कोभिड–१९ का कारण विगत पाँच महिनादेखि हाम्रा विद्यालय बन्दछन् । हाम्रा बालबालिकालाई घरमै पढाउने काममा हामी अभ्यस्त हुन लागेका छौँ । अचेल हाम्रा बालबालिका पालैपालो पाठ्यपुस्तक, ईन्टरनेटमार्फत अनलाइन कक्षा वा अन्य सामग्री, रेडियो वा टिभी, फोन वा भिडियोबाट साथीसँग र अभिभावक तथा दाजुभाइ–दिदीबहिनीसँग प्रत्यक्ष छलफल गरेर सिक्छन् । उनीहरुलाई आफै सिक्नका लागि धेरै सामग्रीको जरुरत छ । नेपाली भाषामा बालबालिकाका लागि उपयोगी सामग्री पर्याप्त छैनन् । हाम्रा परम्परा र स्थानीय विषय नेपाली भाषामै हुनु जरूरी पनि छ । पाठ्यपुस्तकमा समेटिएका पाठहरु बाहेक अन्य उपयोगी सामग्रीको पनि उत्तिकै जरुरत भएकोले सामाजिक अध्ययन विषयको पाठ्यक्रममा पर्ने गरी ‘कुशे औँसी’ पाठको नमुना स्वाध्यायन सामग्रीकारुपमा बनाइएको हो । यो सामग्री कक्षा ३ देखि ५ सम्म पढ्ने विद्यार्थीहरुलाई उपयोगी हुने गरी तयार गरिएको हो ।
पाठका मुख्य शब्दहरुः कुश, कुशेऔँसी, पिताजीको मुख हेर्ने दिन, औँसी श्राद्ध
पाठका उद्देश्यः यो स्वाध्यायन सामग्री पढी सकेपछि विद्यार्थीहरु निम्न कुरामा सक्षम हुनेछन्–
१. कुश चिन्न ।
२. कुशको महत्व वर्णन गर्न ।
३. कुशे औँशीको महत्व बताउन ।
४. जन्म दिने बाबुको सम्मान गर्न ।
पाठ – कुशे औँसी
१. तलका चित्र हेरी निम्न प्रश्नमा आफ्नो विचार बनाइ अभिभावकसँग छलफल गर्नुहोस् ।
क. तलका तीनवटै चित्र कुशको हो । पहिलो चित्रमा कुश किन हरियो र रातो भएको होला ?
ख. कुश कहाँ फल्छ होला ?
ग. कुशको मुठा देख्नु भएको छ ? कहाँ देख्नु भयो ?
घ. तपाईंको घरमा कुशको प्रयोग कहिले कहिले हुन्छ थाहा छ ?
ङ. तपाईंको घरमा कुश छ कि छैन अभिभावकसँग सोधी कुशको अवलोकन गर्नुहोस् ।
२. तलको पाठ मनमनै पढ्नुहोस् र पाठको अन्त्यमा दिएका प्रश्नहरुको जवाफ लेख्नुहोस् ।
कुशे औँसीः
प्रत्येक वर्षको भदौ महिनाको कृष्ण पक्षमा आउने औंसीका दिनलाई कुशे औंसी भनिन्छ । यो दिनलाई हिन्दु परम्पराबमोजिम एउटा धार्मिक एवं साँस्कृतिक पर्वका रुपमा मनाइन्छ । यो औँसीका दिन हिन्दु धर्मावलम्वीहरू वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याउँछन् । कृष्ण पक्ष बढी जसो पितृकार्यका लागि महत्वपूर्ण मानिने भएकाले कुशे औँसीका दिन पितृकार्य गर्ने चलन छ । नेपालमा कुशे औँसीलाई पर्वका रुपमा मनाउने परम्पराको सुरुवात प्राचीनकालदेखि नै भएको हो । पितृकार्यका लागि उत्तम दिन भएकोले पिताजीको मुख हेर्ने दिनका रुपमा विस्तारै विकास गरिएको हो । यो दिन हिन्दु संस्कृतिको सुन्दर पक्षका रुपमा चिनिएको पवित्र वनस्पती, आफूलाई जन्म दिने बाबु र सम्पूर्ण पितृको स्मरण, सम्मान र पुजा एकै दिन गरिने प्रचलन छ ।
कुशको परिचय
कुश सिरु जस्तै देखिने घाँस जातिको तीन चार फिटसम्मको लम्बाइ भएको हाँगाविहीन सुरिलो र सफा वनस्पती हो । कुश पानी नजम्ने भिरालो बारीमा उम्रिन्छ । कुशको साना विरूवा सार्न सकिन्छ भने जरा पनि रोप्न मिल्छ । श्रावण शुक्ल चर्तुदशीका दिन रोपिने कुशलाई भाद्रकृष्ण औँशीका दिन काट्ने गरिन्छ । कुश देवकार्यका निम्ति पवित्र वनस्पति हो जसको मूलमा ब्रह्मा, मध्यभागमा विष्णु र अन्त्यभागमा शिवजीको निवास रहेको हुन्छ । त्यसैले मूलसहित कुशलाई पवित्र मानिन्छ । पौराणिक धार्मिक ग्रन्थहरुमा जालन्धर राक्षसकी पत्नी वृन्दाले विष्णुलाई श्राप दिने क्रममा झार र ढुङ्गाको जन्म होस् भनेकाले विष्णुको कुशको रुपमा जन्म भएको भन्ने कुरा उल्लेख भएकोले हिन्दूधर्ममा कुश र शालिग्रामलाई भगवान विष्णुको प्रतीक मानिएको हो ।
