शिक्षक–कर्मचारीलाई खोप चाहियो

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई प्राथमिकतामा पारेर खोप कार्यक्रम सञ्चालन गर्न सरकारसमक्ष अनुरोध गरेको छ ।

प्याब्सनका अध्यक्ष टीकाराम पुरी र महासचिव कुमार घिमिरेले आज प्रेस विज्ञप्ति जारी गरी निजी विद्यालयमा कार्यरत एक लाख ७५ हजार शिक्षक–कर्मचारीका लागि खोप कार्यक्रम सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई अनुरोध गरिएको तर दोस्रो चरणमा समेत शिक्षक–कर्मचारीलाई समावेश नगरिएकोमा आपत्ति जनाएको छ ।

विज्ञप्तिमा शिक्षक समुदायलाई फ्रन्टलाइनका रुपमा लिई समावेश गर्न माग गरिएको छ । “खोप कार्यक्रमको दोस्रो चरण प्रारम्भ हुन लाग्दा सेना, प्रहरी, निजामति कार्मचारी लगायतलाई प्राथमिकतामा पारिएको तर विद्यालयदेखि विश्वविद्यालयसम्म अध्ययनरत् ५० औँ लाख बालबालिका तथा युवाको दैनिक प्रत्यक्ष सम्पर्कमा आउने शैक्षिक संस्थामा कार्यरत शिक्षक–कर्मचारीलाई प्राथमिकतामा नराखी यस क्षेत्रमा संलग्न जनसङ्ख्यालाई कोभिडको खतरामा बाँच्न छाडिएकोमा सिङ्गो शिक्षा क्षेत्र उपेक्षित भएको हामीलाई महशुस भएको छ” विज्ञप्तिमा उल्लेख छ ।

दोस्रो चरणको खोप कार्यक्रम भोलि फागुन २ गतेबाट सञ्चालन हुँदैछ । महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि र पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई मात्र दोस्रो चरणमा समेटिएको छ ।