CMAT

काठमाडौं महानगरका विद्यार्थीलाई स्थानीय भाषाको पाठ्यक्रम निल्नु नओकल्नु

Thuprai - Books and E-books

काठमाडौं महानगरपालिकाले तामझामका साथ लाग गरेको स्थानीय भाषाको पाठ्यक्रम चुनौतीपूर्ण देखिएको छ ।

महानगरपालिकाले सुझाव संकलन गोष्ठी विभिन्न कार्याशाला जस्ता तामझामपूर्ण तरिकाले करिब साढे दुई वर्ष लगाएर तयार गरेको स्थानीय भाषाको पाठ्यक्रम कार्यान्वयनमा चुनौती देखिएको भाषाविद्हरुले टिप्पणी गरेका छन् ।

महानगरले चालु शैक्षिक सत्र बाट आधारभूत तहको स्थानीय पाठ्यपुस्तक तथा पाठ्यक्रम ‘येँ देय् म्हसीके’ (काठमाडौं चिनौं) तयार गर्यो ।कक्षा एक देखि आठसम्म  लागु हुने भनिएको स्थानीय भाषाको पाठ्यक्रम यो वर्षका लागि कक्षा चारसम्म मात्र लागु हुने भएको छ ।

महानगरभित्र ९२ वटा सामुदायिक विद्यालय मध्ये ८६ वटा साधारण, ३ वटा विशेष र ३ वटा विद्यालय बन्दीका लागि छन् । संस्थागत विद्यालयको संख्या ६४० छ ।

कक्षा १ देखि ३ सम्म १०० पूर्णाङ्ककै प्रयोगात्मक पाठ्यक्रम राखिएको छ । कक्षा ४ र ५ का लागि ७५ पूर्णाङकको प्रयोगात्मक र २५ पूर्णाङ्को सैद्धान्तिक कोर्स तयार गरेको छ ।त्यस्तै  कक्षा ६, ७ र ८ का लागि ५० पूर्णाङ्कको सैद्धान्तिक र ५० पूर्णाङ्कको प्रयोगात्मक पूर्णाङ्क निर्धारण गरेर महानगरले पाठ्क्रम तयार गरेको हो ।

कोभिड १९ कारण यो वर्ष शैक्षिक सत्र दुई महिना पर सरेको छ । दुई महिना पर सरे पनि चालु शैक्षिक सत्रमा पढाइ हुन बाँकी  समय दुई महिना मात्र  छ । शनिवार र सार्वजनिक बिदा कटाएर सहज भएमा लगभग ५० दिन मात्र बालबालिकाले कक्षामा पढ्न पाउनेछन् ।

आधारभूत तह कक्षा १ देखि कक्षा ८ सम्म यसै वर्षदेखि लागु हुने भनिएको यो पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक अहिलेसम्म कक्षा चारसम्म मात्र तयार भएको छ । तयार भएको अधिकांश पाठ्यपुस्तक सबै विद्यालयमा पुगेकै छैन ।

सो पाठ्यपुस्तक विद्यालयमा पुगेर सहजकर्ताले पढाउन सुरु गर्दा शैक्षिक सत्र सकिने हुँदा आन्तरिक मूल्याङ्कनका आधारमा यो वर्ष नम्बर दिएर आगामी शैक्षिक वर्षदेखि मात्र कक्षाकोठामा कार्यान्वयन गराइने विमोचन कार्यक्रममा सहभागी एक शिक्षकले बताए ।

पाठ्यक्रम कार्यान्वयन सहज होला त ?

आधारभूत तहका सबै कक्षामा लागु गर्नै पर्ने भनिएको पाठ्यपुस्तक अहिले सम्म तल्ला कक्षाका लागि मात्र निर्माण गरिएको छ । एकतिर पाठ्यक्रम निर्माणमा नै लामो समय लागेको छ । भने अर्को तर्फ पढाउने सहजकर्ता नभएर महानगरले एकै पटक १७२ जना सहजकर्तालाई हालै नियुक्त गरेको छ ।  सहजकर्ता चैत्र १५ गते सम्म मात्र विद्यालयमा पुग्छन् । बाँकी रहेको एक महिनामा ती सहजकर्ताले सिकाएको कति बालबालिकाले बुझ्छन् हेर्न विषय बनेको छ ।

महानगरपालिकाले आफु मातहत रहेका सम्पूर्ण सामुदायिक र निजी विद्यालयहरूमा यसै वर्षदेखि उक्त पाठ्यपुस्तक पठनपाठन गर्ने गराउने निर्देशन जारी गरिसकेको छ ।

कस्ता विद्यार्थी पढ्छन् महानगरका विद्यालयमा ?