कुशको महत्व
नेपाली समाजमा कुशको धार्मिक एवं साँस्कृतिक, आयुर्वेदिक, वास्तुशास्त्रीय र व्यावसायिक महत्व छ । मानिसको जन्मदेखि मृत्युसम्मका विभिन्न धार्मिक कर्महरुमा कुश नभइ हुँदैन । हिन्दू धर्मावलम्बीका लागि कुश ज्यादै अनिवार्य एवं पवित्र वनस्पती हो । वैदिक ग्रन्थदेखि लिएर पौराणिक ग्रन्थमा समेत कुशको वर्णन गरिएकोछ भने धर्मशास्त्र र आयुर्वेदशास्त्रअनुसार यसको महत्व धेरै रहेको पाइन्छ । विशेषगरी देवकार्य तथा पितृकार्य गर्दा कुश नभइन हुन्न । तराईदेखि पहाडसम्म पाइने यो वनस्पतिको जराबाट विविध उपचारका लागि आयुर्वेदिक औषधि बनाइन्छ । कुशको फ्रयोग मानव शरीरको रक्तसँग सम्बन्धित रोग तथा जण्डिस, छालामा देखिएका खटिरा, रत्तचाप, युरिक एसीड, मिर्गौलाको पत्थरी आदि रोगको उपचारमा गरिएको छ ।
वास्तुशास्त्रका अनुसार कुश घरको मुल ढोका बाहिर माथि झुण्डयाउँदा खराब तत्वहरु घर भित्रिदैन भन्ने मान्यता छ । ग्रहण लागेको समयमा दही, दुध, अन्न, पानी तथा अन्य खाद्य वस्तुहरुमा कुश राखिदिएमा ग्रहणकालमा निस्किएका अशुद्ध विकीरणको दुष्प्रभाव पर्दैन भन्ने विश्वास छ । कुशले बनेको गुन्द्री वा चटकीमा नियमित बसाइले उच्च रक्तचापका विरामीलाई लाभ हुने विश्वास गरिन्छ । कुशको प्रयोगले वातावरणलाई प्रदूषित हुनबाट जोगाउँछ भने यसलाई पानीमा डुबाउँदा पानी शुद्धीकरण हुन्छ र मानिसको आयु वढाउँछ ।
व्राह्मणहरुद्वारा पूजा गरी छेदन् गरेर यजमानहरू कहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । कुशे औँसीका दिन काटिने कुशलाई एक वर्षसम्म विभिन्न धार्मिक कार्यमा प्रयोग गर्न सकिन्छ । कुशे औँशी सोमबारका दिन परेको छ भने त्यस दिन काटिएको कुश १२ वर्षसम्म प्रयोग गर्न सकिने धार्मिक मान्यता छ । यज्ञ गरिँदा यज्ञकुण्डको चारैतिर कुश ओछ्याइन्छ र रात्रीकालमा शुद्ध पानीमा भिजाएर राखेको कुशको पानीको प्रयोग विणादी कलश स्थापना गरिँदा कलशमा राख्ने चलन पनि छ । धार्मिक कार्यमा प्रयोग गर्नका लागि कुशबाट मोटक, औँठी, पवित्र र ब्राह्मण बनाइन्छ । कुशको ब्राह्मणलाई पितृ ऋषि पनि भनिन्छ । देवी देवताको पूजामा अभिषेक, प्राण प्रतिष्ठा, प्रायश्चित, स्नान आदि गरिँदा कुश मिश्रित जल नै प्रयोग गरिन्छ । पुजामा जल चढाउन बनाइएको कर्मपात्रोमा कुशको प्रयोग हुन्छ । कुशको आसनमा बसेर पुजा गर्नु, कुशको औँठी देव कार्यमा साहिँली औँलामा र पितृकार्यमा चोर औँलामा लगाउनु, कुशलाई कम्मरमा सिउरिनु धार्मिक विधि हुन् । नुहाउँदा, जप गर्दा, होम, स्वाध्याय, सन्ध्या, देवपूजा यज्ञ यज्ञादी कार्य गर्दा हातमा कुशका टुक्रा लिएर बस्नु सनातनी हिन्दुहरुले गर्ने कर्महरुको विशेषता हो । जप, ध्यान, पूजा, हवन र श्रद्धा गर्दा पृथ्वीको गुरुत्वाकर्षणले मानवदेहलाई प्रभाव पार्न नसकोस, रोग फैलाउने भाइरसहरु निष्क्रिय होउन् भनेर कुशको प्रयोग गरिएको मानिन्छ । जप, पूजापाठ र यज्ञ गरिँदा त्यसबाट शक्ति रक्षा गरिदिने कुशलाई आसनको रुपमा प्रयोग गरिन्छ ।
