परिच्छेद पाँच: विद्यार्थी मूल्याङ्कन तथा प्रमाणीकरण
विद्यालय शिक्षामा विद्यार्थीको मूल्याङ्कनका लागि निर्माणात्मक र निर्णयात्मक दुवै तरिकाहरू उपयोग गर्नुपर्छ । विषयवस्तुको स्वरूपअनुसार सैद्धान्तिक र प्रयोगात्मक पक्षको मूल्याङ्कन समावेश गरिने छ । शिक्षण सिकाइका क्रममा गरिने नियमित र निरन्तर मूल्याङ्कन, विद्यालयस्तरीय परीक्षाहरू र सार्वजनिक परीक्षाका आधारमा विद्यार्थीहरूको सिकाइ उपलब्धिको परीक्षण, मूल्याङ्कन र प्रमाणीकरण गरिने छ ।
५.१ आधारभूत तहमा विद्यार्थी मूल्याङ्कन
१. आधारभूत तहमा निर्णयात्मक पद्धतिभन्दा बढी निर्माणात्मक सुधारात्मक मूल्याङ्कन पद्धतिका आधारमा विद्यार्थीको सिकाइलाई सुनिश्चित गर्नुपर्ने छ । निर्माणात्मक मूल्याङ्कनको मुख्य उद्देश्य विद्यार्थीहरूको सिकाइस्तरमा सुधार गर्नु हो । यसका लागि शिक्षकले विद्यार्थीको व्यक्तिगत सिकाइ उपलब्धिका आधारमा पटक पटक सिकाइ अवसर प्रदान गर्नुपर्ने छ ।
२. विद्यालयले विद्यार्थी मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्न विद्यार्थीको व्यक्तिगत प्रगति विवरण सञ्चय गरी राख्नुपर्छ । यसलाई विद्यार्थीको कक्षाकार्य, सिकाइ क्रियाकलापमा सहभागिता, परियोजना कार्य, सिर्जनात्मक कार्य, गृहकार्य, उपलब्धि परीक्षा, हाजिरी, अनुशासन, व्यवहार परिवर्तनको अवलोकन आदिका माध्यमले अद्यावधिक गर्नुपर्ने छ । विद्यार्थीको उपलब्धिका बारेमा आवधिक रूपमा विद्यालयमा छलफल गर्ने व्यवस्था गरी र विद्यार्थीको सिकाइ सुधारका लागि आवश्यक प्रवन्ध गर्नुपर्ने छ । प्रत्येक विद्यार्थीको व्यक्तिगत प्रगति विवरण सञ्चित अभिलेख फाइलमा राख्ने व्यवस्था गर्नुपर्ने छ ।
३. आधारभूत शिक्षाको कक्षा १-३ मा पूर्ण रूपमा निरन्तर मूल्याङ्कन पद्धति अवलम्बन गरिने छ । कक्षा ४-५ मा ५० प्रतिशत भारको निरन्तर मूल्याङ्कन पद्धति र ५० प्रतिशत भारको आवधिक परीक्षाका लागि छट्याई विद्यार्थीको उपलब्धिको लेखाजोखा गर्नुपर्ने छ । कक्षा ६ र ७ मा ६० प्रतिशत भारको आवधिक परीक्षा र ४० प्रतिशत भारको निरन्तर मूल्याङ्कनका माध्यमले विद्यार्थी उपलब्धिको लेखाजोखा गर्नुपर्ने छ । कक्षा ८ मा २५ प्रतिशत भारको आन्तरिक मूल्याङ्कन तथा ७५ प्रतिशत भारको बाह्य परीक्षाबाट विद्यार्थीको मूल्याङ्कन गरिने छ ।
४. निरन्तर मूल्याङकन पद्धतिमा विद्यार्थीको नियमितता/हाजिरी, कक्षाकार्य/सहभागिता, परियोजना तथा प्रयोगात्मक कार्य, सिर्जनात्मक कार्य, सिकाइ व्यवहारमा आएको परिवर्तन र उपलब्धि परीक्षा जस्ता पक्षहरूलाई समावेश गरिने छ । यससम्बन्धी थप व्यवस्था विषयगत पाठ्यक्रमको मूल्याङ्कन खण्डमा समावेश गरिने छ । विद्यार्थी मनोविज्ञानलाई दृष्टिगत गरी विद्यार्थी मूल्याङ्कन प्रणालीमा समसामयिक सुधारसमेत गर्दै लगिने छ ।
