो गरेर पाढाउन सुरु गरेको सो विद्यालयका प्रधानाध्यापक रामबहादुर लामाले बताए । “हप्ताको तीन दिन सामाजिक दूरी कायम गरेर टोल टोलमा कक्षा सञ्चालन गर्दै आएका छौं”, उनले भने, “वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गर्ने निर्देशनानुसार अभिभावकहरूको सहयोगमा टोलटोलमा पुगेर पढाउन थालेका हौं, यसले विद्यार्थीको पढाईमा सहयोग पुगेको छ ।”

यसरी टोलटोलमा नै विद्यार्थीहरु जम्मा गराएर पठनपाठन गराउँदा अभिभावक र विद्यार्थी दुव खुसी छन् । लामो समयपछि पढ्न पाउँदा विद्यार्थीहरू उत्साहित छन् भने अभिभावकहरु छोराछोरीको पढाइले निरन्तरता पाउन थालेकोमा खुसी भएका छन् ।

‘अहिले दैनिक रुपमा विद्यालय सञ्चालन हुन्छ । निर्माण गरिएको समय तालिका अनुसार टोल टोलमा गएर पढाउने कामलाई निरन्तरता दिँदै आएका छौं”, प्रधनाध्यापक लामाले भने ।

रोशी गाउँपालिका–५ सिसाखानीका विद्या विकास प्राथमिक विद्यालयले पनि विद्यार्थीको सिकाईलाई निरन्तरता दिनका लागि टोल टोलमा सिकाई सहजीकरण गर्न थालेको छ ।

विद्यालयका प्रधानाध्यापक शेरबहादुर लामाले शिक्षा तथा खेलकूद शाखाको निर्देशनानुसार निरन्तर रुपमा विद्यालय सञ्चालन र सिकाई प्रक्रियालाई निरन्तरता दिने कार्य भइरहेको जानकारी दिए ।

यसअघि नै गाउँपालिकाले निरन्तरता दिँदै आएको रेडियो शिक्षा कार्यक्रमलाई अहिले पनि जारी राखिएको छ । जेठ २२ गतेबाट वैकल्पिक सिकाई सहजीकरणलाई निरन्तरता दिँदै आएको शिक्षा तथा खेलकूद शाखाका प्रमुख रामबहादुर तामाङले बताए ।

गाउँपालिकाभित्र ६९ सामुदायिक र तीन संस्थागत गरी कूल ७२ वटा विद्यालयमा आवश्यक स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिहेको गाउँशिक्षा शाखाले जानकारी दियो ।

त्यस्तैगरी सल्यानजिल्लाको दार्मा गाउँपालिकामा टोल सिकाइ केन्द्रमार्फत सिकाइ सहजीकरण क्रियाकलापको थालनी गरिएको छ । चालु शैक्षिक सत्रको करिब पहिलो त्रैमासिकको अवधि सकिन लाग्दा समेत कोरोना जोखिमका कारण विद्यालयमा पठनपाठन गराउने अवस्था नदेखिएपछि गाउँपालिकाले टोल सिकाइ केन्द्रमार्फत विद्यार्थीलाई पठनपाठन गराउन थालेको गाउँपालिकाका शिक्षाशाखा अधिकृत शेरप्रसाद ढकालले जानकारी दिए ।

‘माध्यमिक र आधारभूत कक्षामा अध्ययनरत विद्यार्थीहरु धेरै र सेवा क्षेत्र पनि धेरै छ ।’ उनले भने, ‘कोरोना भाइरस जोखिम न्यूनीकरणका लागि टोलटोलमा नै पुगेर पठनपाठन गराउने निर्णय गरेका हौंँ ।’

टोल सिकाइ केन्द्रमा विद्यालय व्यवस्थापन, शिक्षक र अभिभावक सङ्घका पदाधिकारीको संयोजकत्वमा ७ सदस्यीय टोल सिकाइ सहजीकरण व्यवस्थापन समिति गठन गरिएको शिक्षा शाखा प्रमुख ढकालले जानकारी दिए ।

