डेस्क र बेञ्च नभएका विद्यालय, भूईँमै राखेर लेख्छन् विद्यार्थी

आधारभूत विद्यालयभरिमा एउटा पनि डेस्क वा बेन्च छैन भन्ने सुन्दा झट्ट पत्याउन सक्नुहुन्छ ? पक्कै पनि सकिँदैन । तर कालिकोटको सान्नीत्रिवेणी–८ मुम्रामा रहेको ज्ञानज्योति आधारभूत विद्यालयमा न डेस्क छ न त बेन्च छ । विद्यार्थीहरु भूईँमै बसेर पढ्छन् र परीक्षा पनि भूईँमै बसेर दिने गरेका छन् ।

सान्नीत्रिवेणी गाउँपालिकाले कक्षा ८ को परीक्षाको अनुगमन गराउन यतिबेला शिक्षकलाई खटाएको छ । सो विद्यालयमा डाँडाखेतस्थित कालिका माविका सहायक प्रधानाध्यापक दुर्गाबहादुर बुढा खटिएका थिए । उनले सामाजिक सञ्जालमा अनुगमनका तस्बिर राखेपछि यतिबेला यो विषयले निकै चर्चा पाएको छ ।

शिक्षक दुर्गाबहादुर बुढाले सदरमुकामबाट सो विद्यालयमा अनुगमन गर्दा विद्यार्थीले पीडादायी रुपमा परीक्षा दिएको देखेपछि आफ्नो मन भतभति पोलेको बताए । “यस्तो पीडादायी दृश्य देखियो । मन निकै रोयो” उनले भने ।

सान्नीत्रिवेणी गाउँपालिकाको सो विद्यालयसम्म यातायातको पहुँच छ । जिल्ला सदरमुकामदेखि बसमा सो विद्यालय जान करिब तीन घण्टा लाग्छ । विद्यालय दुर्गम क्षेत्रमा रहेको छ ।

ज्ञानज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक निर्मलाकुमारी बुढाले आफू २०७५ सालमा सरुवा भई आएको र त्यसबेलादेखि निकै प्रयत्न गर्दा पनि फर्निचरको व्यवस्थापन गर्न नसकेको बताइन् ।

“मैले निकै पहल गरेँ । पालिकामा पनि पटक पटक पहल गरेँ । कसैले पनि सहानुभूति देखाएनन् । सुनुवाइ भएन । निकै पीडा छ” उनले भनिन् ।

विद्यालयमा दुई सय विद्यार्थी छन् । दुई राहत र अन्य अनुदानका तथा निजी स्रोतका गरी सात जना शिक्षक कार्यरत छन् ।अनुगमन टोली सान्नीत्रिवेणी–७ कीर्तिपुरको ठिगेल्नीदेवी आधारभूत विद्यालयमा पनि पुगेको थियो । त्यहाँ बेन्च त थिए तर डेस्क थिएनन् । विद्यार्थीले घुँडामा राखेर उत्तरपुस्तिकामा लेखिरहेको दृश्य अनुगमन टोलीले देखेको थियो ।

 

Thuprai - Books and E-books