After SEE Portal

अठार वर्षपछि बन्यो शहीद नेपाली छात्रावास

Bridge Course

तनहुँ, ३१ असार (रासस) : तनहुँको व्यासनगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त बहुमुखी क्याम्पस परिसरमा निर्माणाधीन शहीद चन्द्र नेपाली छात्रावास १८ वर्षपछि सम्पन्न भएको छ । 

विसं २०५८ मा जग खन्न शुरु गरिएको उक्त छात्रावास भवनको यही २०७५ मङ्सिरमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो ।

विसं २००७ मा बन्दीपुर क्रान्तिमा जेल पर्नुभएका चन्द्र नेपालीलाई जेलबाट निकालेर राणाहरुले हत्या गरेपछि उहाँको संस्मरणमा छात्रावास निर्माण शुरु गरिएको शहीद चन्द्र नेपाली छात्रावास समितिका अध्यक्ष दोबाटे विश्वकर्माले जानकारी दिनुभयो । 

“छात्रावास भवनको निर्माणकार्य थालिए पनि आर्थिक अभावका कारण लामो अवधि बिताउनुपरेको थियो”, अध्यक्ष विश्वकर्माले भन्नुभयो, “ढिलै भए पनि शहीदको सपनालाई साकार गर्न सकिएको छ ।”

क्याम्पसको साढे दुई रोपनी क्षेत्रफल जग्गामा करीब रु ७० लाखको लागतमा १५ कोठे भवन निर्माण गरिएको अध्यक्ष विश्वकर्माले बताउनुभयो । सोही क्याम्पसमा अध्ययनरत २० दलित, जनजाति र अभिभावक नभएका छात्रालाई मात्रै छात्रावासको व्यवस्था मिलाइएको छ ।

छात्रावास भवन निर्माणका लागि तत्कालीन भौतिक आवास मन्त्रालयअन्तर्गतको साना शहरी विकास, जिल्ला समन्वय समिति, व्यासनगरपालिका, सांसद कोष, राष्ट्रिय दलित आयोगलगायतका सङ्घसंस्थाले आर्थिक सहयोग गरेका थिए । 

अध्ययनमा लगनशील भएका, निम्न आय भएका, ग्रामीण भेगबाट पढ्न आएका, अभिभावक संरक्षकत्व नभएका छात्रालाई प्राथमिकतामा राखेर छात्रावासको प्रबन्ध मिलाइएको आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खलेले बताउनुभयो ।

उनीहरुलाई खाना बनाएर खुवाउनका लागि एक कर्मचारीलाई छुट्टै तलब दिएर राखिएको छ । क्याम्पस प्रमुख हड्खलेले भन्नुभयो, “गाउँ सेवा कोष, भारतीय राजदूतावास, विश्वविद्यालय अनुदान आयोग, अन्य विभिन्न सङ्घसंस्थालगायतबाट प्राप्त सहयोगबाट छात्रावास सञ्चालनमा सहज भएको छ ।”

छात्रावास ३० जना क्षमताको भए पनि आन्तरिक व्यवस्थापन बाँकी रहेका कारण अहिले एउटा कोठामा दुई÷दुईका दरले २० छात्रा राखिएको छ । छात्रावासको आन्तरिक व्यवस्थापन बत्ती, पानी, शौचालय निर्माणपछि अन्य १० छात्रालाई पनि व्यवस्था मिलाइने होस्टल इन्चार्ज कल्पना लम्सालले जानकारी दिनुभयो ।

छात्रावासमा बिजुली, पानी इन्टरनेटसमेतको मासिक रु एक हजार तिर्ने व्यवस्था मिलाइएको छ । होस्टेलकी इन्चार्ज लम्सालले भन्नुभयो, “खानाका लागि उनीहरुले दाल, भात र तरकारी गरी महीनाभरि भएको खर्चमा प्रतिव्यक्ति भाग लगाएर तिर्ने गरेका छन्, मासिक रु एक हजारदेखि रु एक हजार ५०० सम्म खर्च गर्ने गरेका छन् ।

A Levels MA