A Levels MA

अङ्क थपका लागि शिक्षक नेताको याचना

ललितपुर । नेपाल खुला विश्वविद्यालयमा एमफिल अध्ययन गरिरहेका एक शिक्षक नेताले परीक्षामा अङ्क थपिदिन विश्वविद्यालयसमक्ष याचना गरेको तथ्य सार्वजनिक भएको छ ।

बीचैमा पढाइ छाडेका वा कार्य व्यस्तताले नियमितरुपमा क्याम्पस वा विश्वविद्यालय जान नसक्नेहरुका स्थापित नेपाल खुला विश्वविद्यालयले दूर शिक्षाका माध्यमबाट पठनपाठन गर्ने गरे पनि भर्नादेखि परीक्षासम्मका कुरामा निकै कडिकडाउ गर्दै आएको छ ।

विश्वविद्यालयले पुस १३ गते आयोजना गरेको पत्रकार सम्मेलनमा विश्वविद्यालयका सामाजिकशास्त्र तथा शिक्षा सङ्कायका डिन प्रा.डा. रामचन्द्र पौडेलले भने, “शिक्षक नेताले कार्य व्यस्तताले पढ्नै नपाएकोले मलाई धेरै नम्बर दिनुुस् भनेर निकै जोड गरे । हामीले तपाईँले नपढेको कुरा कम्प्युटरले नै देखाउँछ । त्यसैले सरी, हामी अङ्क बढाइदिन सक्दैनौँ भन्ने जवाफ दियौँ ।” उनले ती शिक्षकको नाम बताउन चाहेनन् ।

सो विश्वविद्यालयले अत्याधुनिक सूचना प्रविधिको प्रयोग गर्दै आएको छ । विद्यार्थीले कतिपटकसम्म आफ्नो घरको कम्प्युटर खोले, विश्वविद्यालयले दिएका गृहकार्य कति गरे, विश्वविद्यालयले पठाइदिएको पाठ कति पढे, विश्वविद्यालयका शिक्षकले मागेका उत्तरको कति जवाफ दिए आदि कुरा विश्वविद्यालयको कम्प्युटरबाट सहजै थाहा हुुने प्रविधि राखिएको छ ।

डिन डा. पौडेलले ती शिक्षक नेताले एक सयपटकसम्म कम्प्युटर खोलेको र २२ पटक पाठ अध्ययन गरेको देखाएको बताउँदै भने, “तिनले गरेका हरेक गतिविधिको रेकर्ड हामीसँग हुन्छ । हरेक गतिविधिको समय पनि रेकर्ड हुन्छ ।”

विश्वविद्यालयका उपकुलपति प्रा.डा. लेखनाथ शर्माले धेरै जनाले सिधै भर्ना गरेर अन्तिम परीक्षामा सम्मिलित हुने अवसर मिलाइदिन हारगुहार गर्ने गरेको अनुुभवन सुनाउँदै भने, “त्यस्ता दवाव थुप्रै आउँछन् । हामीले गुणस्तरमा सम्झौता गर्दैनौँ । त्यसैले उनीहरुलाई हामीले सक्दैनौँ भनेर जवाफ दिने गरेका छौँ ।”

विद्यार्थीमाथि निगरानी

गृहकार्यका रुपमा कार्ययोजना दिइएको हुन्छ । कतिपय गृहकार्य लामो समयपछि बुुझाउनुपर्ने हुन्छ भने कतिपय सात दिनभित्र बुुझाइसक्नुपर्ने हुन्छ । समयमा गृहकार्य बुुझाउन नसक्नेहरु पनि थुप्रै हुन्छन् । उनीहरुको गतिविधिका बारेमा विश्वविद्यालयले निगरानी गरिरहेको हुन्छ ।

“विद्यार्थीहरुले के कस्ता गतिविधि गरिरहेका छन् भनेर अनलाइनबाट निगरानी गरिरहेका हुन्छौँ” विज्ञान, स्वास्थ्य तथा प्रविधि संकायका डिन डा. इन्द्रबहादुर कार्कीले भने, “कतिपयले कुखुरा पालन गरिरहेकोले पढ्नै भ्याएको छैन भनेर भन्छन् । कोही घुम्न गइरहेका हुन्छन्, कोही कता हुन्छन् । हामीले दिइएको कार्य पूरा गर्न र पठाइएका सामग्री पढ्न भनिरहेका हुन्छौँ ।”

विश्वविद्यालयले भर्ना लिन थालेको दुुई वर्ष भएको छ । सूचना प्रविधिमा दक्ष भएकालाई मात्र भर्ना लिने गरिएको छ । भर्ना परीक्षा नै अनलाइनका माध्यमबाट दिनुपर्ने हुन्छ । पाठ्यसामग्री प्राप्त गर्ने, मध्यावधिको परीक्षामा सम्मिलित हुने, कार्य योजना बुुझाउने लगायतका कार्य अनलाइन माध्यमबाट नै गर्नुपर्ने हुन्छ । 