५. निरन्तर मूल्याङ्कन पद्धतिअन्तर्गतको उपलब्धि परीक्षा सञ्चालन गर्दा हरेक एकाइ/पाठको पठनपाठनपश्चात् पाठ्यक्रमले निर्धारण गरेका सिकाइ उपलब्धिलाई समेट्ने प्रश्नपत्र निर्माणमा ध्यान दिनुपर्ने छ ।
६. विद्यार्थी मूल्याङ्कन गर्दा शिक्षकले अपाङ्गता भएका र विशेष सिकाइ आवश्यकता भएका विद्यार्थीहरूकालागि उपयुक्त हुने मूल्याङ्कन प्रक्रिया अपनाउनुपर्ने छ ।
५.२ माध्यमिक तहमा विद्यार्थी मूल्याङ्कन प्रक्रिया
माध्यमिक विद्यालय तहमा विद्यार्थी उपलब्धि मूल्याङ्कनका लागि निरन्तर निर्माणात्मक र निर्णयात्मक मूल्याङ्कन प्रक्रियालाई अवलम्बन गर्नुपर्ने छ ।
१. निर्माणात्मक मूल्याङ्कन
निर्माणात्मक मूल्याङ्कनको मुख्य उद्देश्य विद्यार्थीहरूको सिकाइ स्तरमा सुधार गर्नु हो । यसका लागि शिक्षकले विद्यार्थीको व्यक्तिगत सिकाइ उपलब्धिका आधारमा पटक पटक सिकाइ अवसर प्रदान गर्नुपर्ने छ । विद्यालय तहको निर्माणात्मक मूल्याङ्कनमा कक्षागत सिकाइ सहजीकरणको अभिन्न अङ्गका रूपमा गृहकार्य, कक्षाकार्य, परियोजना कार्य, सामुदायिक कार्य, अतिरिक्त क्रियाकलाप, एकाइ परीक्षा, मासिक तथा त्रैमासिक परीक्षा जस्ता मूल्याङ्कनका साधनहरूको प्रयोग गर्न सकिने छ । यस्तो मूल्याङ्कनमा विद्यार्थीको अभिलेख राखी सिकाइ अवस्था यकिन गरी सुधारात्मक तथा उपचारात्मक सिकाइबाट सुधार गर्ने पक्षमा जोड दिइने छ । विशेष सिकाइ आवश्यकता भएका विद्यार्थीका लागि विषय शिक्षकले नै उपयुक्त प्रक्रिया अपनाई मूल्याङ्कन गर्नुपर्ने छ ।
२. निर्णयात्मक मूल्याङ्कन
माध्यमिक तहमा निम्नानुसार निर्णयात्मक मूल्याङ्कन गर्नुपर्ने छ :
(क) निर्माणात्मक मूल्याङ्कनबाट प्राप्त नतिजाका आधारमा आन्तरिक मूल्याङ्कनबाट २५ प्रतिशत भार रअन्तिम / बाह्य परीक्षाको ७५ प्रतिशत भार कायम गरी निर्णयात्मक मूल्याङ्कन गरिने छ ।
(ख) कक्षा ९ को अन्तिम परीक्षा विद्यालयले सञ्चालन गर्ने छ भने कक्षा १०, ११ र १२ मा बाह्य सार्वजनिकपरीक्षा हुने छ ।
(ग) प्रयोगात्मक, सैद्धान्तिक तथा अन्य पक्षको मूल्याङ्कनको भार, विधि तथा साधन सम्बन्धित विषयकोपाठ्यक्रममा उल्लेख भएअनुसार हुनुपर्ने छ । सैद्धान्तिक पक्षको मूल्याङ्कनका लागि निश्चित आधार, स्तर तथा साधनको स्वरूप निर्धारण गरिने छ ।
स्रोत: विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६को अंश