कुशको बहुआयामिक महत्व भएकोले आजकाल व्यावसायिकरुपमा पनि यसको खेती गरिन्छ । हरेक हिन्दुका घरमा चाहिने तर सबै तिर उपलब्ध नहुने भएकोले बाँझो जग्गाको सदुपयोग गरी कुश लगाएर कुशे औँशीमा यसको बिक्रि गर्ने चलन पनि बढेको पाइन्छ । कुशले बनेका चकटी, गुन्द्री, पुजाका सामान राख्ने ढकी तथा शौन्दर्यात्मक सामग्रीको उत्पादनले बजार पाउने सम्भावना पनि धेरै नै छ ।
बाबुको मुख हेर्ने दिन
भाद्र कृष्णपक्ष अर्थात कुशे औँसीमा पिताजीको मुख हेर्ने दिन हो । यस दिनलाई बाबु दिवसको रूपमा मनाइ बाबुलाई विशेष सम्मान गरिन्छ । आफ्ना पिता भएकाले मिठाइ र नयाँ लुगाको उपहार दिएर बुवाको मुख हेर्ने गरिन्छ भने पिताको स्वर्गवास भइसकेकाहरुले स्नान गरि शुद्ध भएर आफ्ना पितालाई सम्झदै तीर्थमा पितृकार्य गर्ने चलन रही आएको छ ।
बाबु नहुनेले तीर्थमा खासगरी उत्तरगया भनेर चिनिने काठमाडौँको गोकर्णेश्वर महादेव र रसुवाको बेत्रावतीमा गएर श्राद्ध, तर्पण, दान गरिन्छ । विष्णु पादुकालमा गरिने श्राद्ध, तर्पण, दान गरेमा पितृ तर्ने धार्मिक विश्वास छ । त्यही भएर काठमाडौँ उपत्यका वरपर कुशे औँसीलाई गोकर्णे औँसी भनिएको हो । तीर्थस्थलमा गई तर्पण तथा सिदा दान गरेमा पुण्य मिल्नुका साथै पितृले आशिर्वाद दिने र आफ्नो कुल स्थिर हुने कुरा धर्मग्रन्थमा उल्लेख छ ।
प्रश्नहरुः
१. कुशलाई अन्य झार भन्दा कसरी फरक देख्नु हुन्छ ?
२. कुश कहिले रोपिन्छ र कहिले काटिन्छ ?
३. कुशको धार्मिक महत्व के छ ?
४. कुशलाई किन बिष्णुको रुप मानिएको हो ?
५. आयुर्वेदले कुशलाई के के मा प्रयोग गर्न सकिने भनेको छ ?
६. धार्मिक कार्य गर्दा कुशको प्रयोग कसरी गरिन्छ ?
७. कुशबाट के के बनाउन सकिन्छ ?
८. कुशे औँसी कहिले पर्छ र कसरी मनाइन्छ ?
९. जन्म दिने पिताजीको सम्मान कसरी हुन्छ ?
१०. पिता नहुनेले कुशे औँसीका दिन के गर्ने भनिएको छ ?
११. कुशे औँसीका दिन पितृकार्यका लागि प्रशिद्ध प्रमुख तिर्थस्थलहरु कुन कुन हुन् ?
१२. तपाईंको घरवरपर कुशे औँसीका दिन कुन धार्मिकस्थालमा जाने चलन छ ?
१३. कुशे औँसीका दिन क–कसको पूजा गरिन्छ ?
क्रियाकलापः
१. आफ्नो घरमा भएको कुशको मुठाबाट पाँचवटा कुश झिक्नु होस् र १० मिनेटसम्म पानीमा भिजाउनुहोस् । यसरी भिजेको कुशबाट तलका आकृति कसरी बनाउने आफ्नो अभिभावकलाई सोध्नुहोस् । तपाईंको घरबाट समाधान आएन भने तपाईंको घरमा आउनु हुने पुरोहित वा अभिभावकबाट जानकार व्यक्ति पत्ता लगाइ उहाँलाई फोन गरेर यी आकृतिको भिडियो बनाइ पठाउन अनुरोध गर्नुहोस् ।
मोटक, औँठी, पवित्र र ब्राह्मण (पितृ ऋषि)
२. भिजेको कुशबाट कसरी चकटी बनाउने आफ्ना अभिभावकसँग सिक्नुहोस् ।
३. पिताजीको मुख हेर्ने चाड अर्को वर्ष कसरी मनाउने आफ्ना दाजुभाइ तथा दिदी बहिनीसँग छलफल गरी योजना बनाउनुहोस् ।
४. कुशे औँसीका दिन तपाईँको घरमा कुश लिएर आउने पुरोहितलाई कुश लिएर आएपछि के गर्ने गरिन्छ परिवारमा छलफल गर्नुहोस् ।
(लेखक शिक्षा सेवाका उपसचिव हुन्)