After SEE Portal

अनलाइन कक्षा सञ्चालन गर्न माग,आन्तरिक वा वैकल्पिक मूल्याङ्कनबाटै स्तरोन्नति हुनुपर्ने

Bridge Course

त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरूले अनलाइन कक्षा तत्काल सञ्चालन गर्न माग गरेका छन् । विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीले यस्तो माग गरेका हुन् ।

त्रिविले गत बैशाखबाट प्रथम सेमेष्टरमा भर्ना भइसकेको विद्यार्थीलाई वैकल्पिक (अनलाइन) माध्यमबाट पठनपाठन सुचारु गरिसकेको छ । अन्य संकायका विभिन्न सेमेस्टरको अनलाइन कक्षा सञ्चालन भइरहेको हुँदा यो सेमेस्टरको फाइनल परीक्षाअघि विश्वविद्यालयले अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने माग राख्दै विद्यार्थीहरूले पदाधिकारी तथा डीन कार्यालयमा ज्ञापन पत्र तथा डेलिगेसन दिँदै आएका छन् ।

कोरोना संक्रमणका कारण गत चैत्र ७ गते देखि त्रिविले आफ्ना सम्पूर्ण गतिविधि स्थगित गरेपछि यो सेमेस्टरका विद्यार्थीको अन्तिम परीक्षा हुन बाँकी छ । सो सेमेस्टरका विद्यार्थीको ४० प्रतिशत सैद्धान्तिक र आन्तिरिक परीक्षा सम्पन्न भइसकेको छ भने ६० प्रतिशत सैद्धान्ति परीक्षा मात्र सञ्चालन हुन बाँकी छ । ‘हामीभन्दा माथिल्लो कक्षा र तल्ला कक्षामा अनलाइन कक्षा भइरहेको छ ।’ विज्ञान तथा प्रविधि संकायको दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी पवनकुमार आचार्यले भने, ‘हामी स्वास्थ्य सुरक्षाका दृष्टिले सुरक्षित हुँदै पढ्न चाहान्छौं, यस विषयमा हामीले त्रिवि पदाधिकारीको पटकपटक ध्यानाकर्षण गराएको भए पनि सम्बन्धित निकायले सुनेन ।’

त्रिविले लामो समय वितिसक्दा पनि दोस्रो सेमेस्टरको बारेमा निर्णय लिन नसकेको भन्दै विद्यार्थीहरूले चरणबद्ध आन्दोलन गर्दै आएका छन् । ‘हामीलाई पदाधिकारी जो जसरी नियुक्त भएपनि मतलव भएन तर हाम्रो शैक्षिक वर्ष खेर जानु भएन, पदाधिकारी तथा विभागीय प्रमुखहरू गैर जिम्मेवार हुँदा हामीले न त दोस्रो सेमेष्टरनै पुरा गर्न पायौं न त तेस्रो सेमेष्टर नै पढ्न सक्यौं ।’ अमृत साइन्स क्याम्पसमा रसायनशास्त्रमा अध्ययनरत कुलदीप जोशी भन्छन्, ‘हामीले ४० प्रतिशत सैद्धान्तिक र आन्तरिक तर्फको परीक्षा दिइसकेका छौं, बाँकी परीक्षा पनि विद्यार्थीको स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै सम्पन्न गरी तत्काल वैकल्पिक माध्यमबाट तेस्रो सेमस्टर पढ्न पाउनुपर्छ ।’

१० महिनासम्म एउटै सेमेस्टरमा विद्यार्थी

कोरोना सङ्क्रमणको संभावित जोखिमलाई ध्यानमा राख्दै सरकारको निर्देशन अनुसार त्रिविले गत चैत्र ७ गतेदेखि आफ्ना सम्पूर्ण कार्यक्रम स्थगित गर्यो । सङ्क्रमणको अवस्था लामो समयसम्म रहिरहने हुँदा त्रिविले वैशाख देखि वैकल्पिक माध्यमद्वारा पठनपाठन सुरु गर्यो ।

तर त्रिविले परीक्षा सम्बन्धी स्पष्ट नीति गत व्यवस्थापन गर्न नसक्दा विद्यार्थीहरू उपल्लो सेमस्टरको आधा कक्षा पढिसक्ने समयमा पनि एउटै सेमेस्टरमा परीक्षाको पर्खाइमा बस्न बाध्य छन् ।

वैकल्पिक व्यवस्थाको रुपमा अघि बढाइएको अनलाइन कक्षालाई व्यवस्थित गरी करीब १ लाख शिक्षक, विद्यार्थी र कर्मचारीहरूको इमेल खाता बनाई तथा करीब ४ हजार शिक्षकहरू र २०० कर्मचारीहरूलाई तालिम सञ्चालन गरी माइक्रोसफ््ट टिमबाट अनलाइन कक्षा सचालन गरिरहेएको शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले जानकारी दिए ।

विषम परिस्थितिका बावजुद त्रिविले आफ्ना दैनिक कार्य सम्पादन गरिरहेको उनले जानकारी दिए ।

भौतिक उपस्थितिमा परीक्षा सम्भव छैन

त्रिविका विभिन्न संकायका डीन कार्यालय तथा परीक्षा नियन्त्रण कार्यालयले छुट्टाछुट्टै सूचना प्रकाशित गरी परीक्षा भदौ असोजमा सक्ने निर्णय गरेपनि विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न सम्भव नहुने विद्यार्थीहरू बताउँछन् ।

