After SEE Portal

अभिभावकको भरोसा जित्न सफल जनसेवा मावि कीर्तिपुर

Bridge Course

विद्यालयको प्रवेशद्वारमा बास्केटबल कोर्ट । छेवैमा निमार्णाधीन फुटसल, भलिवल, फुटवल ग्राउण्ड । विद्यालयको भित्रि ग्राउण्डमा विद्यार्थीले निर्माण गरेका कागज, माटो तथा काठका टुक्रा मिलाएर बनाएका विभिन्न जनचेतनामूलक सामग्रीले हरेक शुक्रबार धपक्कै बल्ने गरेको कीर्तिपुरको जनसेवा माध्यमिक विद्यालय आजभोलि लकडाउनका कारण लक भएको छ । विद्यालयका कक्षाकोठा बन्द भए पनि विद्यालयले अनलाइनका माध्यमबाट माध्यमिक शिक्षा परीक्षाको तयारी गराइरहेको छ । कक्षा १० का विद्यार्थीलाई दैनिक दुईचार घण्टा रिभिजन कक्षा सञ्चालन गर्ने गरेको छ ।

अहिलेसम्म विद्यालयलाई क्वारेन्टाइन बनाइएको नभए पनि आवश्यक परे विद्यालयका कक्षाकोठा सामुदायिक उद्दारका लागि प्रयोग गर्न दिइने विद्यालयका प्रधानाध्यापक नन्दकुमारी महर्जनले बताइन् । ‘हामी हरेक दिन विद्यालय परिवार अनलाइनमा बैठकमा बस्छौं ।’ प्रधानाध्यापक महर्जन भन्छिन्, ‘समय हाम्रो बसमा छैन, अब हाम्रा ससाना नानीबाबुको भविष्य कस्तो होला, विश्वव्यापी सङ्क्रमणबाट कसरी बचाउन सकिएला भनेर चिन्ता लाग्न थालेको छ ।’

विद्यालयको भौतिक पक्ष मात्र होइन शैक्षिक पक्ष पनि राम्रो छ । विगत पाँच वर्ष यता यो विद्यालयको उपलब्धी सतप्रतिशत राख्न सफल छ । गत वर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १० मा सहभागी भएका ७२ जना मध्ये नौ जनाले ‘ए प्लस’ ल्याएका थिए । सो विद्यालयबाट ग्रेडिङ सिस्टम सुरुभए यता ‘सी ग्रेड’ भन्दा तल ल्याउने विद्यार्थी नै छैनन् । गुणस्तरीय शिक्षा प्रदान गर्न थालेपछि नेपालका ७० भन्दा बढी जिल्लाका अभिभावक तथा विद्यार्थीको रोजाइ बन्न सफल भएको विद्यालयका सहायक प्रधानाध्यापक देवराज महर्जनले बताए ।

सामुदायिक विद्यालयमा पढाइ हुन छाड्यो भनेर निजी विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकले पनि निजी विद्यालयबाट विद्यार्थी झिकेर सो विद्यालयमा ल्याउने गरेका छन् । सहायक प्रधानाध्यपापक महर्जन भन्छन्,‘हाम्रो विद्यालयमा स्थानीय तथा बाह्य जिल्लाका निजी विद्यालयका विद्यार्थी बढी भर्ना हुन आउँछन् ।’

गुणस्तरीय शिक्षाको खोजी गर्ने अभिभावककलाई उत्कृष्ट गन्तव्य बन्न सफल भएको छ जनसेवा मावि । उप प्रधानाध्यपक महर्जन भन्छन्,‘हाम्रा विद्यार्थी जुनसुकै क्षेत्रका जस्ता सुकै क्षमता भएका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्छन् । गुणस्तरीय शिक्षा र प्राविधिक धारको कक्षाले गर्दा पनि हामी कहाँ विद्यार्थीको चाप उच्च भएको हो ।’

शिक्षक अभिभावकको सहकार्यले विद्यालयको गुणस्तर उच्च भएको हो । विद्यालयको हरेक प्रगतिमा अभिभावकको साथ रहेको छ । शिक्षक चन्द्र बानियाँ भन्छन्, ‘शिक्षकको एक्लो प्रयासले मात्र शिक्षाको गुणस्तर सुधार हुन सक्दैन, यसका लागि शिक्षक अभिभावक र व्यवस्थापन समितिको सामुहिक प्रयास हुनुपर्छ । त्रिपक्षीय सुमधुर सम्बन्धका कारण समस्या पहिचान गर्न सहज हुन्छ । समस्याको पहिचान गर्न सकेमा गुणस्तर आफैं सुधार हुन्छ ।’

