A Levels MA

विद्यार्थीको रुचि मातृभाषामा

माथागढी गाउँपालिका–१ चिदीपानीको धैरेनीस्थित नवजागृत प्राथमिक विद्यालयमा कक्षा २ का सोनीका गाहा र आसिका गाहा लगायतका बालबालिकालाई शिक्षिका थापाले मातृभाषाका कवितालाई नेपाली खस भाषामा उल्था गरेर सुनाइरहेका थिए । विद्यार्थीहरुले शिक्षिकासँग स्थानीय मातृभाषामा कुराकानी गरिरहेका थिए । सो विद्यालयको सेवा केन्द्रअन्तर्गत मगर समुदायको बस्ती छ ।

स्थानीय मगर समुदायका बालबालिकाले मातृभाषामा अध्ययन गर्न पाउँदा घरमा नै आमाबुबासँग बसेर पढेको जस्तो अनुभूति रहेको कक्षा २ मा अध्ययनरत सोनिका गाहाले व्यक्त गर्नुभयो । घरमा हुने कुराकानी र विद्यालयमा पनि मगर भाषामा पढ्न पाउँदा खुशी लगेको आसिक थाहाको भनाइ छ ।

मातृभाषामा अध्ययन गर्न पाउँदा विद्यार्थीले पनि बुझ्न सहज हुन्छ । विद्यालयमा कक्षा १ देखि ३ सम्म मगर भाषामा पठनपाठन हुन्छ । नेपाली र अङ्ग्रेजी विषयबाहेक सबै विषय मगर भाषामा पठनपाठन हुन्छ । शिक्षिका थापाले मातृभाषमा पढाइ हुन थालेपछि बालबालिकाले पहिलेभन्दा अहिले सहज रुपमा बुभ्mन थालेको बताउनुभयो । उहाँका अनुसार मातृभाषामा पठनपाठन गराउँदा शुरुमा केही समस्या भएपछि अहिले शिक्षक र विद्यार्थीमा राम्रो सम्बन्ध विस्तार भएको छ ।

मगर समुदायका बालबालिकालाई मातृभाषामा पठनपाठन हुन थालेपछि विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्न थालेको छ । घरमा आमाबुबा, दाजुभाइ, दिदीबहिनीसँग बोलिने भाषामा विद्यालयमा बोलचाल र लेखपढ गर्न पाएपछि पढाइप्रति विद्यार्थी खुशी भएका छन् । स्थानीय मगर भाषामा घरमा आमाबुबासँग जे बोलिन्छ, त्यही भाषामा शिक्षकशिक्षिकाले फलफूल, खाना लगायतका स्थानीय वस्तुहरुलाई बुझाउन सजिलो हुँदै आएको छ ।

पहिला खाजा खाने समयमा विद्यालयबाट घरमा गएका नानीबाबुहरु पुनः विद्यालय फर्किने चलन थिएन । अहिले स्थानीय भाषामा पठनपाठन हुँदा विद्यार्थी नियमित हुँदै गएको विद्यालयका प्रधानाध्यापक गोपीकृष्ण आचार्यले बताउनुभयो ।

मगर विद्यार्थीको बाहुल्यता रहेको सो विद्यालयमा स्थानीय पाठ्यक्रमका रुपमा मगर भाषाको पढाइ हुँदै आएको छ । स्थानीयरुपमा मगर समुदाय बढी भएकाले विद्यालयले १ देखि ३ कक्षासम्म मगर भाषामा पढाएको हो । स्थानीय मगर समुदायका विद्यार्थीसँगै अरू जातिका विद्यार्थी पनि मगर भाषामा रमाएर पढिरहेका छन् ।

प्रधानाध्यापक आचार्यका अनुसार २०६५ सालदेखि विद्यालयमा मगर भाषामा पठनपाठन हुन थालेको हो । विद्यालयकी शिक्षिका मना थापा मगरले कक्षा ३ सम्म पुस्तक लेख्नुभएको हो । नेपाल सरकारको सहयोगमा मगर भाषाको पाठ्यक्रम, पाठ्यपुस्तक तयार गरिएको हो ।

नेपालको संविधान २०७२ मा मातृभाषामा शिक्षण गर्ने व्यवस्था छ । संविधानले गरेको व्यवस्थाअनुसार पाठ्यक्रम तयार गरी मातृभाषामा पढाउन थालेपछि विद्यालयमा विद्यार्थी बढेको प्रधानाध्यापक आचार्यको भनाइ छ ।

सो विद्यालयको बालकक्षामा सात, कक्षा १ मा १४, कक्षा २ मा ६, कक्षा ३ मा आठ, ४ मा पाँच र ५ मा आठ गरी ४८ जना विद्यार्थी मातृभाषमा अध्ययन गर्दै आएका छन् । मातृभाषाको पठनपाठनले सिकाइ उपलब्धि सुधार आएको प्रधानाध्यापक आचार्यको दाबी छ । पाल्पा मगर समुदायको बाहुल्यता रहेको जिल्ला हो ।

Thuprai - Books and E-books