After SEE Portal

गुणस्तरीय शिक्षाका लागि ६८ प्रज्ञार्थी छनोट

Bridge Course

काठमाडौँ, ६ चैत (रासस) :  टिच फर नेपालले शैक्षिक समानता र सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि ६८ प्रज्ञार्थी छनोट गरेको छ । 

यो वर्ष एक हजार ६०० भन्दा बढी आवेदनबाट ६८ प्रज्ञार्थी छनोट गरिएको टिच फर नेपालले जनाएको छ । आउँदो शैक्षिकसत्रबाट यी ६८ प्रज्ञार्थीले सात जिल्लाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने प्रयासस्वरुप निःशुल्क अध्यापन गराउनेछन् । 

गत शैक्षिक सत्रसम्म छ जिल्ला ललितपुर, सिन्धुपाल्चोक, धनुषा, दाङ, पर्सा र लमजुङमा कार्यरत टिच फर नेपालले यो वर्ष तनहुँमा पनि सो अभियान आरम्भ गर्ने भएको छ । योसँगै टिच फर नेपालले सात जिल्लाका ६७ विद्यालयका १५ हजार भन्दा बढी विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नेछ । 

विद्यालयमा पठाइनुअघि ती प्रज्ञार्थीलाई ४५ दिने तालीममा दिइनेछ । तालीममा उनीहरुलाई कक्षाकोठा भित्रका सिकाइ जस्तै कक्षा व्यवस्थापन, सिकाइ विधिलगायतका विषयमा जानकारी दिइने टिच फर नेपालका सह संस्थापक तथा तालीम निर्देशक स्वस्तिका श्रेष्ठले बताउनुभयो । 

आगामी शैक्षिक सत्रदेखि टिच फर नेपालका १३८ प्रज्ञार्थीले सात जिल्लाका ६७ सामुदायिक विद्यालयमा अङ्ग्रेजी, विज्ञान र गणित विषय अध्यापन गराउने छन् । टिच फर नेपाल सामूदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न क्रियाशील एक शैक्षिक अभियान हो । 

यसले आफ्नो अभियानलाई शिक्षा मन्त्रालय, शिक्षा विभाग तथा सम्बन्धित जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा विसं २०७० देखि ललितपुर, २०७१ देखि सिन्धुपाल्चोक, २०७२ देखि धनुषा, २०७५ देखि दाङ, लमजुङ, पर्सा गरी छ जिल्लामा र २०७६ बाट तनहुँमा सञ्चालन गर्दैछ । 

अभियानका लागि यस संस्थाले विद्यालयसँगको साझेदारीमा विभिन्न विश्वविद्यालयबाट स्नातक उत्तीर्ण युवा छनोट तथा तालिम पश्चात अंग्रेजी, गणित र विज्ञान शिक्षकका रूपमा उपलब्ध गराउँदै आएको छ । हाल ललितपुर, सिन्धुपाल्चोक, धनुषा, दाङ, लमजुङ , पर्सा र तनहुँका जम्मा ६७ सामुदायिक विद्यालयमा सो अभियान सञ्चालित छ । सोमा १३८ प्रज्ञार्थी शिक्षक कार्यरत हुनुहुन्छ । 

आइएमइ टेनिस वैशाख पहिलो साता 

आइएमइ फाउण्डेसनको आयोजनामा दोस्रो आइएमइ ग्राण्ड जुनियर खुला टेनिस प्रतियोगिता आगामी वैशाख पहिलो साता हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता आगामी वैशाख २ देखि ७ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को टेनिस कोर्टमा हुने फाउण्डेसनका सदस्य राजु पौडेलले जानकारी दिनुभयो । 

प्रतियोगितामा विभिन्न पाँच उमेर समूहको सिङ्गल्स स्पर्धामा करीब १५० खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२ र यू–१४ ब्वाइज÷गल्र्स सिङ्गल्स गरी १० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । ब्वाइज÷गल्र्सको यू–८, यु–९ र यु–१० विजेताले रु १२ हजार र उपविजेताले रु छ हजार पुरस्कार हात पार्ने छन् । 

ब्वाइज÷गल्र्सको यु–१२ मा पहिलो हुनेले रु २० हजार तथा दोस्रोले रु १० हजार पुरस्कार प्राप्त गर्ने उहाँले जानकारी दिनुभयो । टेनिस खेलको विकास गर्ने उद्देश्यले फाउण्डेशनले प्रतियोगिता आयोजना गर्न लागेको उहाँको भनाइ छ । 

A Levels MA
Thuprai - Books and E-books