पाठ्यक्रम विकास केन्द्रले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ शैक्षिक सत्र २०८० देखि पूर्ण रुपमा कार्यान्वयनमा ल्याएको छ । केन्द्रले कक्षा एकदेखि १० सम्म नै नयाँ पाठ्यक्रम कार्यान्वयन गरेको छ ।
केन्द्रले अनिवार्य तथा ऐच्छिक विषयको पाठ्यक्रम लागु गरेसंगै यो वर्ष कक्षा १०को वार्षिक परीक्षा धमाधम भइरहेको छ । केन्द्रले कक्षा १० का लागि अनिवार्य र ऐच्छिक गरेर १०२ विषयको पाठ्यक्रम कार्यान्वयनमा ल्याएको छ । तर राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले जम्मा २० वटा विषयमा मात्र एसईई परीक्षा लिइरहेको छ । कक्षा ९ र १० मा ऐच्छिक प्रथम र द्वितीयमा थुप्रै नयाँ स्वरोजगार उत्पादन गर्ने विषय छन् । तर सबैको रोजाइ परम्परागत विषय प्रति मात्र छ ।सबै प्राविधिक धारको विद्यालय खोल्न होडबाजी गरिरहेका छन् तर भएका पाठ्यक्रम त्यसै खेर गइरहेका छन् ।
कक्षा १० मा अहिले ऐच्छिक प्रथममा ५० विषय राखिएको छ भने ऐच्छिक द्वितीयमा ४७ विषय छन् । तर विद्यालयले सबै विषयमा नपढाउँदा अहिलेसम्म कक्षा १०को बार्षिक परीक्षामा २० ओटा विषय भन्दा धेरे विषय पढाइ नै हुन सकेको छैन । प्रचारप्रसारको अभाव वा विद्यालय सञ्चालक तथा शिक्षक अभिभावकमा चेतनाको कमीले गर्दा स्वरोजगार उत्पादन गर्न पाठ्यक्रम ओझेलमा परिरहेका छन् । ।
केन्द्रले एउटा विषयको पाठ्यक्रम तयार गर्न लाखौँ रकम खर्च गर्यो तर ती विषयको दीर्घकालीन फाइदाका विषयमा जनमानसमा प्रचारप्रसार गर्न नसक्दा ती उपयोगी पाठ्यक्रम ओझेलमा परिरहेकाछन् । पाठ्क्रमको प्रभवकारिता नबुझ्दा ती पाठ्यक्रम कागजमा सीति भएर हराउने सम्भावना बढेर गएको छ ।
‘विषय थुप्रै भए पनि विद्यालयमा पठनपाठन नहुँदा ती थन्किएका छन् । त्यसैले सबै विषयको प्रश्नपत्र तयार गर्नु परेको छैन ।’ बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भने, ‘यो वर्ष एसईईमा २० ओटा विषयका लागि मात्र प्रश्नपत्र छापिएको छ ।’
पाठ्यपुस्तकलाई प्रधान मानेर शिक्षण गर्ने नेपाली परम्पराका कारण पाठ्यपुस्तक अभाव तथा शिक्षक अभावका कारण विद्यालयले पढाउने सोच ने नबनाएको नियन्त्रक पोडेलले बताए । त्यसबाहेक विद्यार्थीको रोजाइमा पनि नपर्ने भएकाले यस्तो परिस्थिति सिर्जना भएको बताइएको छ ।
ऐच्छिक प्रथमतर्फ कानुन, ग्रामीण विकास, सहकारी शिक्षा, बजारशास्त्र, प्राकृतिक चिकित्सा, मानव मूल्य शिक्षालगायतका उपयोगी विषय छन् तर एउटा पनि विद्यालयले पढाउनै चाहाँदैनन् । त्यस्तै ऐच्छिक द्वितीयतर्फका फोटोग्राफी, बाल विकास शिक्षा, अडिटिङ, हस्तकला, केशकला, बागवानी, फलफूल खेती, मौरीपालन, तरकारी खेती, पशुपालन, सौन्दर्यशास्त्र, बुढ्यौली शिक्षा आदि विषय एउटा विद्यालयले पनि पढाउन सकेका छैनन् । विद्यालयले परम्परादेखि पठनपाठन गर्दै आएका विषय छनोट गर्दा नयाँ विषय रोजाइमा नपरेको विद्यालयको भनाइ छ ।
त्यसैगरी संस्कृततर्फ अनिवार्य संस्कृत रचनाको पाठ्यक्रम अझैसम्म तयार भएको छैन । यसले गर्दा संस्कृत धारका विद्यार्थीले त्यसको सट्टामा साधारण धारतर्फका विद्यार्थीका लागि तयार गरिएको अङ्ग्रेजीको परीक्षा दिनुपर्ने बाध्यता छ । संस्कृत रचनाको पाठ्यक्रम नै बनेको छैन त्यसेले त्यसको सट्टामा संस्कृतका विद्यार्थीलाई अङ्ग्रेजी पढाइँदे आएको छ ।