After SEE Portal

६ महिनापछि विद्यालय जान पाउँदा मख्ख केराबारीका विद्यार्थी

Bridge Course

मोरंगको केराबारी १ को बुद्ध माध्यमिक विद्यालयमामा आजभोलि दैनिक १२५ जना विद्यार्थी विद्यालयमा उपस्थिति हुने गरेका छन् । ५०० विद्यार्थी अध्ययनरत सो विद्यालयमा कोरोनाको संक्रमणपछि आजभोलि नियमित कक्षा तालिका बनाइ १२५ जना विद्यार्थी मात्र उपस्थित हुने गरेका छन् । गत चैत्रको पहिलो हप्तादेखि कोरोनाको कारण स्थगित गरेका विद्यालयका शैक्षिक कार्यक्रम पुन सञ्चालन भई विद्यार्थी कक्षाकोठामा नै भौतिक दुरी कायम गरी अध्ययन गर्न पाउँदा अहिले खुसी छन् ।

विद्यालयको प्राङ्गणमा प्रफुल्ल मुद्रामा मास्क, फेससिल्ड लगाएर उभिएकी कक्षा १० मा अध्ययनरत दुर्गा बराललाई केही दिन अगाडि सम्म जस्तो कोरोनाको त्रास अहिले छैन । किनकि उनलाई अहिले विद्यालयमा साथीभाइ शिक्षक सबैलाई देख्दा सामान्य जस्तै लाग्न थालेको छ । ‘हामीले पनि कोरोनाको बारेमा टिभी तथा युट्बमा हेरे बुझ्ने गरेका छौं, त्यसैले स्वास्थ्य सुरक्षाका सबै विधि अपनाएर पढ्न पाउँदा खुसी लागेको छ ।’ उनले भनिन्, ‘विद्यालयनै टेक्ननै नपाइएला जस्तो लागेको बेला पढ्न पाउँदा अब जस्तोसुकै अवस्थामा पनि पढ्न पाउनेमा ढुक्क छु ।’

सो विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमा नै एक हप्ताअघिदेखि पठनपाठन शुरु गरिएको छ । कक्षा १० सम्म पठनपाठन गराउँदै आएको विद्यालयमा दैनिक ३ वटा कक्षाका ७ वटै घण्टी पढाई हुने गरेका छन् । सानो र ठुलो कक्षा मिलाएर मल्टिमिडियाको प्रयोग गरी विद्यार्थीलाई नागवेली आकारमा आईसोलेटेड स्टाइलको बसाइ व्यवस्थापन गरी विद्यालयले पठनपाठन गराउन थालेको प्रधानाध्यापक छवि धमलाले बताए । ‘हामीले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय अपनाएर पठानपाठन शुरु गरेका हौं ।’ उनले भने, ‘हामीले सबै विद्यार्थीलाई मास्क, फेससिल्ड, साबुन पानी र सेनिटाइजरको व्यवस्थापन गरेर विद्यालयमा बोलाएका हौं ।’

छोराछोरी घरमा भन्दा विद्यालयमा सुरक्षित हुने अभिभावक बताउँछन् । सुरक्षा सावधानी अपनाएर बिद्यालय सञ्चालन हुँदा विद्यार्थीमा संक्रमणको डर नहुने अभिभावकको भनाइ छ ।

विद्यालयले दैनिक सञ्चालन हुने कक्षा सूची तयार गरेको छ । एक दिन विद्यालय आएपछि त्यो विद्यार्थी ५ दिन पछि आउने गरि विद्यालयले पठन पाठनको तालिका बनाएको छ । विद्यार्थीलाई ५ दिनको गृहकार्य दिईने गरिएको शिक्षक कञ्चन बुढाथोकीले बताए ।

विद्यालयले लकडाउन लगत्तै अनलाईन कक्षा शुरु गरेपनि सवै विद्यार्थीको पहुँच नपुगेपछि टोल–टोलमा विद्यार्थी भेला गराएर समेत पढाउँदै आएको थियो । अनलाईन र टोल–टोलमा गरिएको कक्षापनि प्रभावकारी नभएपछि विद्यार्थीको उपस्थितिमा विद्यालयबाटै कक्षा शुरु गरिएको उनको भनाई छ ।