पाँच दशक अघि यो विद्यालयको अवस्था पनि अरु सामुदायिक विद्यालयको जस्तै थियो । कक्षा ७ सम्म पठनपाठन हुने यो विद्यालयमा तीन जना मात्र विद्यार्थी भएका कारण कक्षा थप हुन सकेन । त्यसवेला कक्षा ८ पढ्न स्थानीय विद्यार्थीहरु बाहिर गए । तर पाँच दशकपछि विद्यालयले काँचुली फेरको छ । अहिले स्थानीय मात्र होइन देशैभरिबाट विद्यार्थी पढ्न आउने गरेको सहायक प्रधानाध्यापक महर्जनले बताइन् ।

इसीडीदेखि कक्षा १२ सम्म अध्ययन गर्ने एक हजार ४०९ जना विद्यार्थी छन् । यो विद्यालय कीर्तिपुर नगरपालिकाको एकमात्र नमुना विद्यालय हो । नेपाल सरकारले यो विद्यालयलाई विसं. २०७२ मा नमुना विद्यालयका रुपमा घोषणा गरेको छ । भौतिक पूर्वाधारको पर्याप्तता नहुदा गतवर्ष एक दर्जन विद्यार्थीलाई कक्षा ९ मा भर्ना गर्न नसकिएको विद्यालयले जानकारी दियो । विद्यालयका अनुसार कक्षा ९ को प्राविधिक विषयसहित तीन सेक्सन छन् । यो वर्ष पनि विद्यालयमा भर्ना हुन आउनेको चाप छ । अभिभावकहरुले दैनिक भर्नाका लागि विद्यालय परिवारका सदस्यालाई फोन सम्पर्क गर्ने गरेका छन् । गत वर्ष कक्षा नौमा मात्र १२३ जना विद्यार्थी थिए ।

विद्यालयको छेवैमा विगत ४० वर्ष अगाडिदेखि बसोबास गर्दै आएका स्थानीय मोहनकृष्ण महर्जन भन्छन्, ‘सबै सामुदायिक विद्यालयले जनसेवाले जस्तै पढाउने हो भने कसैका छोराछारीलाई ऋण गरेर निजीमा पढाउनु पर्दैन । कसैका छोराछोरी शिक्षाको पहुँचभन्दा बाहिर बस्नै पर्दैन ।’ उनले भने, ‘विद्यार्थी पनि बिचैमा हराउने समस्या कम हुन्छ । गुणस्तरीय शिक्षा पाएपछि सबै बालबालिका विश्वबजारमा बिक्न सक्छन् ।’

विद्यालयले विसं २०७० देखि इलेक्ट्रोनिक इञ्जिनियरिङमा प्राविधिक तथा व्यावसायिक शिक्षा प्रदान गर्दै आएको छ । कक्षा ९ देखि १२ सम्म पढाइ हुने सो विषय पढ्न देशैभरिका विद्यार्थी आउने गरेका छन् । यो विषयका लागि विद्यालयले प्रति विद्यार्थी वार्षिक रु. १० हजार लिने गरेको छ । अन्य साधारणतर्फका विद्यार्थीलाई सामान्य परीक्षा शुल्क र प्रवेश शुल्क मात्र लिने गरेको शिक्षक रुपेश महर्जनले बताए । ‘विज्ञान र प्राविधिक विषयका साथै सुविधा सम्पन्न विभिन्न विषयका छुट्टाछुट्टै प्रयोगशाला, व्यवथित खेलमैदान, कम्प्युटर र पुस्तकालय अनि भूकम्पप्रतिरोधी भवनले मात्र होइन अङ्ग्रेजी माध्यममा गुणस्तरीय पठनपाठनका कारण देशैभरिका अभिभावक विद्यार्थीको रोजाइको केन्द्र हाम्रो स्कुल बनेको हो’ उनले भने ।

उक्त विद्यालयका स्रोत व्यक्तिका रुपमा रहेका खगराज जोशीका अनुसार कीर्तिपुर नगरपालिकाभित्र जनसेवा मावि सफल र एउटा उत्कृष्ट नमूना विद्यालय हो । विद्यालयले विभिन्न दातृ निकायसँग सहकार्य गरी विभिन्न व्यवसायिक उत्पादनहरु निर्माण गर्न सिकाउँदै आएको छ । ‘पानासोनिक कम्पनीसँग सहकार्य गरी जापानका शिक्षकबाट अनलाइनमार्फत कक्षा ६ र ७ का विद्यालयलाई ब्याट्री र अन्य सामग्री उत्पादन गर्ने अभ्यास कक्षा पनि सुरु गरेको छ ।’

प्रदेश सरकारको ‘एक विद्यालय एक नर्स कार्यक्रम’ अन्तर्गत सो विद्यालयमा एक नर्सको व्यवस्थ गरिएको छ । २०७५ मंसिरबाट विद्यालयमा नर्सको व्यवस्था गरिएको हो । नर्सको व्यवस्था भएपछि विद्यार्थीको स्वास्थ्य परीक्षण र प्राथमिक उपचार विद्यालयमा नै गर्ने गरिएको छ ।

