प्रवेशिका परीक्षा (एसईई) परीक्षा सकिएको यतिबेला २४ घण्टा बितिसकेको हुन्थ्यो । परीक्षा तालिका सार्वजनिक हुँदा नै सोचिसकेको थिए, “परीक्षा सकिएको भोलिपल्ट म विहान ९ बजेसम्म सुत्छु । सपनामा पनि पाइथागोरस र न्यूटनलाई देख्ने छैन ।” मेरा बाबाले मलाई सधैँ एउटा उदाहरण दिने गर्नुहुन्थ्यो– ए प्लस बी होल स्क्वायरको फर्मुला नजान्दा मैले एसएलसी परीक्षा दोहोर्याउनु परेको थियो, तर जीवनमा त्यो फर्मुलाको प्रयोग कहिल्यै गर्नुपरेन । बाबाले भन्नुभएको त्यो घत लाग्ने कुराले म पनि सोच्थे ज्यामितीको पाइथागोरस मेरा लागि पनि उस्तै हो । त्यो नजान्दा अनुत्तीर्ण, जानेपछि जीवनमा कुन घुम्तीमा काम लाग्ला र ? म त तुलनात्मकरुपमा कमजोर विद्यार्थी । एसईई परीक्षा सकिएपछि विज्ञान र गणित विषय छुनु पर्दैन भन्नेमा म औधी खुशी छु ।
मङ्सिरमा परीक्षा तालिका सार्वजनिक हुँदा परीक्षापछिका लागि धेरै योजना बुनिसकेको थिए । फेहरिस्त नै तयार गरेको थिए । लिखित थिएनन् । मनमनमै थिए ती योजना । परीक्षा सकिएको भोलिपल्ट साथीहरुका साथ दिनभरि घुम्ने योजना पनि बनेको थियो । मामाघर जाने पनि योजनामा परेको थियो । साथीहरु ब्रिज कोर्समा भर्ना हुने योजना बनाउँथे । म तिनका कुरा सुन्थे । भन्थे, “मेरा लागि घरको नक्सा बनाइदिने वा अस्पतालमा आएका बेला सित्तैमा उपचार गरिदिनू ।” पढ्ने कुरा मेरो के योजना बन्थ्यो र ? यो राजधानीको तनाव र भीडभाडबाट केही दिन मुक्त हुन सके मेरा लागि राहत थियो । गाँउमा बाबालाई तरकारी खेती र गाईको रेखदेख गर्न पाए मेरा लागि त्यही ब्रिज कोर्स हुने थियो ।
हिजो चैत १४ गते शुक्रबार । कोरोना भाइरसको आतङ्क सिर्जना नभइदिएको भए हिजो एसईई परीक्षाको अन्तिम दिन । प्राविधिक धारतर्फका परीक्षार्थीको अरु दिन परीक्षा बाँकी रहने सुनिन्थ्यो । हामी साधारण धारकाहरुको शुक्रबार अन्तिम दिन । एसईई परीक्षा सकिएको दिन छिटो निद्रा लाग्दैन भन्ने सुन्थे । विहान छिटो उठ्न मन लाग्दैन भन्ने पनि सुन्थे । अनुभव गर्न नै पाइएन ।
बन्द कोठामा छु । कही कतै जान मन लाग्दैन । ती किताब हेर्न नै मन लाग्दैन । घोक्दा घोक्दा पानी भइसक्यो । अझै कति घोक्नु ? कति अभ्यास गर्नु ? दिक्क लागिसक्यो । ज्यामितिका ती रेखा जति कोरे पनि ३६० डिग्री नाघ्ने होइनन् क्यारे । मैले हरेक विषयमा बी प्लससम्मको अपेक्षा गरेको थिए । म त्योभन्दा बढी ल्याउन सक्ने विद्यार्थी होइन । सबैको दिमाग एउटै हुँदैन । निकै कमजोरभित्र पनि पर्दिन र निकै तिक्ष्णभित्र पनि पर्दिन । आम विद्यार्थीभित्र पर्दछु ।
