त्रिभुवन विश्वविद्यालयले प्राविधिक धारको बीएस्सी इन हर्टिकल्चर' (बागबानी) विषयको कोर्स २०६९ सालदेखि इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा सञ्चालनमा ल्याएको भएपनि उक्त कोर्समा विद्यार्थीको आकर्षण क्रमशः घट्दै गएको छ ।
चार वर्षको स्नातक तहमा विद्यार्थीले जम्मा आठ सेमेष्टर पढ्दै आएका छन् । यो विषयमा पहिलो ब्याच देखि पाचौं ब्याचसम्म प्रत्यक सेमेष्टारमा ३०/३० जना विद्यार्थी थिए । छैटौ ब्याचमा यो विषयमा विद्यार्थीको आकर्षण बढेर ५० जना हुन पुग्यो । तर यो कार्यक्रमले धेरै समय विद्यार्थीको आकर्षण थेग्न सकेन । सातौँ ब्याचमा २२, आठौ ब्याचमा ८ जना विद्यार्थी भर्ना भए तर नवौँ ब्याचसम्म आइपुग्दा विद्यार्थी संख्या घट्दै शून्य हुन पुग्यो ।
चार बर्षे बीएस्सी बागवानीमा विज्ञता हासिल गराई विशेष गरी पहाडी अर्थव्यवस्थामा बागवानी र फलोरीकल्चरको विकास गर्ने, जनताको बढ्दो कृषि निर्भरतालाई आधुनिकीकरण गरी स्वरोजगार जनशक्ति उत्पादन गर्ने उद्देश्यले सञ्चालन भएको यो विषयका जनशक्ति अहिले सार्वजनिक सेवामा प्रवेश गर्नबाट बञ्चित भएका छन् ।
बीएस्सी इन हर्टिकल्चर' (बागबानी) अध्ययन गरेका विद्यार्थी सम्बन्धित विषयको बाली विज्ञान, बाली संरक्षण, कृषि प्रसार, माटो विज्ञान जस्ता क्षेत्रमा लोक सेवा आयोगले लिने परीक्षा दिनबाट बञ्चित भएका हुन् ।
महेन्द्र रत्न क्याम्पसबाट बागबानी विषयमा उत्पादन भएका जनशक्तिलाई अहिले लोकसेवा आयोगले लिने बागबानी अधिकृतका लागि लिइने परीक्षामा मात्र सहभागी गराइँदै आएको छ । विद्यार्थी आफूहरुले पढेको बीएस्सी इन हर्टिकल्चरसंग सम्बन्धित पाँचै क्षेत्रमा प्रवेश गर्न पाउनु पर्छ भन्दै आन्दोलित भएका छन् । उक्त क्याम्पसबाटै तेस्रो ब्याचमा बीएस्सी इन हर्टिकल्चरको डिग्री हासिल गरेका विद्यार्थी किशोर अचार्यको संयोजकत्वमा ११ सदस्यीय संर्घष समितिको गठन गरिएको छ । ‘त्रिविले सेवाका क्षेत्र र सम्भाव्यता अध्ययनर गरेर सञ्चालनमा ल्याएको डिग्रीले विद्यार्थीलाई अलपत्र पार्नुहुन्न ।’ संघर्ष समितिका संयोजक अचार्यले भने, ‘विश्वविद्यालय, लोक सेवा आयोग र सरकारको ध्यानाकर्षण गराउन संघर्षमा उत्रिएका हौं ।’
क्याम्पसबाट अहिलेसम्म २३० जनाले डिग्री हासिल गरिसकेका छन् । अहिले आठै सेमेस्टरमा करिब १२० जना विद्यार्थी अध्यनरत रहेका छन् । एकतिर देश कृषिमा निर्भर छ अर्कोतिर कृषिलाई आधुनिकीकरण गरी देशले आर्थिक संवृद्धि हासिल गर्ने प्रशस्त संभावना बोकेको यो विषय ओझेलमा परिरहेको छ । तर सम्बन्धित निकाय मौन छ । यसको विस्तार र विकास गर्नुभन्दा विश्वविद्यालयले यसलाई फेजआउट गर्नतर्फ लागेको आशंका विद्यार्थीको छ । विद्यार्थीले विषय छनोट गर्नुपूर्व उक्त विषयमा आफ्नो भविष्यको गन्तव्य देखेर नै भर्ना हुने गर्छन् तर आफूले हासिल गरेको योग्यता अनुरुप राष्ट्रका लागि सेवा गर्न नपाउँदा साह्रै मन दुख्ने २०७६ मा बीएस्सी इन हर्टिकल्चर (बागबानी) गरेकी छात्रा मीना बस्नेत बताउँछिन् । उनी अहिले आफू हर्टिकल्चरबाहेकको सेवा क्षेत्रमा सार्वजनिक सेवा प्रवेश गर्ने इच्छा भएपनि प्रवेश गर्न नपाएको हुनाले यसै क्षेत्रमा सार्वजनिक सेवा प्रवेश गरिसकेको बताउँछिन् ।
