विश्वव्यापी रुपमा देखिएको कोरोनाको प्रभाव दिन प्रतिदिन बढिरहे तापनि यसप्रतिको सचेतना आम समुदायसँगै शिक्षक विद्यार्थी तथा अभिभावकमा पनि देखापरेको छ । सुरुसुरूमा यसप्रतिको जुन किसिमको डर, आशंका तथा प्रभाव थियो त्यो केही हदसम्म कम भएको छ । सुरूमा औषधि पनि पत्ता नलागेको र भाइरस सङ्क्रमण हुने बित्तिकै मरिहालिन्छ भन्ने धारणा तथा विश्वव्यापी प्रभावका कारण आम समुदाय सशंकित थियो । तर अहिले आएर यो भाइरसको सङ्क्रमण दरसँगै निको हुने दर पनि बढिरहेकै परिप्रेक्ष्यमा मानिसहरूमा एक किसिमको आत्मबल बढेको छ । यद्दपी यसको सङ्क्रमणको औषधि हालसम्म पनि पत्ता लागेको छैन ।
नेपालमा सरकारले गरेको लकडाउन सयौं दिन नाघिसक्दा कोरोना सङ्क्रमण दर बढे तापनि बजार, पसल तथा कारखानाहरू धमाधम खुल्न थालेका छन् भने सर्वसाधारण पनि सचेतनाका साथ आ–आफ्ना क्रियाकलाप गरिरहेका छन् । सार्वजनिक यातायात र विद्यालयबाहेक लगभग अन्य कामकारबाही खुलिरहेकै छ । यसैबीचमा अब सचेतनाका साथ सार्वजनिक यातायात र विद्यालय पनि खुलाउनुपर्छ भन्ने आवाज उठेको छ । बालबालिका पनि आआफ्नो समुदायमा सँगै जानेबुझेका साथीहरूसँग खेल खेल्ने अवस्था भएपछि अब विस्तारै सचेतनाका साथ सम्बन्धित स्थानीय तहले विद्यालय तथा खुला ठाँउमा कक्षा सञचालन तथा शिक्षक विद्यार्थी अन्तरक्रिया भौतिक दूरीसहित अगाडि बढाउँदा उपयुक्त देखिन्छ ।
असार १ गते नै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सिकाइ सहजीकरण निर्देशिका लागू गरेको छ । मन्त्रालयले प्रदेश र स्थानीय सरकारलाई निर्देशन दिइसकेको छ । निर्देशिकामा विद्यार्थीलाई पाँच किसिममा वर्गीकरण गरिएको छ । कुनै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेका, रेडियो, एफएम रेडियो र मोबाइल रेडियोमा पहुँच भएका टेलिभिजनमा पहुँच भएका, कम्प्युटर भएको तर अनलाइन ‘कनेक्टिभिटी’ नभएका र इन्टरनेट एवं सूचना तथा सञ्चार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थी रहेको समूहमा वर्गीकरण गरी सोहीअनुसार पठनपाठन गर्ने भनिएको छ ।
प्रवक्ताको भनाइ
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले ‘अहिले नै सबै विद्यार्थीलाई बोलाउन लागिएको होइन, भर्ना हुन खोज्ने, उत्तीर्ण प्रमाणपत्र नपाएका र पढाइको बारेमा जानकारी लिन इच्छुक विद्यार्थीलाई भौतिक दूरी कायम हुनेगरी मात्र विद्यालय आउनसक्ने गरी व्यवस्था गर्न लागेका हौं’ भनेका छन् ।
उनको भनाइबाट पनि बुझ्न सकिन्छ की अब सचेतनाका साथ भौतिक दूरी कायम गरेर सर्तसहित पठनपाठन अगाडि बढाउँदा हुन्छ ।
विद्यालय तहसम्मको शिक्षा स्थानीय तहमा रहेको र शिक्षा मन्त्रालयले बनाएको सिकाइ सहजीकरण निर्देशिकाका आधारमा सम्बन्धित स्थानीय तहले आफ्नो ठाँउको वास्तविक अवस्था अध्ययन गरी सामाजिक दूरी कायम गरेर विद्यालय खुलाउँदा आम अभिभावक तथा विद्यार्थी र शिक्षकको पढ्न एवं पढाउन नपाउने चिन्ता पनि कम गर्न सकिन्छ । तर यसका लागि केही तयारी तत्कालै गर्नुपर्ने आवश्यकता छ । लामो समयसम्मको लकडाउनका कारण केही शिक्षकहरू विद्यालय क्षेत्रभन्दा बाहिर छन् । उनीहरू विद्यालय पुग्न सकिरहेका छैनन् । जसका लागि शिक्षा मन्त्रालयभन्दा पनि सरकारले केही निर्णय गर्नुपर्ने हुन्छ ।