गाउँपालिका भित्रको मछिन्द्र माविमा क्वारेन्टिन छ । सो विद्यालयको क्वारेन्टिन दशैं अगाडि हटाउने विकल्प नभएको गाउँपालिकाले जानकारी दियो । बुद्ध मावि मात्र होइन आजदेखि स्थानीय लक्ष्मी माविले पनि भौतिक उपस्थितिमा नै पठनपाठन सुरु गरेको गाउँ शिक्षा शाखाले जानकारी दियो । गाउँपालिका भित्रका पहाडि क्षेत्रका विद्यालयले पनि पालोपालो कक्षा सञ्चालन गर्ने तयारी गरिरहेका छन् । भौगोलिक रुपमा विषम भएका कारण गाउँपालिकाले १२ वटा सिकाइ केन्द्र स्थापना गरेर समूहमा सहजीकरण गर्ने तयारी गरिरहेको शिक्षा शाखा प्रमुख अजुर्न घिमिरेले बताए ।

गाउँपालिकामा वैकल्पिक सिकाइ सहजीकरणको पहुँचमा अत्यन्तै न्यून छ । भौलिक अवस्था पहाड तथा मधेश दुवै खालको भएका कारण गाउँपालिका बालबालिकाको पठनपाठनका तरिकाको खोजीमा अहिले गाउँपालिका जुटेको छ । आजमात्र गाउँपालिकाले सिकाइ सहजीकरणका लागि कसरी अघि बढ्ने भन्ने विषयलाई लिएर सर्वदलीय तथा स्थानीय शिक्षाविद्हरुसंग छलफल गरेको प्रमुख घिमिरेले बताए । ‘एक बेन्चमा एक विद्यार्थी राखेर आलोपालो शिक्षण गराउनु पर्ने सुझाव आएको छ त्यैका आधारमा सबै विद्यालयलाई १५ गते सम्म कार्ययोजना पेश गर्न भनेका छौं ।’ प्रमुख घिमिरेले भने, ‘तीन प्रतिशत मात्र विदार्थी वैकल्पिक सिकाइको पहुँचमा भएको र गाउँपालिकाभित्र सक्रिय संक्रमति नदेखिएसम्मका लागि भौतिक दुरीमा पठनपाठन गराउन विद्यालय आफै जागरुक भएर लाग्नु भएको छ ।’

स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्नका लागि गाउँपालिकासँग छलफल गरेर कक्षा शुरु गरिएको बुद्ध माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष भूपालमानसिंह कार्कीले बताए । केराबारी कोरोनामुक्त स्थानीय तह भएको र हाल संक्रमण नदेखिएकाले पठनपाठन सञ्चालन गर्नुपर्नेमा गाउँपालिकामा जोड दिएको उनले जानकारी दिए । विद्यालय सञ्चालन नहुँदा विद्यार्थी सामाजिक सञ्जालमा बढी झुम्मिन थालेको हुनाले अभिभावकहरुसँग सल्लाह गरेर विद्यालय सञ्चालनको निर्णयमा पुगिएको उनले बताए ।

केराबारी बाहिरबाट आउने शिक्षकको पीसीआर परीक्षण गरेर विद्यालय नजिकै कोठा भाडा लिएर बस्नु पर्ने विद्यालय व्यवस्थापन समितिबाट निर्णय गरिएको अध्यक्ष कार्कीले जानकारी दिए ।

गाउँपालिका भित्र ३८ वटा समुदायिक विद्यालय र ७ वटा संस्थागत विद्यालय सञ्चालनमा छन् । आफ्नो पालिकाभित्र सक्रिय संक्रमित अहिलेसम्म फेला नपरेको हुँदा स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय अपनाएर आलोपालो कक्षा सञ्चालनको तयारीमा गाउँपालिका जुटेको प्रमुख घिमिरेले जानकारी दिए ।

A Levels MA
Thuprai - Books and E-books