After SEE Portal

दुर्गमका परीक्षार्थीलाई घर फर्कन सकस

Bridge Course

मुलुकभर आजदेखि हुने भनिएको माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगनले दुर्गमका परीक्षार्थीलाई घर फर्कन सकस भएको छ । 

परीक्षा दिन भनेर लत्ताकपडा, खाना खर्चसहित केही पैसा जोहो गरेका उनीहरु बुधबार आ–आफ्ना परीक्षा केन्द्रमा पुगिसकेका थिए ।

परीक्षा स्थगित भएको कुरा सम्बन्धित केन्द्रका केन्द्राध्यक्ष र स्थानीय तहका सरकार प्रमुखलाई थाहा भए पनि सबै परीक्षार्थीमा त्यो खबर पुगिसकेको थिएन । स्थगनको खबर नपाएका परीक्षार्थी आज बिहान परीक्षा केन्द्रमा पुगेका जुम्ला कालिका मावि तलिकुडु परीक्षा केन्द्रका केन्द्राध्यक्ष मानबहादुर सिंहले जानकारी दिनुभयो । “आज बिहान ७ः०० बजे परीक्षार्थी परीक्षा केन्द्रमा पुगेका थिए”, केन्द्राध्यक्ष सिंहले भन्नुभयो, “परीक्षा स्थगित भइसकेको छ, घर फिर्ता भइहाल भन्दा उनीहरुले पत्याएनन्, प्रमुख जिल्ला अधिकारीले पठाएको परीक्षा स्थगितको सन्देश र अखबारमा आएका समाचार देखाएपछि मात्र उनीहरुले विश्वास माने ।”

खाना खर्च, लत्ताकपडा बोकेर आएका उनीहरुलाई हिउँ छिचोलेर घर कसरी फर्कने भन्ने कुराले पिरोलेको उहाँले बताउनुभयो । स्थगन परीक्षाको मारमा विकट हिमाली जिल्ला हुम्ला, डोल्पा, मुगु र कालिकोट परीक्षार्थी परेका छन् । कर्णालीका १० जिल्लाका १७६ परीक्षा केन्द्र सबैमा फोन सम्पर्क हुनसकेको छैन । 

यद्यपि प्रहरी प्रशासनको संयन्त्रहरुबाट सबै परीक्षा केन्द्रमा फोन, सन्देश र सुरक्षाकर्मीको सेटबाट खबर पठाइसकिएको शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निमित्त निर्देशक दीपा हमालले जानकारी दिनुभयो ।“आज बिहान कर्णाली प्रदेशका केही परीक्षा केन्द्रमा पुगेका परीक्षार्थीलाई सम्झाइबुझाई पठाउने काम भएको छ”, उहाँले भन्नुभयो, “केन्द्रबाट विज्ञप्ति जारी भइसकेको र गृह मन्त्रालयले निर्देशन दिइसकेकाले अब सम्भवतः उनीहरुलाई द्विविधा नहोला ।” उहाँका अनुसार परीक्षा केन्द्रमा पुगेका परीक्षार्थी घरतर्फ फर्कँदैछन् ।

खासगरी हिउँको बाटो पन्छाउँदै एक दिन लगाएर परीक्षा केन्द्रमा पुगेका परीक्षार्थीलाई घर फर्कन पिरलो भएको नेपाल पत्रकार महासङ्घ शाखा जुम्लाका अध्यक्ष बरमबहादुर महतले बताउनुभयो । यसबाट आर्थिक अवस्था कमजोर भएका र घरदेखि घण्टौँ लगाएर पैदल हुँदै परीक्षा दिने परीक्षार्थीलाई दोब्बर भार भएको उहाँले जनाउनुभयो । तथापि कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिने जोखिमबाट सबैलाई होशियारी अपनाउन सरकारले गरेको निर्णय उपयुक्त भएको उहाँको भनाइ थियो ।

सरस्वती मावि कुडारी जुम्ला केन्द्रका परीक्षार्थी उषा शाहीले स्थगन परीक्षाले अलपत्र पारेजस्तो महसुस भए पनि स्थगनको कारण बुझ्दा आफुहरुकै लागि रहेछ भन्ने अवगत भएको बताउनुभयो । उहाँका अनुसार धेरै टाढाबाट परीक्षा दिन आएका विकट गाउँका परीक्षार्थीलाई आउन र जान निकै दुःख भएको छ । यस वर्षको एसइई परीक्षामा कर्णाली प्रदेशबाट जम्मा ३६ हजार २९९ परीक्षार्थी सहभागी हुँदै थिए । 

A Levels MA
Thuprai - Books and E-books