विद्यालयमा स्टाफ नर्स निर्मला महर्जन कार्यरत छिन् । ‘विद्यालयका सम्पूर्ण विद्यार्थीको स्वास्थ्य परीक्षण गर्नुका साथै विद्यालयले आयोजना गरेको खेलकूद कार्यक्रमका सिलसिलामा घाउचोट लाग्दा गरिने प्राथमिक उपचार यहाँबाट प्रदान गरिँदै आएको छ’ उनले भनिन्, ‘विद्यार्थीको स्वास्थ्यस्थिति जाँच, खानेपानी तथा स्वास्थ्य परामर्श दिने गरेकी छु ।’

विद्यालयले हरेक शुक्रबार स्टाफ मिटिङको आयोजना गर्ने गरेको छ । उक्त मिटिङमा हप्ताभरिका प्रगति विवरणको समीक्षा गर्ने गरिएको छ । उक्त समीक्षाका आधारमा विद्यालयले आप्mना भावी कार्यदिशा तथा रणनीति तयार गर्ने गरेको शिक्षक रुपेश बताउँछन् ।

विद्यालयमा नगरपालिका, विद्यालय र अन्य साझेदार संस्थासँग सहकार्य गरी गार्डेन निर्माण गरिएको छ । गार्डेनमा साइकस, धुपी, चाइनिज रोज, गोल्डेन धुपी, पाइन, काइयो, इन्द्र कमल पूmललगायतका वनस्पति लगाइएको छ ।

विद्यालयमा जंकफुडलाई निषेध गर्ने उद्देश्यले सञ्चालन गरिएको क्यान्टिनले विद्यार्थीको चाप अनुसार खाजा खुवाउन समस्या भएपछि विद्यालय परिसरमा नै क्यान्टिन हल निर्माण गरिँदै छ । सस्तो र सुलव रुपमा गुणस्तरीय खाजा क्यानिटनबाटै खान पाइने भएपछि विद्यालयमा जंक फुण पूर्ण रुपमा निषेध हुने विश्वास विद्यालयको छ ।

६ भवन ४३ वटा कक्षा कोठा भएको यो विद्यालयमा तीनवटा अडियोभिडियो कक्षा दैनिक सञ्चालन गरिँदै आएको शिक्षकहरु बताउँछन् । इसीडीका अधिकांश कक्षाहरु अडियो भिजुवलबाट सञ्चालन गर्दै आएको शिक्षक रुपेश बताउँछन् । विद्यालयले आवश्यकता अनुसार सबै कक्षामा अडियो भिडियोबाट सञ्चालन गर्दै आएको शिक्षकहरुले जानकारी दिए । यो विद्यालयमा शिक्षणसिकाइ प्रक्रिया शिक्षाका नवीतम् प्रविधिको प्रयोग गर्दै आएको शिक्षक रुपेशले बताए ।

यो विद्यालयमा विज्ञानका तीनवटा, कम्प्युटर, इसीडी, एलकेजीका छुट्टछुट्टै सुविधा सम्पन्न ल्याब छन् । नगरपालिकाको सहकार्यमा इसीडीका विद्यार्थीलाई बसाइ व्यवस्थापन गरिएको छ ।

विद्यालयले इसीडीदेखि कक्षा ६ सम्म पूर्ण रुपमा अङ्ग्रेजी माध्यममा पढाउँदै आएको छ । क्रमशः हरेक वर्ष कक्षा वृद्धिसँग माध्यम भाषा अङ्ग्रेजी बनाइँदै लैजाने विद्यालयको योजना रहेको छ । कक्षा ७ देखि १० मा पनि सामाजिक, पेसा व्यवसाय, नैतिक शिक्षा र नेपाली विषय बाहेक अन्य सबै विषय अङ्ग्रेजीमा पठनपाठन हुँदै आएको छ ।

विसं. २००४ साउन ३ देखि कीतिपुर पाँगामा जलविनायक आधार स्कुलका रुपमा सञ्चालन हुँदै आएको यो विद्यालय विसं २०३० मा जनसेवा माविमा परिणत भएको हो । स्थानीय शिक्षाप्रेमी डिठ्ठा नरबहादुर डंगोलले स्थानीय बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको यो विद्यालय अहिले देशैभरिका विद्यार्थीको आकर्षणको केन्द्र बन्न सफल भएको छ । विद्यालयकै मातहतमा विसं २०७० देखि जनाधार सामुदायिक क्याम्पस सञ्चालन हुँदै आएको छ । बीबीएसका कक्षा सञ्चालन गरिँदै आएको सो क्याम्पसमा अहिले ३ सय ५० जना विद्यार्थी अध्ययनरत छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवलाल महर्जन भन्छन्, ‘शिक्षकको अथक प्रयास,अभिभावकको प्रत्यक्ष सरोकार, तथा लगनशील विद्यार्थी र र सहयोगी मनहरुको सहकार्यले हाम्रो विद्यालयको शैक्षिक उपलब्धी उच्च छ । सबैको भरोसाको केन्द्र बन्न विद्यालय सफल छ ।’

A Levels MA
Thuprai - Books and E-books