After SEE Portal

शिक्षकको स्वास्थ्य अवस्था गम्भीर

Bridge Course

अस्थायी, करार शिक्षक केन्द्रीय संघर्ष समितिले गरेको आन्दोलनको क्रममा रानीपोखरी, सोह्रहाते गणेशस्थाननेर आमरण अनशन बस्दै आएका दुई शिक्षकको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।

आमरण अनशनरत् पर्साकी नितु सिन्हा र जुम्लाकी राधा रावतको स्वास्थ्य स्थिति जटील छ । देशका ७७ जिल्लाका १० हजारभन्दा बढी शिक्षक आन्दोलनमा छन् । शिक्षक सेवा आयोगले हालै लिएको परीक्षामा असफल भएपछि रोजगारी खोसिएको भन्दै शिक्षक आन्दोलनका लागि काठमाडौँ आएका हुन् ।

रोजगारी गुमेका कारण उनीहरुको परिवार बिचल्लीमा रहेको अस्थायी शिक्षक केन्द्रीय संघर्ष समितिका वरिष्ठ उपाध्यक्ष गोपाल बस्नेतले बताउनुभयो । उहाँले दुई दशकभन्दा बढी समयसम्म शिक्षण पेशामा रही खारिएका शिक्षकलाई शिक्षा ऐन नवौँ संशोधनमा ७५ प्रतिशत आन्तरिक परीक्षा लिने भनी भनिए पनि २१ प्रतिशत मात्र आन्तरिक परीक्षामा समावेश गरेर करीब १२ हजार ७३९ शिक्षकलाई विस्थापित गरेको जानकारी दिनुभयो ।

परीक्षा दिन जाँचको तयारीका लागि तीन महीना समय दिने प्रचलन रहे पनि आफूहरुलाई असफल बनाउने उद्देश्यले २१ दिन मात्र पढ्ने समय दिएको बस्नेतको आरोप छ । गएको पुसदेखि आन्दोलन गर्दै आएका शिक्षक वैशाख २० गतेदेखि आमरण अनशन बस्दै आएका छन् । रोजीरोटी गुमाई परिवार नै बिचल्लीमा परेका शिक्षकले सरकारलाई दबाब दिन मानव अधिकारकर्मी र सञ्चारकर्मीलाई आग्रह गरेका छन् ।

“हामीलाई आन्तरिक परीक्षामा षड्यन्त्रपूर्ण ढङ्गले सरकारले असफल बनायो । एकै पटक ठूलो सङ्ख्यामा शिक्षकको रोजगारी गुमेको छ । हामीलाई सेवामा फर्काइयोस् र शिक्षण पेशामा निरन्तरता गराइयोस्”, बस्नेतले भन्नुभयो । आमरण अनशनमा रहेका शिक्षकको स्वास्थ्य स्थिति गम्भीर भएकाले उनीहरुको जीवन रक्षाको लागि उहाँले सरकारसँग आग्रह गर्नुभयो ।

A Levels MA