मातृभाषा शिक्षक नियुक्त

फिदिम, १० माघ (रासस) ः पाँचथरको फाल्गुनन्द गाउँपालिकाले जिल्लामै पहिलो पटक नौ विद्यालयमा मातृभाषा शिक्षक नियुक्त गरेको छ । गाउँपालिकाले मातृभाषी विद्यार्थीको बाहुल्यका आधारमा ती विद्यालयमा लिम्बू र तामाङ मातृभाषामा पठनपाठनका लागि शिक्षक नियुक्त गरेको हो । 

आगामी शैक्षिक सत्रदेखि लिम्बू र तामाङ मातृभाषामा शिक्षणका लागि प्रत्येक विद्यालयमा एक एकका दरले मातृभाषा शिक्षक नियुक्त गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल त्रिखत्रीले जानकारी दिनुभयो । गाउँपालिकाले मातृभाषामा पठनपाठनका लागि मातृ भाषा संरक्षण एवं विकासका अभियानकर्मी हरिचन्द्र लावतीको संयोजकत्वमा कार्यदल बनाई गाउँपालिकाभित्रका विद्यालयमा सर्भेक्षण गरेको थियो । 

सर्भेक्षणपछि कार्यदलले मातृभाषामा पठनपाठनसम्बन्धी कार्यविधि बनाई गाउँपालिकामा पेश गरेको थियो । कार्यविधिलाई स्वीकृत गर्दै गाउँपालिकाले शिक्षक नियुक्त गरेको त्रिखत्रीको भनाइ छ । 

गाउँपालिकाको स्वीकृतिपछि यही माघ ३– ५ गते मातृभाषा शिक्षकको नियुक्तिका लागि परीक्षा लिइएको थियो । परीक्षापछि शिक्षक नियुक्तिको प्रक्रिया पूरा गरिएको सर्भेक्षण कार्यविधि निर्माणका संयोजक लावतीले जानकारी दिनुभयो । गाउँपालिकाका नौमध्ये आठ विद्यालयमा कक्षा ७ सम्म लिम्बू (याक्थुङ) मातृभाषामा पठनपाठनका लागि एक एक शिक्षक नियुक्त गरिएका छन् । 

ती विद्यालयमा जनकल्याण आधारभूत विद्यालय नवमीडाँडा, महागुरु फाल्गुनन्द आधारभूत विद्यालय इम्बुङ, सत्यहाङ्मा माध्यमिक विद्यालय इम्बुङ, सारताप माध्यमिक विद्यालय पौवासारताप, कृष्ण माध्यमिक विद्यालय चिलिङ्दिन, नागेम्बा आधारभूत विद्यालय फाक्तेप, पञ्चकन्या आधारभूत विद्यालय आङसराङ र बिपी स्मृति आधारभूत विद्यालय आङ्सराङ छन् । यस्तै लक्ष्मी आधारभूत विद्यालय आङसराङमा कक्षा ७ सम्म तामाङ (तामयिग) मातृभाषामा पठनपाठनका लागि शिक्षक नियुक्त भएको लावतीले बताउनुभयो । 

यस्तै यस अघिसम्म स्थानीयवासीकै सक्रियतामा कक्षा ११ र १२ मा ऐच्छिक विषयको रुपमा लिम्बू मातृभाषा पठनपाठन हुँदै आएको सत्यहाङ्मा माविमा माध्यमिक तहको एक भाषा शिक्षकको दरबन्दीसमेत स्वीकृत गर्दै शिक्षक नियुक्त गरिएको छ । 

गाउँपालिकाले अर्को शैक्षिक सत्रदेखि मातृभाषामा पठनपाठनका लागि १३ विद्यालयलाई स्वीकृति प्रदान गर्ने भएको छ । ती विद्यालयमा समेत अर्को वर्षदेखि भाषा शिक्षक नियुक्त हुने लावतीले जानकारी दिनुभयो । 

मातृभाषामा शिक्षक नियुक्त गर्ने गाउँपालिकाको कदम भाषाको संरक्षण र विकासका लागि ऐतिहासिक घटनाक्रम भएको लावतीको भनाइ छ । मातृभाषाको संरक्षणमा दरबन्दी स्वीकृति र शिक्षक नियुक्त गरेर मातृभाषा र विद्यालयलाई गाउँपालिकाले ठूलो राहत पु¥याएको लावती बताउनुहुन्छ । 

Thuprai - Books and E-books