After SEE Portal

स्थापनाको ८ दशकमा पनि उस्तै चाम

Bridge Course

पद्य कन्याको ८ जना देखि ८ हजार विद्यार्थी सम्मको ८ दशक लामो यात्रा

पहिलो नारी शिक्षालयका रुपमा परिचित पद्य कन्या क्याम्पसअझै पनि आफ्नो साख जोगाउन सफल छ । यो क्याम्पस प्रजातन्त्रको उदयपछि २००८ सालमा स्थापना भए यता नै ‘महिला सशक्तीकरणका लागि गुणस्तरीय शिक्षा’ भन्ने उद्देश्यका साथ स्थापना भएको हो ।

सुरुमा भारतको पटना विश्वविद्यालयको सम्बन्धनमा महिला महाविद्यालयका रुपमा यो कलेज स्थापना भयो । सुरुमा ८ जना विद्यार्थी र १२ जना शिक्षकबाट महिला महाविद्यालय सुरु भएको थियो । डिल्ली बजारको कन्या स्कुलको एउटा भवनमा सुरु भयो ।

२०१८ सालमा टुकुचा किनारको टहरो हुँदै शंकरदेब क्याम्पसमा सारियो । विद्यार्थीको चाप बढेपछि बागबजारमा ३८ रोपनी जग्गा किनेर २०२६ सालदेखि बागबजारमा सञ्चालन हुन सुरु भएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा पूर्व क्याम्पस प्रमुख प्राध्यापक चेतोनाथ गौतम बताउँछन् । ‘सुरुमा थोरै शिक्षक थिए विद्यार्थी पनि थोरै ।’ उनी भन्छन्, ‘डिल्ली बजारको कन्या स्कुलबाट कलेज सुरु भयो, सुरुमा पटनामा नै गएर विद्यार्थीले परीक्षा दिनु पथ्र्यो नतिजापनि उतैबाट आउथ्यो ।’

सुरुमा मानविकी संकायका आठओटा विषयमा प्रमाणपत्र तहको कार्यक्रम सञ्चालन गर्दै सुरु गरेको थियो । नेपाली, अङ्ग्रेजी, इतिहास, राजनीतिशास्त्र, अर्थशास्त्र, संस्कृत र मनोविज्ञान विषयमा कक्षा सञ्चालन गरेको थियो । महिलालाई उच्च शिक्षामा प्रवेश गराउने द्वारका रुपमा पद्यकन्याले आफ्नो उच्च गरिमा राखेको पूर्व क्याम्पस प्रमुख प्राध्यापक धनप्रसाद पण्डित बताउँछन् ।

२०१६ सालमा हिन्दी र संगीत, २०१७ सालमा नेवारी, २०२२ मा संस्कृति, २०२३ मा गणित, २०२६ मा नृत्य, २०३६ सालमा भूगोल र तथ्यांकशास्त्रका कक्षा सञ्चालन गरेको थियो भने २०२६ मा नै विज्ञान तथा प्रविधि अध्ययन संस्थान र २०४८ देखि व्यवस्थापन संकायका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

अहिले स्नातक तहमा मानविकीका २३ ओटा कार्यक्रम सञ्चालन गर्दै आएको छ । म्यानेजमेन्टमा बीबीएस र एमबीएस गरेर रेगुलर प्रोग्राम सञ्चालन हुँदै आएको छ भने साइन्सको बीएस्सीको कक्षा सञ्चालन हुने क्याम्पस प्रमुख प्राडा जयलक्ष्मी प्रधान बताउँछिन् ।

प्रमुख प्राडा प्रधानका अनुसार पद्य कन्या क्याम्पस २०७४ बाट अटोनमसमा गएको छ । सेल्फ सस्टेण्ड प्रोग्राम सञ्चालन हुँदै आएको छ । बीबीए, बीपीएम, बीएसएम, बीआइटी, सीएसआइटी लगायतका कार्यक्रम सेल्फ सेस्टेण्डका रुपमा सञ्चालन हुँदै आएको छ ।

व्यवस्थापनमा आकर्षण बढी

अहिलेको सन्दर्भमा म्यानेजमेन्टको बीबीए प्रोग्राममा विद्यार्थी बढी आर्कर्षित छन् । त्यस बाहेक सीएसआइटी, बीआइटीमा विद्यार्थीको रुची बढ्दै गएको छ । ‘आंगिक क्याम्पसमा विद्यार्थी घट्दै गईरहेको हल्ला चलिरहेको बेला हाम्रो क्याम्पसमा यो अवस्था छैन’ प्रमुख प्राडा प्रधानले भनिन्, ‘आठ जना विद्यार्थीलाई सानो कोठामा पढाउन सुरु गरेको क्याम्पसमा अहिले ८ हजार बढी विद्यार्थी भर्ना भएका छन् ।’

