Edusanjal

शिक्षकले आफ्नो पेशालाई मर्यादित बनाउनुपर्छः मुख्यमन्त्री पौडेल

हेटौँडा, १७ मङ्सिर (रासस) ः प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो पेशालाई मर्यादित बनाउन शिक्षकलाई आग्रह गर्नुभएको छ । 

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले आज हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा उहाँले हकअधिकारसँगै कर्तव्यलाई पनि नभुल्न र विकसित ज्ञान प्रविधिसँग जोडिन शिक्षकलाई आग्रह गर्नुभयो । 

मुख्यमन्त्री पौडेलले शिक्षा नीति निर्माणकै चरणदेखि सङ्घ, प्रदेश र स्थानीय तह प्रस्ट हुनुपर्ने विचार व्यक्त गर्नुभयो । 

“वर्षौंदेखि जुन शिक्षा नीतिको विरोध गर्दै आयौँ,” उहाँले भन्नुभयो, “अब हामी सरकारमा छौँ, व्यक्तिमुखी होइन निष्पक्ष भएर नीति बनाऔँ ।” 

जिल्ला समन्वय समिति मकवानपुरका सहसंयोजक भगवती पुडासैनीले सबै विद्यालयमा अनिवार्य रुपले बाल विकास केन्द्र सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्य प्रा डा शारदा थपलियाको अध्यक्षतामा भएको सो कार्यशालामा आयोगका तर्फबाट डा भोजराज काफ्लेले प्रारम्भिक बाल तथा आधारभूत शिक्षा, माध्यमिक शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीम, अनौपचारिक साक्षरता, उच्च शिक्षा, समावेशी र समसामयिक विषयवस्तु, शिक्षामा गुणस्तर र सुशासन तथा वित्त र साझेदारी विषयमा खुला सुझाव सङ्कलन गरिरहेको जानकारी दिनुभयो । 

+2 School
Counseling
Bachelors Portal