अभिभावकलाई पैसा तिर्नै सकस, विद्यालयलाई शुल्क अशुल्न चटारो

‘बैनी तपाईँसंग मोबाइल छ ?’

के तपाईँलाई फेसबुकमा जुम सेटिङ गर्न आउछ ?

जुममा कसरी अरु मान्छेसंग अन्तरक्रिया गर्ने ?’

भक्तपुरका सूर्यविनायक नगरपालिका वडा ४ दधिकोटमा भेटिएकी एक अर्धबैंसे युवतीले एकै स्वरमा यस्ता अनेकौं प्रश्न गर्न भ्याइन् ।

उनलाई आफ्नी सात वषिर्य छोरीलाई अनलाइन कक्षामा सहभागी गराउन भिडियो कन्फ्रेसिङका लागि सहभागी हुन र जुम चलाउन जान्नु छ । अनलाइनमा आफ्नी छोरीलाई पढाउन सिक्नु छ । यसका लागि उनलाई अहिले राम्रो मोबाइलको खाँचो छ ।

उनी तेह्रथुम जिल्ला स्थायी घर भएकी प्राथमिक तहकी पूर्व शिक्षक हुन् । सशस्त्र द्वन्द्वका समयमा २०५८ साल पुसमा सेवाबाट आतङ्ककारीको नाममा बर्खास्त गरिएपछि अहिले उनी भक्तपुरमा ज्यालामजदुरी गरी आफ्ना छोराछोरीलाई पढाउँदै आएकी छिन् । छोरीको स्कुलदेखि तारन्तार भर्ना गर्न र मासिक शुल्क बुझाउन टेलिफोन गर्न थालेपछि बिनासितै विद्यालयलाई पैसा बुझाउन भन्दा अनलाइनमा भएपनि छोरीलाई पढाउनका लागि उालाई राम्रो मोबाइल चाहिएको छ । प्रविधि सम्बन्धी ज्ञान चाहिएको छ । ‘मेरो श्रीमान बैदेसिक रोजगारीका सिलसिलमा मलेसिया जानु भएको थियो । कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि उहाँ घर आउनु भयो अब कसरी छोराछोरी पढाउने ? बिनासितैमा विद्यालयलाई बुझाउने पैसा कहाँबाट जुटाउने ? चिन्तामा छु ।’ उनी भन्छिन्, ‘हाम्रो पुस्ताको जीवन कहिले सशस्त्र द्वन्द्वले खाइदियो कहिले माहमारीले उठ्नै नसक्ने गरी थला पारिदियो, सोचे जस्तो केही गर्न सकिएन ।’

भक्तपुरकै बोडे घर भएकी अर्की युवतीका श्रीमान रोजगारीका सिलसिलामा साउदीमा छन् । उनी काम नगरी बसेको तीन चार महिना भइसक्यो । सम्पत्तिको नाममा सानो एक तले घर छ । अन्य आय स्रोतको बाटो छैन । उनको एक छोरा र छोरी ललितपुरको एक नाम चलेको विद्यालयमा पढ्छन् । उनको छोरा आठ वर्षको छ । कक्षा दुईमा पढ्छ । उनले लकडाउन सुरु भएदेखि नै छोरालाई अनलाइन कक्षामा सहभागी गराउने गरेकी छिन् । ‘दुई कक्षामा पढ्ने छोरालाई एक दुई, वान टु पढाउँछन् ।’ उनले भनिन्, ‘स्कुलले मासिक शुल्क, यातायात शुल्क गरेर महंगो पैसाको बिल पठाएको छ, श्रीमानको कमाइ पनि छैन । आफ्नो आयस्रोतको कुनै विकल्प छैन्, खै कसरी स्कुललाई शुल्क बुझाउने हो ?

यी त प्रतिनिधि पात्र मात्र हुन् । अहिले ज्याला मजदुरी गरेरै भएपनि आफ्ना छोराछोरीलाई राम्रो पढाउने सपना बोकेका अधिकांश अभिभावकको पीडा एउटै छ । शुल्क बुझाउन र भर्नाका लागि विद्यालयबाट आउने फोनले उनीहरुलाई थप मनोवैज्ञानिक पीडा थपेको छ ।

एकातिर सरकार निजी विद्यालयलाई शुल्क नलिन निर्देशन दिन्छ भने अर्कोतिर निजी विद्यालयले दैनिक जसो अभिभावकलाई शुल्क तथा भर्नाका लागि ताकेता गरिरहेका छन् ।

स्पष्ट पहिचान नखुलाइन दिन आग्रह गर्दै भक्तपुरका एक निजी विद्यालय सञ्चालक भन्छन् ,‘हाम्रो व्यवसाय चौपट भइसक्यो, तीन–तीन महिना विद्यार्थी घरैमा छन्, पैसा माग्नु पनि कसरी नमाग्नु पनि कसरी ? कर्मचारीलाई तलब खुवाउँनै पर्यो आफू पनि बाच्नै पर्यो ।’

निजी विद्यालयहरुको छाता संगठनहरुले केही दिन अघि संयुक्त रुपमा एक महिनाको शुल्क छुट गर्दै बाँकीको शुल्क तथा भर्नाका लागि निकेलेको विज्ञप्ति पछि निजी विद्यालयले अभिभावकलाई आफ्ना बालबालिकालाई भर्ना तथा शुल्क बुझाउनका लागि बारम्बार सम्पर्क गर्दै आएको अभिभावकहरु बताउँछन् ।

सरकारले तत्काल कुनै विकल्प निकालेर यो गतिविधिलाई अंकुश नलगाए यसले ठुलो शैक्षिक क्षति निम्त्याउने शिक्षाविद्हरु बताउँछन् ।