After SEE Portal

पहिरोले रुकुम​मा विद्यालय भवन जोखिममा

Bridge Course

रुकुमपूर्व, ९ साउन (रासस): सिस्ने गाउँपालिका–८ स्थित आधारभूत विद्यालय पहिरोको उच्च जोखिममा परेको छ । माथिबाट आएको पहिरोले दुई कोठे विद्यालय भवनको एकपट्टिको भाग पुरिएको छ भने बाँकी दुई वटा भवन पनि उच्च जोखिममा रहेका छन् । 

लगातार रुपमा परेको वर्षाको कारण विद्यालयको अन्दाजी १० मिटर माथिबाट पहिरो झरेको विद्यालयका प्रधानाध्यापक नन्दराम केसीले बताउनुभयो । उहाँका अनुसार विद्यालयको दुई कोठे भवनमा क्षति पुगिसकेको छ भने, एउटा दुई कोठे र अर्को छ कोठे भवन पनि पहिरोको उच्च जोखिममा रहेका छन् । विद्यालय भवनसँगै नजिकै रहेको भीमबहादुर रावलको घर पनि पहिरोको उच्च जोखिममा रहेको छ । 

विद्यालय भवनभन्दा तलपट्टि पनि योभन्दा पहिले लगाताररुपमा तीन वर्ष पहिरो झरेर विद्यालयको खेलमैदान पनि गएको थियो । गत वर्ष तारजाली लगाएको र अहिले फेरि पनि तारजालीसहित पहिरो जान सक्ने सम्भावना रहेको विद्यालयले जनाएको छ । विद्यालयको माथिबाट पहिरो झरिरहेको हुनाले विद्यालय पुरिन सक्ने र तलबाट पनि पहिरो झरे विद्यालय बगाउन सक्ने सम्भावना रहेको प्रधानाध्यापक केसीले बताउनुभयो । कक्षा ८ सम्म पढाइ सञ्चालन हुने उक्त विद्यालयमा १०५ विद्यार्थी अध्ययनरत छन् । 

खुला आकाशमुनि पढाइ

विद्यालय भवन पहिरोको उच्च जोखिममा परेपछि वर्षाको झरीमा विद्यार्थी खुला आकाशमुनि बसेर पढ्न बाध्य भएका छन् । विद्यालयभन्दा एक घण्टाको दूरीमा रहेको खेल मैदानमा त्रिपाल हालेर पठनपाठन सञ्चालन गरिने सिस्ने गाउँपालिका–८ का वडाध्यक्ष खर्कसिङ थापाले बताउनुभयो । 

वर्षाको झरीमा खुला आकाशमुनि पढाइ सञ्चालन गर्दा कक्षा १ देखि ८ सम्मका सानासाना विद्यार्थीलाई समस्या हुने भएको छ । पहिरो रोक्नको लागि कुनै उपायले पनि काम नगर्ने र फेरि पनि पहिरो झरेपछि विद्यालय भवननै नरहने भएपछि पठनपाठनमा समस्या नहोस् भनेर तत्कालीन रुपमा खुला चौरमै त्रिपाल हालेर पठनपाठन सञ्चालन गर्न थालिएको वडाध्यक्ष थापाले बताउनुभयो ।

A Levels MA