After SEE Portal

दिवा खाजा कार्यक्रमले बालबालिकाको पढाइप्रति आकर्षण

Bridge Course


वीरगञ्ज, ५ वैशाख (रासस) : पाँच वर्षीया चन्द्रज्योतिकुमारी रामको दैनिकी बाख्रा चराउन, घाँस दाउरा तथा मेलापात गर्नेमा बितिन्थ्यो । तर विद्यालयमा दिवा खाजा कार्यक्रम लागू भएपछि पढाइतर्फ उनको आकर्षण बढेर गयो ।

अन्य विद्यार्थी जस्तै राम पनि छिपहरमाई गाउँपालिका–१ मिर्जापुरमा रहेको श्री देवी स्थान नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बगमरीमा कक्षा १ मा भर्ना हुन पुगिन् ।

सङ्घीय सरकारले आव २०७५÷७६ देखि प्राथमिक विद्यालयमा शिशु कक्षादेखि ५ कक्षासम्मका बालबालिकालाई विद्यालयतर्फ आकर्षित गर्न दिवा खाजा कार्यक्रम लागू गरेपछि पर्सा जिल्लामा विद्यालय जाने बालबालिकाको सङ्ख्या बढ्दै गएको छ ।

विशेषगरी विद्यालयबाहिर रहेका बालबालिकालाई आकर्षण गर्न सङ्घीय सरकारले यो कार्यक्रम लागू गरेपछि चन्द्रज्योतिकुमारी राम मात्र होइन, दीपकलाकुमारी सुरही पनि घरको दैनिकी काम छाडेर विद्यालय भर्ना भएकी छिन् । प्रधानाध्यापक कपिलेश्वर उपाध्यायले राससलाई भन्नुभयो, “सरकारले यो कार्यक्रम लागू गरेपछि बालवालिकाको सङ्ख्या ह्वातै बढेको छ, यसले कक्षा कोठाको अभावसमेत भएको छ ।”

पर्सा जिल्लाका १४ स्थानीय तहमध्ये वीरगञ्ज महानगरपालिकाभित्रका ९०, पोखरीया नगरपालिकाका २४, सखुवाप्रसौनी गाउँपालिकाका २९, जिराभवानी गाउँपालिकाका २३, पटेर्वासुगौली गाउँपालिकाको २४, जगरनाथपुर गाउँपालिकाको ३० र पर्सागढी नगरपालिकाको ३० विद्यालयमा दिवा खाजा कार्यक्रम लागू भएको स्रोत व्यक्ति नेपालेन्द्रु साहले राससलाई बताउनुभयो ।

यसैगरी ठोरी गाउँपालिकाको २१, छिपहरमाई गाउँपालिकाको ११, पकहामैनपुर गाउँपालिकाको ६ वटा विद्यालयमा पनि सो कार्यक्रम लागू भएको छ भने बहुरमाई नगरपालिका, बिन्ध्यवासिनी, धोबनी र कालिकामाई गाउँपालिकामा हालसम्म विद्यालय व्यवस्थापन समिति गठन नहुँदा त्यहाँका दुई वटा विद्यालयमा उक्त कार्यक्रम लागू हुन नसकेको अर्का स्रोत व्यक्ति छोटेलाल साहले बताउनुभयो ।

प्रदेश नं २ मा रहेको एक मात्र वीरगञ्ज महानगरपालिकाभित्रका ९० विद्यालयमा दिवा खाजा कार्यक्रमका लागि एकमुष्ट तीन महीनाको रकम निकासा गरिसकिएको बताउँदै शैक्षिक प्रशासन महाशाखा प्रमुख अरबिन्दलाल कर्णले राससलाई भन्नुभयो, “खाजा व्यवस्थापन समितिमार्फत हाजिर भएको दिनलाई गणना गरी प्रतिविद्यार्थी प्रतिदिनको रु १५ का दरले रकम दिने व्यवस्था गरिएको छ ।

सङ्घीय सरकारले पर्साका सबै स्थानीय तहलाई सो वापतको रकम उपलब्ध गराए पनि कतिपय स्थानीय तहले सो कार्यक्रम सञ्चालन गर्न नसकेकाले उक्त रकम फ्रिज हुने सम्भावना बढेको छ भने कतिपय स्थानीय तहले दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरे पनि हालसम्म सो कार्यक्रम सञ्चालनमा आउन सकेका छैन ।

सखुवाप्रसौनी गाउँपालिकाले बालबालिकालाई खाजा खुवाउने भनेर निर्णय गरिसकेको भए पनि वडा नं ५ महुवनमा रहेको दलित प्राथमिक विद्यालयमा हालसम्म सो कार्यक्रम सञ्चालनमा आउन नसकेको प्रधानाध्यापक जदुप्रसाद साहको भनाइ छ ।

शिशु देखि ५ कक्षासम्म अध्ययन हुने सो विद्यालयमा २११ दलित बालबालिका पढ्ने गरेका छन् । दिवा खाजा कार्यक्रम सञ्चालन नहुँदा खाजा खान पढाइ छोडेर वाहिर जानुपर्ने बाध्यता रहेको कक्षा ५ का निर्मलाकुमारी रामको गुनासो छ ।

सङ्घीय सरकारले वीरगञ्ज महानगरपालिकाबाहेक सबै स्थानीय तहमा विद्यार्थीको सङ्ख्या हेरी १८० दिनको एकमुष्ट रु एक करोडदेखि डेढ करोडसम्म पठाई सकिएको भए पनि सो रकममा जनप्रतिनिधिहरुको गिद्धेदृष्टि परेकाले अधिकांश विद्यालयमा यो कार्यक्रम हालसम्म सञ्चालनमा नआएको अभिभावक शेषमन पण्डितको गुनासो छ ।

सरकारले स्थानीय तहमा पठाएको रकम विद्यालय व्यवस्थापन समितिको अध्यक्ष वा निजले तोकेको प्रतिनिधिको संयोजकत्वमा गठित खाजा व्यवस्थापन समितिले गुणस्तरहीन तथा सस्तो खाजा दिएर सो रकममा व्यापक हिनामिना समेत हुने गरेको सुनिन्छ ।

सरकारले ससर्त अनुदानअन्तर्गत स्थानीय तहमा पठाएको दिवा खाजा कार्यक्रमको रकममा कर्मचारी, जनप्रतिनिधि र विद्यालय शिक्षकबीच कमिसनको कुरा नमिल्दा कतिपय विद्यालयमा यो कार्यक्रम लागू हुन नसकेको देखिन्छ । पर्सा जिल्लामा ३५७ विद्यालय छन् ।

–वीरेन्द्र कर्ण 


A Levels MA
Thuprai - Books and E-books