A Levels MA

बङ्गुरपालनमा सक्रिय विद्यार्थी

स्वदेशमा रोजगार पाइँदैन भनेर धेरै युवाहरु विदेशिएका हुन्छन् । धेरै धन कमाउने आशमा आफ्नो घरपरिवार छाडेर युवाहरु विदेश जाने सङ्ख्या बढ्दै जान थालेको छ तर दाङका एक विद्यार्थीले बङ्गुरपालन गरेर आफैँ स्वरोजगार बन्नुभएको छ ।

दाङ घोराही–७ राजपुर निवासी टोपबहादुर बुढाथोकीले बङ्गुरपालनबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ । उहाँले बबई बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फार्म दर्ता गरेर व्यवसाय शुरु गर्नुभएको हो । “म विद्यार्थी हुँ, विद्यालयबाट बाँकी रहेको समयलाई बङ्गुरपालन पेशामा समर्पण गरेको छु”, उहाँले भन्नुभयो, “यसले मलाई स्वरोजगार पनि बनाएको छ ।”

उहाँले करीब छ महिनाअघि व्यावसायिकरूपमा बङ्गुरपालन व्यवसाय शुरु गर्नुभएको हो । बैंकबाट ऋण लिएर रु नौ लाखको लगानीबाट बुढाथोकीले बङ्गुरपालन व्यवसाय शुरु गर्नुभएको हो । अहिले उहाँले २६ बङ्गुरपालन गर्नुभएको छ । ल्यानरुप जातको ११ र घरानो जातका १५ बङ्गुरपालन गरेको उहाँको भनाइ छ ।

पाँच कठ्ठा जग्गामा उहाँले बङ्गुरपालनका लागि खोर निर्माण गर्नुभएको छ । अहिले १३ कोठा रहेको खोर बनाउनुभएको छ । यसमा ५१÷५२ वटा अटाउन सक्ने क्षमताको रहेको बुढाथोकीले बताउनुभयो ।

शुरुमा समाजमा धेरैले बङ्गुरपालन गर्न थालेको भनी खिसीट्युरी गर्ने गरेको भएपनि पछिल्लो समय यसबाट धृरैले पाठ सिक्न थालेको समेत उहाँको भनाइ छ । “हाम्रो समाजको सोचाइ पनि गलत रहेको छ”, बुढाथाकीले भन्नुभयो, “समाजमा रहेको यस प्रकारको सोच परिवर्तन हुन जरुरी छ ।”

उहाँले अहिले दुई जनालाई रोजगारीसमेत प्रदान गरेको बताउनुभयो । व्यवसाय विस्तारसँगै थप रोजगार सिर्जना गर्न सकिनेसमेत उहाँको भनाइ छ । उहाँले आगामी दिनमा कृषि क्षेत्रबाट अघि बढ्नेसमेत बताउनुभयो । “कृषिको राम्रो सम्भावना रहेको छ, त्यसैले यसै क्षेत्रलाई अगाडि बढाउने सोच रहेको छ”, बुढाथोकीले भन्नुभयो ।

बङ्गुरपालनसँगै बाख्रापालन व्यवसाय पनि अगाडि बढ्ने बताउनुभयो । विदेशमा गएर पसिना बगाउनुभन्दा आफ्नै देशमा पसिना बगाए मनग्य आम्दानी गर्न सकिने भन्दै स्वदेशमै पसिना बगाउन थालेको उहाँको भनाइ छ ।

Thuprai - Books and E-books