Thuprai - Books and E-books

स्कुले परीक्षा मङ्सिर र चैतमा हुने

विद्यालय तहको पाठ्यवस्तु समायोजन ढाँचा स्वीकृत भएको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले आज सो ढाँचा स्वीकृत गरेको हो । 

ढाँचाले पहिलो परीक्षा आगामी मङ्सिरको अन्तिममा र वार्षिक परीक्षा आगामी चैतको अन्तिममा सञ्चालन गरिने स्पष्ट गरेको छ । प्रश्नपत्र विद्यार्थीको घरमा पठाउन सकिने, विद्यार्थीलाई विद्यालयमा नै बोलाएर परीक्षा लिन सकिने वा मौखिक परीक्षा लिन सकिने लगायतका प्रावधान प्रस्ताव गरिएको छ । नयाँ शैक्षिक सत्र आगामी वैशाख महिनाबाटै हुने छ । ढाँचामा एसइइका बारेमा उल्लेख गरिएकाे छैन । 

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक केशव दाहालले समायोजन प्रतिशतका आधारमा नभई कठिन र सहज पाठ्यवस्तुका आधारमा वर्गीकरण गरिएको जानकारी दिए । “कठिन पाठ्यवस्तुलाई एकातर्फ र विद्यार्थी स्वयं वा अन्यले सामान्य सहजीकरण गरेर सिक्न सक्ने अर्को वर्गमा निर्धारण गरिएको छ” उनले भने, “यसले गर्दा विद्यार्थीलाई भार कम हुनेछ ।” उनले सबै विषयमा समानरुपमा वर्गीकरण नगरिएको र विषय हेरेर कठिन तथा सहज पाठ्यवस्तु निर्धारण गरिएको बताए ।

उनले विषय शिक्षक र विशेषज्ञ बसेर कुन कुन विषयको सहजीकरण गर्ने भन्ने बारेमा योजना गर्नुपर्ने र कुनै समस्या परेमा केन्द्रले सहजीकरण गरिदिन सहयोग गर्ने बताए । उनले आगामी चैत मसान्तमै शैक्षिक सत्र सकिने गरी पाठ्यक्रम समायोजन गरिएको जानकारी दिए ।

यसैबीच, केन्द्रले आयोजना गरेको पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले mसिकाइ सहजीकरणका व्रममा गरिने मूल्याङ्कन, प्रयोगात्मक मूल्याङ्कन र प्रमाणीकरण मूल्याङ्कनबाट विद्यार्थीको कक्षोन्नति गर्न सकिने बताए ।

यसैबीच शिक्षामन्त्रीले नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय पुस्तिका पनि सार्वजनिक गरे । नेपालको नयाँ नक्सासहितको सो सामग्री कक्षा ६ देखि १२ सम्मका विद्यार्थीका लागि निःशुल्क वितरण गरिनेछ ।

कोभिड—१९ महामारीमा सिकाइ सहजीकरणका लागि पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ र नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय पुस्तिका सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको प्रेस विज्ञप्ति :

पत्रकार मित्रहरू !

कोभिड–१९ को सङ्क्रमणका कारण विद्यालयमा प्रत्यक्ष साक्षात्कार कक्षा हुन नसकी सिकाइ प्रणाली अवरुद्ध रहेको अवस्थामा सिकाइ प्रणालीलाई सुचारु राख्न, विद्यार्थीको शैक्षिक वर्षको क्षति हुन नदिन र वैकल्पिक उपायको अवलम्बन गर्न विद्यार्थीमा पाठ्यक्रमले तोकेका न्यूनतम  सिकाइ उपलब्धिहरू हासिल हुने गरी आफ्नो परिवेशअनुकूल सिक्ने वातावरण सिर्जना गर्नु आवश्यक देखिएको छ । यस अवस्थामा दूर तथा खुला शिक्षालगायतका प्रणालीलाई तत्कालका लागि सिकाइ सहजीकरणको मूल प्रणालीका रूपमा लागु गरी नियमित विद्यालय सञ्चालन हुन सक्ने अवस्थामा समेत यस प्रणालीलाई पूरक वा समानान्तर प्रणालीका रूपमा प्रयोग गर्नसमेत मौजुदा फाठ्यव्रमका पाठ्यवस्तुलाई समायोजन गर्नुपर्ने आवश्यकता देखिएको छ । यही आवश्यकता पूर्तिका लागि विद्यार्थीको न्यूनतम सिकाइ उपलब्धि सुनिश्चित हुने गरी विद्यार्थीको सिकाइलाई निरन्तरता दिने र पाठ्यक्रमका पाठ्यवस्तु समायोजन हुँदा प्रयोग गर्न सकिने सिकाइ सहजीकरण विधि र सिकाइ उपलब्धिको मूल्याङ्कनका उपाय सुझाउने उद्देश्यले पाठ्वस्तु समायोजन ढाँचा, २०७७ तयार गरिएको छ । 