कोरोनाको सङ्क्रमण तथा जोखिम सकिएको छैन । सरकारले साउन ११ गते मध्यरातदेखि लकडाउन अन्त्यको घोषणा गरेपनि सजगता अपनाउनु पर्ने कारण प्रशस्त हुँदाहुँदै भौतिक दुरी कायम गरेर अहिलेको अवस्थामा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न सम्भवनहुने विद्यार्थीहरूले बताउँदै आएका छन् ।

सरकारले लकडाउन गर्नुभन्दा अगाडि घर फर्किएका विद्यार्थी परीक्षा हलसम्म आइपुग्न समस्या हुने त्रिचन्द्र क्याम्पसमा स्नातकोत्तर तहको चौथो समेस्टरमा अध्ययनरत छात्रा सविना केसीले बताइन् । ‘विद्यार्थीको मानसिकतामा एक खालको कोरोनाको त्रास यथावत छ त्यसैले सबै विद्यार्थी परीक्षा हलसम्म आइपुग्ने सम्भावना न्यून छ ।’ उनले भनिन्, ‘हामी परीक्षा हुनुहुँदैन भन्ने पक्षमा छैनौँ, परीक्षा हुनुपर्छ, विश्वविद्यालयको शैक्षिक क्यालेण्डर पनि बिगारिनु हुँदैन, यसका लागि विश्वविद्यालयले परीक्षाका अन्य टुल्सको प्रयोग गर्नुपर्छ ।’

काठमाडौँ विश्वविद्यालय र छिमेकी देशका विश्वविद्यालयहरूले गरेको अभ्यासलाई अनुसरण गरेर आन्तरिक मूल्याङ्कनलाई आधार बनाई भौतिक उपस्थितिका सट्टामा अन्य विकल्पको प्रयोग गरी परीक्षा सञ्चालन गर्नुपर्ने विद्यार्थीको माग छ ।

सेमेष्टर प्रणाली लागु भएका विश्वका अधिकांश राष्ट्रमा सम्बन्धित विभाग र प्राध्यापकलाई आन्तरिक मूल्याङ्कनको पूर्ण जिम्मा दिने प्रचलन छ । त्रिविले पनि सोही नीतिलाई अनुसरण गरी आन्तरिक मूल्याङ्कनलाई आधार बनाई समय पुगेका सेमेष्टरको पठनपाठन समापन गर्दै उपल्लो सेमेष्टरको पठनपाठन सुचारु गर्नु पर्ने विद्यार्थी जोशी बताउँछन् ।

परीक्षा मिति सर्न सक्ने

विज्ञ सहितको समितिले सिफारिस गरेको सुझावका आधारमा त्रिविले परीक्षा कार्यक्रम अघिसारेको भए पनि परीक्षाका विषयमाभदौ दोस्रो साता मात्र निर्णय गर्ने भएको छ । ।त्रिवि परीक्षा नियन्त्रण कार्यालयले केही संकायको परीक्षा भदौको दोस्रो हप्ताबाट सञ्चालन गर्ने सूचना जारी गरेको भए पनि विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै परीक्षाको विषयमा पछि निर्णय लिने जनाएको छ ।

त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै अझै केही समय परीक्षाका विषयमा त्रिवि मौन बस्न बाध्य भएको बताए ।

पछिल्ला केही दिनमा कोरोना संक्रमितको संख्या बढ्दै गएको र बाढी पहिरोले गम्भीर असर पारेको कारण केही दिन परीक्षा सर्नसक्ने त्रिविले जानकारी दियो । त्रिविका अनुसार आन्तरिक मूल्याङ्कनबाट लिइने परीक्षा लिइसकेको हुनाले स्तरोन्ति नै गर्ने गरी त्रिविले परीक्षा लिने विषयमा सोच बनाएको छैन ।विद्यार्थीको स्वतस्फूर्त समूहले गत असार १९ गते त्रिविका पदाधिकारीहरू उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार र विज्ञान तथा प्रविधि प्रतिष्ठानको डीनलाई ज्ञापन पत्र बुझाएका थिए ।

सो ज्ञापनपत्रमा आन्तरीक मूल्याङ्कनलाई आधार बनाई अन्तिम परीक्षा बाँकी रहेको सेमेष्टरको उपल्लो सेमेष्टरमा स्नरोन्नत्तीको लागि विद्यार्थीले जोडदिएका थिए ।

सो ज्ञापनपत्रमा विज्ञ समितिले दिएको ४ वटा मोडालिटी मध्ये वर्तमान सन्दर्भमा सबैभन्दा जटिल परीक्षा प्रणालीलाई त्रिविले जोड दिनु दुखद भएको विद्यार्थीले प्रतिक्रिया दिए ।

त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को परिच्छेद ७८ मा विषय समितिको अध्यक्ष अर्थात केन्द्रीय विभागको विभागीय प्रमुखको काम, कर्तव्य र अधिकारको व्यवस्था गरिएको छ । सो नियमले अध्यक्षले सम्बन्धित विषयहरूका परीक्षाको किसिम तोक्न, हेरफेर गर्न, परीक्षा सम्बन्धी विशेष सर्तहरू र अन्य व्यवस्था गर्न अध्ययन संस्थान वा संकायमा अनुरोध पठाउने प्रावधान छ । विद्यार्थीहरूले सोही प्रावधानका आधारमा परीक्षा सञ्चालन गर्न माग गर्दै गत असार १९ गतेदेखि निरन्तर आन्दोलन गर्दै आइरहेका छन् ।

 

A Levels MA