मानविकीका मात्र २३ ओटा कार्यक्रममा स्नातक तहका कार्यक्रम सञ्चालनामा छन् । यो सहित साइन्स र म्यानेजमेन्ट सहित ३४ ओटा कार्यक्रम सञ्चालनमा छन् । यी विषयमध्ये एक दुई विषयमा विद्यार्थी न्यून छन् तर मानविकीका पनि समाजशास्त्र, आरडी, सोसियलवर्कमा विद्यार्थीको चाम छ । ‘मानविकीमा पनि केही विषय अझै विद्यार्थीका आकर्षणमै पर्छन्, क्याम्पसको साख घटेको छैन’ प्रमुख प्राडा प्रधानले बताइन् ।

बीबीए, बीबीएम, बीआइटी, बीएस्सी सीएसआइटी, बीपीएसजी, बीसीए, बीएचएममा विद्यार्थीको अत्याधिक आकर्षण छ । बीबीएममा फुल सीजीपीए विद्यार्थीले ल्याएका छन् ।

कलेज २०७४ सालमा त्रिविबाट स्वयत्त भएपछि नयाँ कार्यक्रम सञ्चालन गर्न सुरु गरेको छ । कलेजले स्नातकोत्तरमा डान्स, र बीपीएससी प्रोग्राम अटोनमीका रुपमा सञ्चालन गरिरहेको छ । यी दुइ कार्यक्रम त्रिवि अन्तर्गत पद्यकन्यामा मात्र सञ्चालनमा छ । बीपीएसी प्रोग्राम लोकसेवा तयारीको रुपमा ल्याएको हो । संगीत नृत्य लगायतका कार्यक्रम अतिरिक्त रुपमा सञ्चालन गर्दै आएको हो ।

अहिले यो शैक्षिक सत्रमा सबै कार्यक्रममा कोटा भरिएको छ । रेगुलर तथा सेल्फ सस्टेन्ड प्रोग्राममा पनि विद्यार्थीको आकर्षण सन्तोष जनक रहेको प्रमुख प्राडा प्रधान बताउँछिन् । ‘आंगिक क्याम्पसमा पढाइ हुन्न राजनीति हुन्छ भन्ने हल्ला पद्यकन्याका लागि अफवाह मात्र हो ।’ प्रमुख प्रधानले भनिन्, ‘क्याम्पसमा रहेका स्ववियु, शिक्षक कमर्चारीका संघसंस्थाले पनि संस्था सुधारका लागि पहल गरिरहेका छन् ।’

दरबन्दी अभाव छ

क्याम्पसमा पूर्णकालीन र आंशिक पदमा शिक्षक कार्यरत छन् । भने दिवा र बिहानी सत्रमा ८० जना कर्मचारी कार्यरत छन् । क्याम्पस स्वयत्त भए पनि शिक्षक दरबन्दी निर्माण तथा वितरणका लागि केन्द्रकै निर्णय पर्खनुपर्छ । स्वयत्त भएपनि कलेजमा आवश्यक शिक्षक कर्मचारी नियुक्तिका लागि त्रिविकै बाटो हेर्नुपर्ने बाध्यता रहेको प्रमुख प्राडा प्रधानले बताइन् । केन्द्रको स्वीकृतपछि मात्र शिक्षक दरबन्दी पाउँछ तर पारिश्रमिक भने कलेजले नै बेहोर्दै आएको छ । शिक्षक अनिवार्य अवकास भए पछि नयाँ शिक्षक कसरी व्यवस्थापन गर्ने भन्ने त्रिविमै भर पर्नुपर्छ ।

क्याम्पसमा विषय विशेषज्ञ छन् । उनीहरुको तलब पनि आन्तरिक रुपमा नै बेर्होदै आएको छ । सेल्फ सस्टेण्ड प्रोग्रामका शिक्षकको तलब पनि आन्तरिक स्रोतबाटै बेहोदै आएका छ ।

२० प्रतिशत सम्म छात्रवृत्ति

त्रिविले तय गरेको पाठ्यक्रम तथा क्यालेण्डरमा रहेर नै क्याम्पसले कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर क्याम्पसले सैद्धान्तिक सहित प्रयोगात्मक कक्षा पनि सञ्चालन गर्ने गरेको छ । विद्यार्थीले हासिल गरेको सैद्धान्तिक ज्ञानलाई प्रयोग गर्न सिकाउँने सहायक क्याम्पस प्रमुख गोविन्द प्रसाद पुन बताउँछन् ।

पुनका अनुसार क्याम्पसले २० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

कलेज क्युएएको प्रक्रियामा गएको छ । क्युएए पाएपछि अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम सञ्चालन गर्ने तयारीमा कलेज छ । तीन संकायका धेरै कार्याक्रम सञ्चालन गर्दै आएको क्याम्पसले अन्तराष्ट्रिय विश्वविद्यालयसंग एमओइ गर्न सोचमा रहेको प्रमुख प्राडा प्रधानले बताइन् । ‘आठ दशकको आफ्नो गौरवमय इतिहास बोकेको यो क्याम्पस निकट भविष्यमा नै मानित विश्वविद्यालयको यात्रातर्फ लम्किरहेको छ ।’ उनले भनिन्, ‘क्युएए पाएसंग आफ्नो परिचय अन्तर्राष्ट्रिय स्तरमा वृद्धि गर्न एमओइको तयारी गरिरहेका छौ ।’

A Levels MA