‘कोभिड–१९ को जोखिम कम, विद्यार्थी सङ्ख्या थोरै, सानो सेवा क्षेत्र र क्वारेन्टिन नभएका विद्यालयमा प्राथमिक तहको सिकाइ सहजीकरण गरिने छ’, उनले भने,, “प्राथमिक तहका विद्यार्थीलाई एक दिन ग्याप राखी विद्यालयमा नै पढाइ रहेका छौं ।”

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि विद्यालय बन्द भएपछि टोल सिकाइ केन्द्रबाट शुरु भएको पठन पाठन प्रभावकारी भएको जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक मिनराज वलीले बताए ।

प्रधानाध्यापक वलीले माध्यमिक विद्यालयका लागि आठ र आधारभूत तहका विद्यालयका लागि चार गरी कूल १२ वटा सिकाइ केन्द्र स्थापना गरिएको जानकारी दिए ।

टोल सिकाइ केन्द्रमा शिक्षकले घुम्ती प्रणाली र फोन सम्पर्कबाट पनि पठनपाठन गराउँदै आएका छन् । सिकाइ सहजीकरणका लागि विद्यालयले विद्यार्थी सङ्ख्याका आधारमा टोल सिकाइ केन्द्र स्थापना गर्न सक्ने र उक्त केन्द्रमा साबुन पानीको उचित व्यवस्था गरिएको छ। गाउँपालिकाभित्र ६ माध्यमिक विद्यालय, १० निम्न माध्यमिक विद्यालय र १७ प्राथमिक विद्यालय रहेको दार्मा गाउँपालिकाले जानकारी दियो ।

यी त केही प्रतिनिधि पालिकामात्र हुन् । प्रविधिको पहुँच नभएका बालबालिकाका लागि टोल शिक्षण प्रभावकारी हुने शिक्षकहरु बताउँछन् । दुर्गम तथा प्रविधिको पहुँच नभएका स्थानको टालसिकाइ रामवाण सावित हुने कालिका माध्यमिक विद्यालय म्याङ्लुङ, तेह्रथुमका प्रधानाध्यापक गोविन्द सोदेम्बा बताउँछन् । ‘हाम्रो विद्यालय पहाडी क्षेत्रमा पर्छ, अधिकांश बालबालिकाको पहुँचमा इन्टरनेट तथा रेडियोको पहुँच छैन यस्ता बालबालिकाका लागि टोल शिक्षण रामवाण सरह नै हुन्छ ।’

लेख्ने पढ्ने बानी बसिसकेका छोराछोरीले लामो समय लेख्न पढ्न छोड्दा पढ्ने बानी नै हराउलाकी भन्ने त्रासबाट टोल शिक्षणले मुक्त गरेको अभिभावकहरु बताउँछन् । शैक्षिक सत्र क्षति हुनुभन्दा पनि आफ्ना छोराछोरीले निरन्तर पढ्न पाउँदा अर्को वर्ष भएपनि कक्षा चढ्ने सूर्यविनायक ४ की सुमित्रा न्यौपाने बताउँछिन् ।

वैकल्पिक प्रणाली मार्फत शैक्षिक सत्रको सुरुवात गरिएपछि शिक्षकहरुले बालबालिकाको सिकाइ पहुँचको अध्ययनगरी सिकाइ सहजीकरण क्रियाकलाप सञ्चालन गर्नुपर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल बताउँछन् ।

वर्तमान सन्दर्भमा पाठ्यभार समायोजन, विद्यार्थीलाई विद्यालयबाटै सहजीकरण र अनुगमन गर्दै अस्थायी सिकाइ केन्द्रहरु र घरदैलो तथा टोल सिकाइ मार्फत शैक्षिक सत्रलाई क्षति हुन नदिने सरकारको योजना अनुरुप कतिपय पालिकाले थालेको टोलसिकाइ अभियान सहा्रनीय भएको उनले बताए ।

A Levels MA
Thuprai - Books and E-books