पाठ्यवस्तु समायोजनका लागि  एकीकरण, समूहीकरण, प्राथमिकीकरण सिद्धान्तलाई अवलम्बन गरिएको छ । यी सिद्धान्तका आधारमा  तहगत र विषयगतरूपमा प्रत्यक्ष वा वैकल्पिक विधिबाट शिक्षकले सहजीकरण गर्ने पाठ्यवस्तु र शिक्षकको निर्देशनमा वैकल्पिक विधि वा अन्य व्यक्तिको सहयोगबाट सहजीकरण गरिने पाठ्यवस्तु छुट्याउने आधारसहित नमुना ढाँचा प्रस्तुत गरिएको छ । यसका आधारमा विद्यालयले घरलाई शिक्षालय, रेडियो पाठशाला, टेलिभिजन शिक्षामा, भर्चुअल माध्यमका लागि सिकाइ सहजीकरण र मूल्याङ्कन योजना बनाउन सक्ने गरी विद्यालयमा प्रधानाध्यापक, विषय शिक्षक र स्थानीय विज्ञको समिति रहने व्यवस्था गरिएको छ । 

सङ्क्रमणकालमा शिक्षकले पाठ्यपुस्तकका पाठ पढाएर सक्ने विषयमा आधारित नभई पाठ्यक्रममा आधारित सिकाइ उपलब्धिलाई आधार मानी सिकाइलाई प्राथमिकतामा राखेर पाठ्यक्रमले तोकेका वैकल्पिक विधिको प्रयोगका लागि शिक्षक निर्देशिका, तालिम प्याकेजको अध्ययन, अनुभवी शिक्षक प्रशिक्षकसँग छलफल, स्थानीय विज्ञ व्यक्तिसँगको परामर्श र अध्ययन गरी महामारीका अवस्थामा विद्यार्थीको सिकाइलाई प्रभावकारीरूपमा निरन्तरता दिने विधिको चयन गरी प्रयोग गर्नुपर्छ । घरमै बसेर गरिने सिकाइ, रेडियो पाठशाला, टेलिभिजन शिक्षण र भर्चुअल लगायतका विभिन्न वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरण गर्न शिक्षकले पुनरावलोकन मोड्युल, आधारभूत मोड्युल र सुदृढ मोड्युल तयार गरी फाठ्यव्रमका विषयवस्तुलाई शिक्षकले नै समायोजन गरी सहजिकरण गर्नु पर्ने हुन्छ ।

विद्यार्थीको सिकाइको मूल्याङ्कन प्रमाणका आधारमा गर्नुपर्छ । विद्यार्थीको मूल्याङ्कन गर्दा के आधारमा गरियो र कुन मापदण्डमा अङ्कन र श्रेणीकरण र स्तरोन्नति गरियो भन्ने कुरामा शिक्षक सुनिश्चित हुनुपर्छ अनि अभिभावक, विद्यार्थी र सम्बद्ध सरोकारवालालाई पनि सोको जानकारी गराउनुपर्छ । मूल्याङ्कनलाई वस्तुनिष्ठ, प्रामाणिक र गुणस्तरीय बनाऊने जिम्मेवारी स्वयम् शिक्षकको हो । सिकाइ सहजीकरणका व्रममा गरिने मूल्याङ्कन, प्रयोगात्मक मूल्याङ्कन र प्रमाणीकरण मूल्याङ्कनबाट विद्यार्थीको कक्षोन्नति गर्न सकिन्छ । 

शिक्षकले आन्तरिक र आवधिक मूल्याङ्कन गर्दा विद्यार्थीको लिखित कार्य, मौखिक कार्य, प्रयोगात्मक कार्य, परियोजना कार्य, पोर्टफोलियो व्यवस्थापन, अन्तर्वार्ता आदि जुनसुकै फ्रव्रिया अपनाएको भए पनि ती विद्यार्थीको सहभागितामा गरिएको हुनुपर्ने छ । विद्यार्थीको मूल्याङ्कन र श्रेणीकरणका लागि प्रयोग गरिएका सबै साधन सुरक्षित राख्नुपर्ने छ । मूल्याङ्कन फ्रव्रियाका लागि पाठ्यवस्तु समायोजन ढाँचामा स्पष्ट निर्देशन गरिएको छ । 

यसमा पाठ्यवस्तु कार्यान्वयन र सिकाइका लागि  स्थानीय तह, विद्यालय व्यवस्थापन समिति, विषय शिक्षक, अभिभावक र विद्यार्थीहरुको भूमिका निर्धारण गर्नुका साथै अनुगमन संयन्त्र समेतको व्यवस्था गरिएको छ । 

अन्त्यमा यो फाठ्यव्रम ढाँचालाई अनुसरण गरी स्थानीय परिवेशअनुकूल सिकाइलाई निरन्तरता दिई बालबालिकाको पढन पाउने हकलाई सुनिश्चित गर्दै शैक्षिक क्षतीहुनबाट जोगाउन म समस्त सरोकारवालाहरुमा विनम्रतापूर्वक अनुरोध गर्दछु । धन्यवाद ।