अब विद्यार्थीले घरैमा बसेर निःशुल्क विदेशी लेखकका सामग्री पढ्न पाउने

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयले घरैमा बसेर अन्तर्राष्ट्रिय लेखकका पुस्तक, डकुमेन्ट्री तथा जर्नल निःशुल्क पढ्न पाइने व्यभएको छ ।

केन्द्रीय पुस्तकालयले रिमोट एक्सेस सेवासहितको प्रोक्वेस्ट डाटाबेस सफट्वेयर प्रयोग गरेपछि विद्यार्थीले घरैमा बसेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय डकुमेन्ट, पुस्तक, जर्नल पढ्न पाउने भएका हुन् ।

उक्त सफ्टवेयर पुस्तकालयले बेलायतबाट रु.३२ लाखमा खरीद गरेर ल्याएको छ । पुस्तकालयले त्रिविअन्तर्गतका आङ्गिक क्याम्पस र पुस्तकालयसँग सम्झौता गरेका अन्य विश्वविद्यालयका विद्यार्थीलाई प्रोक्वेस्ट डाटाबेस सफट्वेयरबाट निःशुल्करुपमा पुस्तक पढ्ने व्यवस्था गरिएको पुस्तकालयका प्रमुख पूर्णलाल श्रेष्ठले बताए ।

‘विदेशी विश्वविख्यात विद्वानले प्रकाशित गरेका पुस्तक, जर्नल, लेख रचना लगायत निःशुल्क पढ्नका लागि विद्यार्थीले पुस्तकालयको वेबसाइट ठेगानामा एउटाफाराम भर्नुपर्छ ।’उनले भने, ‘सोही फारमका आधारमा विद्यार्थीको इमेल आइडी उपलब्ध गराई पुस्तकालयले विदेशी पुस्तक, डकुमेन्ट, जर्नललगायतका सामग्री पढ्न पाउने व्यवस्था गरेको छ ।’

गत मङ्सिरबाट शुरु भएको रिमोट एक्सेस प्रणालीमा अहिले ३० हजार विद्यार्थी जोडिइसकेका छन् । पुस्तकालयले विद्यार्थीको समय र लगानी सबै बचत गराइ विषय विज्ञ तथा विषयवस्तु सम्बन्धि सम्पूर्ण जानकारी भएको जनशक्ति उतपादन गर्ने उद्देश्यले सजिलै विश्वका प्रसिद्ध लेखकले लेखका सामग्री पढ्न पाउने व्यवस्था गरेको पुस्तकालयका सूचना अधिकारी विजय शर्माले बताए ।

उक्त रिमोट एक्सेस प्रोक्वेस्ट डाटाबेशमा अहिले चार लाख ५० हजारभन्दा बढी ई–पुस्तक, ५० लाखभन्दा बढी ई–थेसिस डिजर्टेसनका साथै हजारौँ शीर्षकका जर्नल, पत्रिका र लेख, रचना राखिएको छ । सो सेवाका लागि नेपाल खुला विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, हेटौँडा कलेज अफ सोसल साइन्सेस, सगरमाथा इञ्जिनियरिङ कलेज, बानेश्वर बहुमुखी क्याम्पस संस्थागतरुपमा पुस्तकालयले खरीद गरेको डाटाबेससँग जोडिएका छन् ।

त्यस्तै पुस्तकालयले पछिल्लो समय एशियन विकास बैंक र नेशनल डिजिटल लाइब्रेरी अफ इण्डियासँग ई–रिसोर्सेसको प्रयोगमा सम्झौता र सहकार्य गरिसकेको छ ।

उक्त सम्झौतानुसार एशियन विकास बैंकसँग रहेका तीन लाख रिर्सोस पुस्तक र डिजिटल लाइब्रेरीसँग रहेका चार करोड ५० लाख ई–पुस्तकालय, जर्नल, थेसिस, अडियो, भिडियोसमेत निःशुल्क पढ्न पाउने सूचना अधिकारी शर्माले जानकारी दिए ।

केन्द्रीय पुस्तकालयले ई–पुस्तकालय बनाउने

पुस्तकालयले आफ्नै छुट्टै ई–पुस्तकालयको डाटाबेस बनाउने योजना बनाएको छ । अहिले पुस्तकालयसँग चार लाख १० हजार पुस्तक छन् । प्रमुख श्रेष्ठका अनुसार स्नातकोत्तर तह, दर्शनाचार्य र विद्यावारिधि तहका शोधपत्रलाई अनलाइनमा राखी ई–पुस्तकालय निर्माण गरिने भएको छ । अहिलेसम्म दुई हजार शोधपत्र डिजिटलाइज गरिएको छ ।

पुस्तकालयले छिट्टै पुस्तक, थेसिस, डिजर्टेशन, जर्नल, रिपोर्ट तथा ऐतिहासिक दस्तावेजसहितको आफ्नै छुट्टै डिजिटल डाटाबेस बनाउने भएको छ । बौद्धिक चोरीका समस्या पटकपटक देखा परिरहेको समयमा यसलाई नियन्त्रण गर्न, तत्काल चोरी पत्ता लगाउन सजिलो हुने विश्वास प्रमुख श्रेष्ठको छ ।

Thuprai - Books and E-books