After SEE Portal

भुम्लु गाउँपालिकामा स्थानीय पाठ्यक्रममा शिक्षण शुरु

Bridge Course

काभ्रेपलाञ्चोक, २४ जेठ (रासस): भुम्लु गाउँपालिकाले आफ्नै पाठ्यक्रम निर्माण गरी अध्यापन शुरु गरेको छ । पाँच विषयवस्तु समेटिएको उक्त पाठ्यक्रमका आधारमा गत बिहीबारदेखि स्थानीय विद्यालयमा शिक्षण शुरु गरिएको छ ।

भौगोलिक अवस्था तथा स्थानीय आवश्यकतालाई महत्व दिएर विपद्, सूचना–प्रविधि, कृषि, स्थानीय स्रोत तथा भुम्लुको परिचय समेटिएको पाठ्यक्रम निर्माण गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख रमेशराज खरेलले बताउनुभयो । 

उहाँका अनुसार एक सय भार (पूर्णाङ्क) तोकिएको उक्त पाठ्यक्रम चालू शैक्षिक सत्रमा पाठ्यक्रमका आधारमा शिक्षण गरिनेछ भने अर्को वर्ष पुस्तक तयार भई सक्नेछ । “हिजोदेखि सबै विद्यालयमा पाठ्यक्रमअनुसार शिक्षण शुरु भएको छ”, खरेलले भन्नुभयो ।

नेपालको संविधान–२०७२ ले स्थानीय सरकार सञ्चालनका लागि एकल तथा संयुक्त अधिकारसहितको व्यवस्था गरेको थियो । 

सोही आधारमा स्थानीय तहले विद्यालय शिक्षा सञ्चालन तथा पाठ्क्रम निर्माण अधिकार पाएसँगै काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाले जिल्लामै पहिलोपटक स्थानीय पाठ्यक्रम निर्माण गरेको हो । एक वर्षको अध्ययनपछि विभिन्न सङ्घसंस्थाको सहयोगमा उक्त पाठ्यक्रम निर्माण गरिएको हो ।

गाउँपालिका अध्यक्ष गुमानध्वज कँुवरले यस वर्ष पाठ्यक्रम तयार पारिएको र अर्काे शैक्षिक सत्रबाट पुस्तक तयार गरी शिक्षण गरिने बताउनुभयो । 

उहाँले भन्नुभयो, “जिल्लामा पाठ्यक्रम निर्माण हाम्रो पहिलो प्रयास हो, हामी कार्यान्वयनको चरणमा छौँ ।” कार्यान्वयनपश्चात् प्राप्त पृष्ठपोषणको आधारमा यसलाई आवश्यक परिमार्जन गरी पाठ्पुस्तक तयार गरिने उहाँले बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक नारायण पौडेलले स्थानीय जीवनोपयोगी पाठ्यक्रम निर्माण गरी भुम्लु गाउँपालिकामा शिक्षण राम्रो पक्ष भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “विज्ञ समूहको लामो अध्ययन अनुसन्धान र मिहेनतबाट निर्माण भएको स्थानीय पाठ्यक्रम लाभदायी देखिन्छ ।” भुम्लु गाउँपालिकामा ४५ वटा सामुदायिक विद्यालय छन् ।

A Levels MA