A Levels MA

छात्रवृत्ति हुँदा पनि संस्कृत अध्ययनमा विद्यार्थी आएनन्

भीमदत्तनगर, २९ भदौ (रासस): अध्ययनका लागि छात्रवृत्तिदेखि आवाससम्मका सुविधान प्रदान गर्दा पनि कञ्चनपुरमा संस्कृत अध्ययनप्रति विद्यार्थीको आकर्षण घट्दै गइरहेको छ ।भीमदत्तनगरमा अढाइ दशकअघि स्थापना भएको शारदा विद्यापीठमा पछिल्ला वर्षमा विद्यार्थीको चाप घट्दै गइरहेको छ ।उक्त विद्यापीठका प्राचार्य भोजराज जोशीले संस्कृत अध्ययनका लागि छात्रवृत्तिलगायत अन्य सुविधा उपलब्ध गराइए पनि युवा पुस्ता त्यसतर्फ आकर्षित हुन नसकेको बताउनुभयो ।“हामीले संस्कृतसँगै यहाँ आयुर्वेद क्याम्पस बनाउन पनि निकै पहल गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “यहाँ पर्याप्त भौतिक संरचना हुँदा पनि आयुर्वेद शिक्षाका लागि सम्वन्धन पाउन सकिएको छैन । ”

यो विषय अध्ययनपछि रोजगारीका अवसर सिर्जना नहुनाका साथै लोकसेवाबाट पनि संस्कृतलाई हटाइएकाले विद्यार्थीको आकर्षण घटेको प्राचार्य जोशीको भनाइ थियो ।“संस्कृतलाई राज्यले नै प्राथमिकतामा राखेन”, उहाँले भन्नुभयो,“संस्कृत समाजको सम्पति हो ।”आर्थिक वर्ष २०७२÷०७३ संस्कृततर्फ ४० र एकवर्षे बिएडतर्फ ५५ विद्यार्थी अध्ययनरत रहेकामा २०७३÷०७४ मा संस्कृतमा ४४ एकवर्षे बिएड ६० ले अध्ययन गरेका थिए । गत आर्थिक वर्षमा शास्त्रीमा ४० विद्यार्थी भर्ना भएको प्राचार्य जोशीले जानकारी दिनुभयो ।“कर्मकाण्ड प्रशिक्षण, शास्त्री अध्ययनका लागि अहिले १९ विद्यार्थी मात्रै भर्ना भएका छन्”, उहाँले भन्नुभयो, “स्थानीय सरकारले पनि संस्कृत अध्यापनका लागि आवश्यक पहल गर्नुपर्ने जरुरी भइसकेको छ ।”

उक्त विद्यापीठमा दलित तथा आदिवासी जनजाति समुदायका विद्यार्थीलाई पनि संस्कृत अध्ययनका लागि छात्रवृत्ति रहेपनि त्यस्ता समुदायका विद्यार्थी प्राय भर्ना हुन आउँदैनन् ।“अहिले एक दलित समुदायका विद्यार्थी शास्त्री अध्ययन सकेर आचार्य पढ्न दाङ लागेका छन्”, प्राचार्य जोशीले भन्नुभयो,“चौधरी समुदायका दुई छात्रा यहाँ अध्ययनरत छन् ।”

विद्यापीठमा संस्कृत अध्ययनका लागि आउने दलित समुदायका विद्यार्थीलाई मासिक रु एक हजार ८००, महिलालाई मासिक रु दुई हजार र ब्राह्मण÷क्षेत्रीलाई मासिक रु एक हजार प्रतिविद्यार्थी छात्रवृति दिने गरिएको उहाँले जानकारी गराउनुभयोे ।उक्त विद्यापीठमा ११ प्राध्यापक र छ आंशिक शिक्षक गरी १७ जनाले अध्यापन गराउँछन् ।

त्यसैगरी यहाँको शिवधाम गुरुकुल आधारभूत विद्यालयले पनि हालैदेखि भीमदत्तनगरमा कक्षा–६देखि संस्कृत अध्यापन शुरु गरेको छ ।“कक्षा बढाउँदै लैजाने योजनामा छौँ”, विद्यालयका प्राधानाध्यापक हरिकृष्ण ओझाले भन्नुभयो, “अहिले कक्षा–६ मा १५ विद्यार्थी संस्कृत पढ्दैछन् ।”

द्वन्दकालका कारण केही समय संस्कृत अध्ययन–अध्यापनमा असर परेपनि संस्कृतप्रति विद्यार्थीको आकर्षण बढ्नेमा आफू आशावादी रहेको उहाँले बताउनुभयो ।“सरकारले पनि संस्कृत विद्यालाई विशेषरुपमा लिएर अगाडि बढाउन सहयोग गर्नुपर्छ”, प्राधानाध्यापक ओझाले रासससित भन्नुभयो, “हाम्रो स्कूलले उच्च शिक्षासम्म संस्कृत अध्ययनलाई बढाउने योजना बनाएको छ ।”

Thuprai - Books and E-books