महानगरका सबै सामुदायिक विद्यालयको स्थलगत अध्ययन गर्ने हो भने  नेपाल भाषा मातृभाषी भएका विद्यार्थी औँलामा गन्न सकिने छन् । सामुदायिक विद्यालयमा ८० प्रतिशत बालबालिका काठमाडौं जिल्ला बाहिरका छन् । वैदेशिक रोजगार तथा रोजगारी र ज्यालामजदुरी गर्दै आएका बाबुआमाका छोराछोरीको बाहुल्यता सामुदायिक विद्यालयमा देखिन्छ ।

इतर मातृ भाषी विद्यार्थीका लागि यो भाषा सिकाइ दोस्रो भाषा सिकाइभन्दा कठिन हुन्छ । एउटै भाषा परिवारको भाषा सिक्न बालबालिकालाई सहज हुने तर फरक समूहको भाषा दोस्रो वा तेस्रो भाषाको रुपमा सिक्न कठिन हुने भाषविद् प्राडा हेमांगराज अधिकारी बताउँछन् । ‘आमाको काखमा बालबालिकाले एउटा भाषा सिक्छ फेरी विद्यालयमा गएपछि दोस्रो भाषाको रुपमा बालबालिकालाई लादेर नै अङ्ग्रेजी सिक्छन् तेस्रो भाषाको रुपमा नेपाल भाषा सिक्ने विद्यार्थीलाई भने चुनौतीपूर्ण हुन्छ’ उनले सुझाए ।

सामुदायिक विद्यालयमा भन्दा नेपाल भाषा मातृभाषा भएका विद्यार्थीको संख्या संस्थागत विद्यालयमा बढी छ । संस्थागत विद्यालय यो पाठ्यक्रम लागु गर्ने कि नगर्ने भन्ने अन्योलबाट विद्यालय बाहिर निस्कन नसकेको बेला महानगरले लादेर यो पाठ्यक्रम लागु गरेको संस्थागत विद्यालय सञ्चालकहरुको गुनासो छ ।

नेपालको संविधानको भाग ३ मौलिक हक अन्तर्गत धारा ३२ को उपधारा (२) र (३) मा मुलुकको हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा स्थानीय पाठ्यक्रमका रूपमा आफैँले एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिकाले सोही व्यवस्था अन्तर्गत यो पाठ्यपुस्तक तयार गरेको हो ।

तर मातृभाषी विद्यार्थी कम भएको पालिका भित्र स्थानीय भाषामा पाठ्यक्रम लागु गर्नु चुनौतीपूर्ण हुने अर्का भाषाविद् प्राडा धनप्रसाद सुवेदी बताउँछन् ।

सहकर्ताको कक्षा अवलोकन गर्न सक्छन्  प्रधानाध्यापकले ?

महानगरका सबै विद्यालयमा नेपालभाषा मातृभाषा भएका शिक्षकहरु न्यून छन् । अधिकांश विद्यालयमा इतर भाषी प्रधानाध्यापक छन् । ती प्रधानाध्यापकका लागि नेपाल भाषाको पाठ्क्रमको कक्षा अवालेकन गर्न सम्भव देखिँदैन र छैन पनि । प्रधानाध्यापकले अवलोकन नै नगरेको कक्षा नवीनतम सिकाइका लागि कति प्रभावकारी होला ? कस्ता क्षमता भएका विद्यार्थी उत्पादन होलान् सोच्ने विषय बनेको छ ।

औपचारिक कार्यक्रमबिच पाठ्यपुस्तक विमोचन

गत शुक्रबार कक्षा एक देखि ४ सम्मको मात्र पाठ्यक्रम विमोचन गरियो । लामो समयदेखि कक्षा एक देखि आठ सम्म अनिवार्य नेपाल भाषाको पाठ्यक्रम लागु गर्नै पर्ने उर्जी जारी गर्दै आएको महानगरले आधारभूत तहको तल्ला कक्षाका मात्र पाठ्यपुस्तक विमोचन गरेको हो ।

महानगरपालिकाको शिक्षा विभागले आयोजना गरेको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले तामझामका साथसंयुक्त रुपमा पुस्तकको विमोचन गरे ।

विमोचन कार्यक्रमलाई सम्बोधन गदै शिक्षा मन्त्री श्रेष्ठले काठमाडौँ महानगरपालिकाले स्थानीय शिक्षाको क्षेत्रमा ऐतिहासिक र साहसिक काम गरेको धारणा व्यक्त गरे ।

प्रमुख शाक्यले क्वहिटी, थँहिटी जस्ता रैथाने शब्दहरू अरु भाषामा बुझाउन सकिँदैन, ती कुराहरूलाई बुझ्ने मात्र होइन विद्यार्थीहरूले त्यसलाई आत्मसात समेत गर्न सकुन् भन्ने उद्देश्यले त्यस्ता स्थानहरूको अवलोकन भ्रमणसहित स्थानीय भाषामै पढाउने गरी पाठ्यक्रम तयार पारेको जानकारी दिए ।

यस्तै उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले स्थानीय गुठी–परम्परा, जात्रा–पर्वलगायतका बारेमा विदेशमा जानकारी दिनलाई शिक्षा उपयोगी हुने बताइन् ।

I Tech store