क) जुन शिक्षक विद्यालय क्षेत्रभन्दा बाहिर छन्, उनका लागि विद्यालयको पत्रका आधारमा सहज तरिकाले प्रवेशाज्ञा दिने र परीक्षण तथा केही दिनको होमक्वारेन्टिन व्यवस्थापनसहित विद्यालयमा प्रवेश गराउने ।
ख) शिक्षकहरूलाई आफ्नो परिचयपत्रका आधारमा यातायात आवागमनमा सहजीकरण गरिदिने ।
ग) सम्भव भएसम्म सम्पूर्ण शिक्षकहरूको पीसीआर परीक्षण गरिदिने वा बाहिरबाट आउनेको परीक्षण गर्ने, जसले अभिभावकलाई आफ्ना बालबालिका विद्यालय पठाउन ढुक्क वातावरण पैदा गरोस् ।
घ) यो सम्भव नभएसम्म विद्यालय क्षेत्र वरपर भएका शिक्षकहरूले काम गर्दै जाने तर अनुपस्थित शिक्षकहरूलाई अवस्था सहज भएपछि उपस्थित गराउने तर स्थानीय तह र विद्यालयबाट भएका विभिन्न किसिमका उर्दी जारी गर्न बन्द गरिनुपर्छ ।
नेपालको संविधानमै माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन स्थानीय तहमा रहेको कारणले पनि यसको जिम्मेवारी तथा व्यवस्थापन पनि उसले नै लिनुपर्ने आवश्यकता देखिन्छ । जसका लागि स्थानीय तहले निम्न अनुसारका क्रियाकलाप गर्न सक्छन्ः
१) आआफ्नो स्थानीय तहको कोरोना सङ्क्रमणको प्रभाव तथा अवस्था अध्ययन गर्ने ।
२) क्वारेन्टिनस्थल बनेका विद्यालय छन् भने अब हटाउन प्रयत्न गर्ने र कम्तिमा १५ दिन विद्यालय खाली राखी ‘सेनिटाइजिङ्’ गरेर मात्र पठनपाठनको वातावरण बनाउने ।
३) सामाजिक दूरी कायम गरेर सावधानीपूर्वक विद्यालय वा खाली ठाँउमा निश्चित सङ्ख्यामा विद्यार्थी शिक्षक जम्मा गर्ने ।
४) प्रारम्भिक चरणमा प्रामिक तहभन्दा कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई विद्यार्थी सङ्ख्याका आधारमा कक्षाकोठामा भौतिक दूरीसहित शिक्षण क्रियाकलापमा सरिक बनाउने ।
५) कक्षागत जोरबिजोर प्रणालीअनुरुप निश्चित सङ्ख्यामा कक्षा सञ्चालन गर्दै जाने । (जस्तै ६, ८, १० र ५, ७, ९)
६) विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई आवश्यक मास्क, सेनिटाइजर तथा पञ्जा उपलब्ध गराउने ।
७) विद्यार्थी तथा शिक्षकहरुले घरबाटै खाजा बनाएर लैजाने र आ–आफ्नो खाने वा पढाइ हुने समय केही छोट्याउने ।
८) विद्यार्थीबीचको भौतिक दूरी कडाइका साथ लागु गर्ने, निकट हुन नदिने ।
९) कक्षा शिक्षणसँगसँगै कोरोना सचेतनासम्बन्धी अवधारणा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट जानकारी गराउने ।
१०) एक विद्यालय एक नर्स अनिवार्य गर्ने । जसले विद्यार्थी तथा अभिभावकलाई मानसिकरुपमा बलियो बनाउँछ ।
११) सङ्क्रमणको अवस्था अध्ययन गर्दै नेपाल सरकारको निर्णयअनुसार कक्षा शिक्षण प्रक्रिया फेरबदल गर्ने ।
यी माथिका उपायहरु अवलम्बन गरी सरकार तथा मन्त्रालयबाट प्राप्त सूचनाअनुसार कोरोना सचेतना अपनाउँदै विस्तारै कक्षा शिक्षण अगाडि बढाउनु आवश्यक देखिन्छ ।
लेखक कोटेश्वर सरस्वती मावि काठमाडौँका गणित शिक्षक हुन् ।