A Levels MA

लुम्बिनी बौद्ध विश्वविद्यालयमा अनलाइन पढाइ शुरु

लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसले आजदेखि अनलाइनको माध्यामबाट विद्यार्थीलाई पढाउन शुरु गरेको छ । कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीका कारण प्रत्यक्ष कक्षा सञ्चालन गर्न असमर्थ भएपछि अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्न थालिएको विश्वविद्यालयका रजिष्ट्रार तिलक आर्चायले जानकारी दिनुभयो ।

विश्वविद्यालयले सबै तह र सङ्कायका विद्यार्थीलाई सूचना प्रविधिको माध्यमबाट पढाउन शुरु गरेपछि शिक्षकले समय छुट्याएर कक्षा शुरु गरेको लुम्बिनी बौद्ध विश्वविद्यालयको सूचना शाखाले जनाएको छ । विद्यार्थीलाई आजदेखि दैनिक बिहान ८ देखि १० बजेसम्म कक्षा अनलाइनको माध्यामबाट शुरु गरिएको विश्वविद्यालय केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख फणीन्द्र न्यौपानेले बताउनुभयो ।

विश्वविद्यालयले आफ्ना सबै शिक्षक तथा प्राविधिक कर्मचारीलाई ओरिन्टेसन दिएपछि अनलाइन कक्षा सञ्चालन गरिएको बताउँदै क्याम्पस प्रमुख न्यौपानेले विद्यार्थीले घरमै बसेर शिक्षकसँग पढ्न पाउने र प्रश्नसमेत सोध्न सक्ने व्यवस्था मिलाएको जानकारी दिनुभयो ।

विश्वविद्यालयले अनलाइन कक्षा शुरु गरेपछि विद्यार्थीका लागिसमेत सहज भएको लुम्बिनी बौद्ध विश्वविद्यालय विद्यार्थी कल्याणकारी परिषद्का सचिव बिपी गौतमले बताउनुभयो ।

स्नातक र स्नातकोत्तर तह पढाइ हुने यस विश्वविद्यालयमा बौद्ध अध्ययन सङ्काय, मानविकी तथा समाजशास्त्र सङ्काय र विकास अध्ययन तथा एप्लाइड साइनस सङ्कायको पढाइ हुँदै आएको छ । विश्वविद्यालयका सात वटा सम्बन्ध प्राप्त क्याम्पसमा एक हजार २०० भन्दा बढी विद्यार्थीले अध्ययन गर्ने गरेको विश्वविद्यालयको तथ्याङ्कले देखाउँछ । बौद्ध दर्शन, साहित्य र संस्कृतिका अध्ययन गर्ने उद्देश्यका साथ यो विश्वविद्यालय २०६३ सालमा स्थापना भएको हो । यसको केन्द्रीय क्याम्पस लुम्बिनीमा रहेको छ । यस क्याम्पसमा नेपाली तथा विदेशी विद्यार्थीले अध्ययन गर्छन् । –––

Thuprai - Books and E-books