विश्वविद्यालयका कुल सचिव कमल ढकालले पहिलो सेमेस्टरको औषत उत्तीर्ण प्रतिशत ७० र दोस्रो सेमेस्टरको ६२ रहेको जानकारी दिए । बीचैमा पढाइ छाड्नेहरु पनि हुने गरेका छन् । विश्वविद्यालयका अनुसार सरदर १७ प्रतिशतले बीचैमा पढाइ छाड्ने गरेको पाइएको छ ।

अन्तिम परीक्षा काठमाडौँमा

बीचमा लिइने मध्यावधि परीक्षा अनलाइनकै माध्यमबाट दिनुपर्ने हुन्छ । समय सीमित हुने भएकाले उत्तर लेख्न परीक्षार्थीलाई भ्याइ नभ्याइ हुुने हुँदा नक्कल गर्न नसक्ने तर्क विश्वविद्यालयको व्यवस्थापन तथा कानुन संकायका डिन प्रा.डा. शिलु मानन्धर बज्राचार्यको छ ।

मध्यावधि परीक्षा हरेक विषयको चार घण्टासम्म सञ्चालन गरिन्छ । उनका अनुसार अन्य सबै परीक्षा अनलाइनबाटै लिइए पनि अन्तिम लिखित परीक्षाका लागि सबै विद्यार्थीलाई काठमाडौँमै बोलाइन्छ । आन्तरिक ४० प्रतिशत र बाह्य ६० प्रतिशत मूल्याङ्कनको व्यवस्था गरिएको छ ।

हरेक साँझ ७ देखि १० बजेसम्म अनलाइनबाटै कक्षा सञ्चालन गर्ने व्यवस्था गरिएको छ । हरेक सेमेस्टरमा दुुई दिनको सम्पर्क कक्षा सञ्चालन गरिन्छ र त्यसका लागि पनि काठमाडौँमै आउनुपर्ने हुन्छ । सम्पर्क कक्षा ८ देखि ९ घण्टासम्मको हुन्छ ।

हरेक साँझ तोकिएको सो समयमा विद्यार्थीहरु कम्प्युुटरका सामुन्ने बस्नुुपर्ने हुन्छ । विद्यार्थीलाई यसका लागि अनिवार्य गरिएको हुँदैन तर आफूले नबुुझेका कुरा सो समयमा शिक्षकसँग सिधै सोध्न सक्ने सुविधा रहने डिन डा. मानन्धरले बताइन् । “कक्षामा बस्न नपाएको दिनमा लेक्चरर आर्काइभमा रहन्छ । पछि अनुकूल समयमा अनलाइनमा बसेर त्यो लेक्चरर हेर्न पाइन्छ” उनले भनिन् । विद्यार्थीलाई छुट्टा छुुट्टै युजरनेम र पासवर्ड दिइने गरिन्छ ।

केन्द्रीय कार्यालयविहीन

सञ्चालनमा आएको दुुई वर्ष बित्दा पनि नेपाल खुुला विश्वविद्यालयको केन्द्रीय कार्यालय तोकिएको छैन । ऐनमा नेपाल सरकारले तोकेको स्थानमा केन्द्रीय कार्यालय रहने भनेर उल्लेख छ ।

सुरुमा भक्तपुरको सानोठिमीमा विश्वविद्यालयको कार्यालय स्थापना गरिएको थियो । त्यसपछि ललितपुरको मानभवनमा भाडाको घरमा सारिएको छ । सरकारले सानोठिमीमा जग्गा उपलब्ध गराएको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा. डा. लेखनाथ शर्माले सरकारले नतोकिदिएकाले केन्द्रीय कार्यालय कहाँ रहने भन्ने अझै अन्योल नै रहेको उल्लेख गर्दै भने, “काठमाडौँ वा भक्तपुर वा चितवन वा गोर्खा जहाँ सुुकै पनि केन्द्रीय कार्यालय रहन सक्दछ । सरकारलाई भक्तपुरको सानोठिमीमा केन्द्रीय कार्यालय तोक्न सिफारिस सहितको प्रतिवेदन बुुझाएका छौँ । मन्त्रिपरिषद्ले स्वीकृत गरेपछिमात्र केन्द्रीय कार्यालयको टुुङ्गो लाग्नेछ ।”

विश्वविद्यालय भौतिक पूर्वाधारमा पनि कमजोर अवस्थामा नै रहेको छ । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधारका लागि सात करोड रुपियाँ बजेट सरकारले उपलब्ध गराएको छ । यस रकमले भवन निर्माण गरिने उनले बताए ।

“भौतिक पूर्वाधारमा समस्या छ” उनले थपे, “धेरैको आकर्षण बढ्दै गएको छ । भर्ना हुन चाहनेहरु पनि थुप्रै हुन्छन् तर भौतिक पूर्वाधार र बजेटको समस्याले हरेक कार्यक्रममा ५० जनामात्र भर्ना लिन सकेका छौँ ।” 

Thuprai - Books and E-books