किताब पल्ट्याउँछु । तिनै नोटलाई यता गर्छु । उता गर्छु । नयाँ कापीमा अभ्यास गर्न त मनै लाग्दैन । मन चञ्चल बनेको छ । छटपटी हुनु स्वभाविक हो । जीवनमा कहिल्यै पनि बन्द कोठाभित्र थुनिनु परेको अनुभव नगरेको पुस्ताको विद्यार्थी परेकाले छटपटी हुनुलाई स्वभाविकरुपमा लिएको छु । परीक्षा स्थगित भएको समाचार सुनेपछि कलमले एक अक्षर लेखेको छैन । परीक्षाका लागि अघिल्लो दिन किनेका ती कलम र पेन्सिल जसका तस छन् । मलाई कहिले प्रयोग गर्छ भनेर उनीहरु सोच्दै होलान् । परीक्षाको नयाँ तालिका सार्वजनिक नहुञ्जेल तिनको प्रयोग होला भन्नेमा म आफै विश्वस्त छैन ।
विहान ४ बजे उठ्थे । अब उठ्ने समय ७ बजे पुगेको छ । उठ्छु । मोबाइल हातमा हुन्छ । एकछिन फेसबुक चलाउँछु । विहान खाना तयार नहुञ्जेल ओच्छ्यानोको बास रहीरहन्छ । दिदीले खाना खान बोलाउनुहुन्छ । शौचालयतिर कुद्छु । हत्तपत्त ब्रस गर्छु । चिसो भात खाएर फेरी कोठामा । अब त पढ्छु भन्ने सोच्छु । दृढ बनेर आउँछु । दिदीले गर्मीमा खानुपर्छ भनेर प्याज थपिदिनुहुन्छ । झ्याप्पै निद्रा लाग्न थालिहाल्छ । सुनेको थिए– पञ्चायतकालमा जेलमा बसेका कैदी नेताहरुलाई सरकारले निःशुल्कमा प्याजको बेर्ना दिन्थ्यो रे । अरु तरकारीको बेर्ना किन्नुपर्थ्यो । नेताहरुले जेलभित्रको बारीमा प्याज उब्जाउन् र बढीभन्दा बढी प्याज खाउन्, अनि सुतुन् भन्ने सरकारले सोच्थ्यो रे । त्यो भयो भने नेताहरुले पञ्चायती व्यवस्थाका विरुद्धमा कुरा गरेर दिन बिताउने अवस्था रहन्न भन्ने सोच सरकारमा भएकाहरुले राख्थे रे । अहिले आफूले प्याज खाएर सुत्दा तिनै रेका कुरा सम्झन्छु ।
दराजको सिसामा ध्यान नजाओस् जसले गर्दा पढाइतिरमात्र ध्यान लागिरहोस् भनेर सिसालाई कागजले छोपेको थिए । ऐना हेर्न नपाएपछि कस्तो अनुहार भएको छ भन्ने थाहा हुन्न र त्यसतर्फ ध्यान नै जान्न भन्ने सोच मेरो । सिसा छोपेको सेतो कागजमाथि परीक्षा तालिका टाँसेको छु । त्यसभन्दा माथि आफ्नै तालिका टाँसेको पनि छु । मेरो दैनिक तालिकामा विहान ४ बजे उठ्नेदेखि कुन समयमा कुन विषय पढ्नेसम्मका कुरा छ । तालिकाअनुसार राती १० बजे सुत्नुपर्ने हो । तर परीक्षा सरेदेखि दिउँसो निद्रा लाग्छ । राती निद्रा लाग्न छाडेको छ । दिनभरि छटपटीमै समय बित्छ । ट्युसन जाने त फागुनदेखि नै छाडिदिइसकेको थिए । केही दिनका लागि के पैसा तिर्नु र भनेर फागुन मसान्तमै ट्युसन छाडिदिएको थिए । परीक्षासम्म पढौँ भन्ने लागेको थियो तर सरले १४ दिन पढे पनि पूरै पैसा लिने डरले फागुनमै ट्युसन जान छाडिदिएको थिए ।