हर्टिकल्चर पढेका विद्यार्थीले पाँच विषयमा क्रेडिट आवर कृषि नै भनेर पढेका हुन्छन् । अन्य विषय पढेका विद्यार्थीको जत्तिकै क्रेडिट आवर दिएर हर्टिकल्चरका विद्यार्थीले पनि ती विषयको अध्ययन तथा अनुसन्धान गरेको विद्यार्थी संघर्ष समितिका उपाध्यक्ष एलिजा घिमिरे बताउँछिन् । ‘हर्टिकल्चरसहित माटो विज्ञान, कृषि प्रसार, बाली संरक्षण र बाली विज्ञानमा तोकिए बमोजिम क्रेडिट आवर पढ्नुपर्छ ।’ उनी भन्छिन्, ‘तर सार्वजनिक सेवा प्रवेश भने हर्टिकल्चरमा मात्र पाइन्छ, हामीलाई पाँचै विषयमा अध्ययन अनुसन्धान गरपछि मात्र विश्वविद्यालयले डिग्री प्रदान गरेको हुनाले सबै विषयमा लोक सेवा आयोगले लिने परीक्षामा सामेल हुनु पाउनुपर्छ भन्ने हाम्रो मुख्य मुद्दा हो तर राज्यले धोका दिएर अन्य सेवा क्षेत्रमा प्रवेश गर्नै दिँदैन ।’
हर्टिकल्चरको कोर्स पुरा गर्न विद्यार्थीलाई करिब चार वर्ष वार्षिक एक लाखका दरले चार लाख लाग्छ तर समयमा आफूले रोजेको विषयले रोजगार प्रदान गर्न नसकेपछि परिवारको टोकसो समेत सहनु परेको विद्यार्थीको गुनासो छ ।
क्याम्पसका पदाधिकारीले भने आफूले उत्पादन गरेका जनशक्तिलाई पाँचै क्षेत्रमा राज्यले सेवा प्रवेशको अवसर दिनुपर्छ भनेर पूर्व सभामुख, पूर्वप्रधानमन्त्री र वर्तमान सरकारसंग बारम्बार पाउँ जोडे पनि एउटा विषय बाहेक अन्य विषयमा सेवा प्रवेशको अवसर नदिएको जानकारी दियो ।
शैक्षिक कार्यक्रम नै बन्द भई राष्ट्रको लगानी खेर जाने संभावनाः विश्वविद्यालय
त्रिवि उपकुलपतिको कार्यलयले २०७७ पुस २६ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा त्रिविको आगिक क्याम्पस महेन्द्ररत्न क्याम्पस इलाममा चार वर्षे र आठ सेमेष्टरको बीएस्सी इन हर्टिकल्चर र फलोरीकल्चरव्यवस्थापन कार्यक्रमलाई बीएस्सी इन हर्टिकल्चर उपाधी दिएको जानकारी गराएको थियो ।
सो पत्रमा विश्वविद्यालयले क्याम्पसले विभिन्न समयमा मन्त्रालय र लोक सेवा आयोगमा गरेको पत्राचार र छलफलबाट कृषि मन्त्रालयबाट मिति २०७६मंसिर २४ मा नेपाल कृषि सेवा (गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरू, २०५० को अनुसूची ३ को राजपत्राकित तृतीय श्रेणी अन्तर्गतका कृषि प्रसार, बागबानी, बाली संरक्षण, बाली विकास र माटो विज्ञान समूहमा तोकिएको आवश्यक न्यूनतम शैक्षिक योग्यतामा बीएस्सी इन हर्टिकल्चर शैक्षिक उपाधिलाई समेत समावेश गर्न आग्रह गरेको स्मरण गराउँदै कृषि मन्त्रालयका विभिन्न विषय विज्ञहरूको बैठकले सिफारिश गरेको ५ वटा समूहहरूमध्ये लोक सेवा आयोगबाट बागबानी समूहमा मात्र समावेश गर्न सक्ने परामर्श दिने निर्णय भएको हुँदा सो निर्णयले बीएस्सी इन हर्टिकल्चरका विद्यार्थीहरूमा अन्याय हुने देखिएको अवगत गराएको थियो ।
