चैत मसान्तभित्र स्ववियु निर्वाचन : मन्त्री गिरीराजमणि पोखरेल

प्यूठान, ७ फागुन (रासस) : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले २०७५ सालभित्रै स्ववियु निर्वाचन गरिसक्नुपर्नेमा जोड दिनुभएको छ । 

नेपाल पत्रकार महासङ्घ प्यूठान जिल्ला शाखाले आज मङ्गलबार नयाँबजार जुम्रीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले नयाँ शैक्षिक वर्षका लागि कार्यतालिकामा सुधार गर्न सरकार लागिएकाले यही शैक्षिक वर्षभित्रै स्ववियु निर्वाचन गरेर आगामी शैक्षिक वर्ष सुधारको वर्षको रुपमा अघि बढ्नुपर्ने बताउनुभएको हो । 

उक्त कार्यक्रममा ऐन, नीति, नियम निर्माणका साथैे समाजवादउन्मुख शिक्षा प्रणाली बनाइने उहाँको भनाइ थियो । 

केही नीति पारित भएको केही निर्माणको क्रममा रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले शिक्षा क्षेत्रको विकासमा सङ्घ, प्रदेश र स्थानीय सरकारको पनि साझा जिम्मेवारी भएको बताउनुभयो । 

उच्चस्तरीय आयोग 

नेपालमा २०४६/४७ को जनआन्दोलन पछि शिक्षा प्रणालीमा व्यापारीकरण भएकाले यसको सुधारका लागि प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय शिक्षा आयोग गठनको तयारीमा सरकार रहेको उहाँले बताउनुभयो । 

शिक्षालाई श्रम, श्रमलाई सीप, सीपलाई उत्पादन र उत्पादनलाई समृद्धिसँग जोड्न सरकार समाजवादउन्मुख शिक्षा नीति निर्माणका साथै ८ कक्षासम्मको परीक्षा स्थानीय तह, एसइई प्रदेश र १२ कक्षाको परीक्षा सङ्घीय सरकारले लिनेगरी व्यवस्था गर्न खोजिएको मन्त्री पोखरेलको भनाइ थियो । 

Degrees offered in nepal
Counseling
Bachelors Portal