शिक्षा मन्त्रालयको हलमा सरोकारवाला भरिभराउ थिए । बोलाउनुको मकसदबारे कसैलाई अत्तोपत्तो थिएन । केही ठूलै घोषणा हुँदैछ भन्ने सबैको अनुमान थियो । शिक्षामन्त्रीको प्रवेश हुन्छ । सम्बोधनका क्रममा उनले भने, “...अबदेखि कुनै पनि शिक्षक दलीय राजनीतिमा लाग्न पाइँदैन । जो लाग्छ, उनीमाथि कारवाही हुन्छ । त्यसैले दलको कुनै पनि जिम्मेवारीबाट आजैका मितिदेखि राजीनामा दिनूस् । होइन, शिक्षक पदबाट राजीनामा दिन्छु तर दलको जिम्मेवारीबाट अलग रहन चाहँदैन भन्न पनि पाइयो ।” सम्बोधन सकिन्छ । मौनमै हल रित्तिन्छ ।
सरोकारवाला बाहिरिन्छन् । नजिकैको एक पार्टी प्यालेसमा भेला हुन्छन् । निर्णय गर्छन्, “शिक्षामन्त्रीले निर्णय फिर्ता लिनुपर्छ । ट्रेड युनियनको अधिकारसँग जोडिने भएकाले शिक्षक राजनीति विश्वव्यापी छ ।” विज्ञप्ति जारी हुन्छ ।
भरे शिक्षामन्त्रीलाई फोन आउँछ, “मन्त्रीज्यू यो त ठिक गर्नुभएन । हामीले समर्थन गरेका कारण तपाईँ मन्त्री बन्न पाउनुभएको छ । शिक्षक राजनीतिको अनावश्यक विषयमा हात नहाल्दै उत्तम हुनेछ ।”
भोलिपल्ट पुनः शिक्षा मन्त्रालयको हलमा सरोकारवाला भरिभराउ भए । सबैले अनुमान गर्न थाले– मन्त्रीले हिजोको घोषणा फिर्ता लिने घोषणा गर्ने भएर हामीलाई बोलाइएको हुनसक्छ । सबैका चेहरा उज्याला थिए । अँध्यारो चेहरा लिएर शिक्षामन्त्री हलमा प्रवेश गरे । उनले सम्बोधनका क्रममा भने, “तपाईँहरु कसैले पनि राजीनामा दिइरहनुपर्दैन । मैले आजका मितिबाट मन्त्री पदबाट राजीनामा दिने निर्णय गरेँ ।” तालीले हल गुन्जिरहेको हुन्छ, भरेंगबाट ओर्लिदै गरेका मन्त्रीले घर प्रस्थान गर्नका लागि ‘इनड्राइभ’ सर्च गरिरहेका हुन्छन् ।