उपकुलपति धर्मकान्तबास्कोटाले गरेको सो पत्रमा बराबर वा सो भन्दा कम क्रेडिट आवर भएको अन्य शैक्षिक योग्यतालाई समावेश गरी अन्य शैक्षिक योग्यतालाई समावेश नगर्दा समन्याय, समानता र समान हकको अधिकार समेत उल्लघन हुनुको साथै शैक्षिक कार्यक्रम नै बन्द भई राष्ट्रको लगानी र जनधनको क्षति हुने देखिएको भन्दै मन्त्रालयको ध्यानाकर्षण गराएको उपकुलपति बास्कोटाले जानकारी दिए ।
सो पत्रको बोधार्य लोक सेवा आयोग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कृषि र पशु विज्ञान अध्ययन संस्थान, महेन्द्र रत्न क्याम्पस, इलामलाई गरिएको भए पनि अहिलेसम्म थियो ।
वास्तविक समस्या के हो ?किशोर आचार्य राज्यको वेवास्ताका कारण विद्यार्थी सङ्ख्या घट्दै जानु । क्याम्पसले विद्यार्थीको भविष्य सुनिश्चितताका लागि ठोस कदम उठाउन नसक्नु नै प्रमुख समस्या हो । कृषि र पशु बिज्ञान अध्यन संथानले लिने प्रवेश परीक्षामा हाम्रो क्याम्पस भूमिका विहीन हुनु प्रमुख हुन् । क्याम्पसले यो कार्यक्रमको प्रचारप्रसारका लागि वर्षेनि बजेट छुटाएको भए पनि सही रुपमा प्रचार प्रसार हुन नसक्नु नै हो । कलेजको प्रचारप्रसार गर्न प्रवेश परिक्षाको तयारी गराइरहेका इन्सिचियुट संग समन्वयन हुन नसक्नु जस्ता कारणले विद्यार्थीको संख्या बार्षिक घट्दै गएको छ । लोकसेवा र माष्टर डिग्रीका विषयमा थप अन्योल कायमै हुनु ५ वटा विषयमा लोकसेवा आयोगमा प्रतिस्पर्धा गर्न पाउनु पर्नेमा हालसम्म एउटा बिषय बागबानीमा मात्र दिन पाइरहेको स्थिति छ। त्रिविमा सबै विषयमा पढ्न पाउने भएतापनि कृषि र बन विज्ञान विश्वविद्यालयमा एमएसी इन हर्टिकल्चर बाहेकका बिषयमा पढ्न नपाइने स्थिति छ। तसर्थ क्याम्पसले लोकसेवा र माष्टरमा नीतिगत समस्या समाधान गर्न नसक्नु नै विद्यार्थी सङख्यामा ह्रास आउनुको मुख्य कारक तत्व हो । कृषि क्याम्पसहरु च्याउ उम्रे जसरी उम्रनु, कृषिमा शैक्षिक ब्यापारीकरण दिनानुदिन बढदो क्रममा छ। नेपालमा हाल विभिन्न बिश्वबिद्यालयबाट सम्बन्धन प्राप्त कृषिमा स्नातकसम्मको अध्यन अध्यापन गराउने कलेज करीब २८ भन्दा बढि छन। कृषि क्याम्पसहरु च्याउ उम्रे जसरी उम्रिएपनि अहिलेको यो कोरोनाको विषम परिस्थितिमा विद्याथीहरु बाहिरी मुलुकमा गएर पढने स्थिति छैन् । त्यसैले क्याम्पसले विद्यार्थी आकर्षण गर्न सजिलो भएपनि सुनिस्चित गन्तव्य नहुँदा विद्यार्थी यो विषयमा शून्यमा झरेको स्थिति छ । यस्तो अवस्थामा पनि क्याम्पस प्रशासन राजनीतिक दवावमा परेर त्रिविको सम्बन्धन भन्दाबाहिर गएर पूर्वाञ्चल विश्वविद्यालयबाट नयाँ सम्बन्धन लिने चलखेलमा लाग्नु नै विद्यार्थीको भविष्यका लागि खतराको सूचक हो । |