किताबभन्दा बढी त हातमा मोबाइल हुन्छ । यो सामाजिक सञ्जाल बनाउनेलाई बेलाबखत गाली गर्छु । मन उतै हुन्छ । लकडाउन अब नलम्बिएला कि भनेर अनलाइनहरुमा समाचार हेर्न थाल्छु । अझै यो महिनाभरि लकडाउन हुने भनेर सम्भावनाका समाचार लेखेको पाउँछु । अनि मनमनै भन्छु, “यी पत्रकारहरु पनि हावा समाचार लेख्छन् । सम्भावनाका पनि समाचार हुन्छ र ?” अब किन लकडाउन थप्नुपर्यो र भन्ने पनि ठान्छु । छिटोछिटो एसईई परीक्षा सकिए हुन्थ्यो भन्ने लाग्छ ।
आज यो लेख्दा सोचे सूचना प्रविधिलाई यहाँ प्रयोग गर्न सकिन्थ्यो नि । एसईई परीक्षा अनलाइनबाटै दिने व्यवस्था गरिए कति काइदा हुन्थ्यो ? आहा ! त्यस्तो दिन कहिले आउला है ? विदेशमा विद्यार्थीले सिकेका भरमा कक्षा चढाइन्छ भन्ने सुनिन्छ । परीक्षा दिनु नै पर्दैन रे । हामीले तीन घण्टे परीक्षा विधि भित्र्यायौँ । विदेशले त्यसमा धेरै सुधार गरिसके, हामी उही तीन घण्टाकै विधिमा छौँ । अझ परीक्षा केन्द्रभित्र पस्न सुरक्षाकर्मीको चेक । परीक्षा अवधिभर बन्दूक लिएर बसेका सुरक्षाकर्मी । परीक्षा केन्द्र हो वा जेल ? विदेशमा पक्कै यस्तो त हुँदैन होला । कहिलेकाही यो कुरो सोच्दा पनि पीडा हुन्छ । हामीहरुले धेरै कुरामा सुधार गर्न बाँकी छ ।
२०७६ सालको एसईई परीक्षा २०७७ सालमा दिने कुरो पक्कापक्की नै छ । प्रहरीको सुरक्षा घेरामा रहेका प्रश्नपत्रहरु हामीहरुको व्यग्र प्रतीक्षामा छन् । आफू भने कोरोना भाइरस सङ्क्रमणको त्रास हटेको दिनको प्रतीक्षामा छु । नयाँ परीक्षा तालिका कहिले सार्वजनिक होला र त्यस दिनदेखि युद्धस्तरमा तयारीलाई अगाडि बढाउने प्रतीक्षामा छु । मनले अहिले पढ्नै मानेको छैन । छटपटीमात्र भरिभराउ छ ।
कोरोनाले हामीलाई धेरै कुरा सिकाएको छ । सफा हुन सिकाएको छ । सजग हुन सिकाएको छ । लकडाउनका यी पाँच दिनमा इन्धन धेरै जोगिएको छ । वातावरण प्रदूषण हुनबाट जोगिएको छ । प्रकृति सुन्दर बनेको छ । परिवारजनसँग समय बिताउने अवसर मिलेको छ । समस्यासँग जुध्न सिकाएको छ । सबैभन्दा महत्वपूर्ण त छिनछिनमा हात धुन सिकाएको छ । पटकपटक नाकमा औँला हाल्ने बानी छुटेको छ । जीउ चिलाए लगत्तै सेनिटाइजर दल्ने बानी लागेको छ ।
(एउटा परीक्षार्थीको कथा)