After SEE Portal

स्नात्तकोतर गरेको व्यक्तिले निवेदन सम्म लेख्न नसक्ने अवस्थाः प्रधानाध्यापक नातिकाजी महर्जन ज्ञानोदय मावि

Bridge Course

सामुदायिक विद्यालय भन्ने बितिकै अहिले जो कोहीले पनि विद्यार्थी नभएका रित्ता कक्षाकोठा, न्यून उपलब्धि भन्ने सम्झन्छन् । तर नेपालका केही सामुदायिक विद्यालयहरू यस्ता पनि छन् जहाँ विद्यार्थीले भर्ना पाउनै मुस्किल हुन्छ । हरेक नयाँ कक्षामा भर्ना हुन आउनेले प्रवेश परीक्षा अनिवार्य पास गर्नैपर्ने, शिक्षक विहानदेखि बेलुकासम्म मात्र होइन शनिबार पनि विद्यालयमा नै भेटिने विद्यालय पनि छन् । प्रस्तुत छ वर्षैदेखि विद्यार्थी तथा अभिभावकको रोजाइमा आफ्नो विद्यालयलाई पार्न सफल काठमाडौं महानगरपालिकाको बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक नातिकाजी महर्जनसंग विद्यालय सुधारमा प्रधानाध्यापकको भूमिका विषयमा गरिएको कुराकानी । 

ज्ञानोदय माध्यमिक विद्यालयलाई अभिभावकले कसरी चिन्नु हुन्छ ?

अभिभावकले जहिल्यै पनि राम्रो उपलब्धि र गुणस्तरीय शिक्षा खोजिरहेका हुन्छन् । अभिभावकको चाहाना भनेको आफ्ना छोराछोरीले राम्रो पढुन् भन्ने नै हो । त्यसैले हामीले उहाँहरूको इच्छा, आकांक्षा परिपूर्ति गर्दै आएका छौं । हाम्रो उपलब्धि एसईईको मात्र होइन कक्षा १२ को पनि राम्रो छ । २०७५ सालको इसईईमा मात्र एक जनाले ४ जीपीए, १०३ जनाले ३.६ र सो भन्दा माथि जीपीए ल्याए । कक्षा १२ मा प्रदेश ३ को उत्कृष्ट विद्यालयका रूपमा यो वर्षको विज्ञान दिवसका दिन हाम्रो विद्यालय पुरस्कृत भएको छ । त्यसैले हाम्रो विद्यालयलाई सबै अभिभावकले हाम्रो र राम्रो विद्यालय भनेर चिन्नु हुन्छ ।

राम्रो सबैको हाम्रो विद्यालय बनाउन अन्य विद्यालयभन्दा के कस्ता फरक अभ्यास गर्दै आउनु भएको ?

हाम्रो विद्यालयमा शिक्षकका छोराछोरी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीका छोराछोरीसहित अन्य विद्यालयका शिक्षक, प्रोफेसर, निजामती कर्मचारीका छोराछोरी पढ्छन् । यसका साथै व्यापारी, मजदुर, किसानका ३ हजार २ जना बालबालिका पढ्छन् । म लगायत सबै शिक्षक यी बालबालिकाको भविष्य हाम्रो हातमा छ, हामी सबै शिक्षकहरू यिनीहरूका आमाबुबा हौं भन्ने सोचले हरेक दिन विद्यालयमा आउँछौं । शिक्षण सिकाइ योजनाबद्ध रूपमा गर्छौं । सबै शिक्षकले आफ्नो पेसालाई सम्मान गर्छौं । हाम्रो पहिलो प्राथमिकता नै विद्यार्थीको खुसी हो । त्यसैले परम्परागत शिक्षण विधिलाई आइसीटीसंग जोडेर पढाउँछौं । कमजोर विद्यार्थीलाई पहिचान गरी उनीहरूको त्रुटि निराकरण गर्न उपचारात्मक शिक्षण पद्धति अपनाएका छौं । पूर्वप्राथमिक देखि कक्षा १२ सम्म नै पढाउने शिक्षकहरू अनुभवि, तालिम प्राप्त हुनुहुन्छ । शिक्षक तथा विद्यालय व्यवस्थापन समितिमा टिमवर्क र टिम स्पिरिटको भावना भरपूर मात्रामा विकास भएको छ । सबैको चासो र चिन्ता भनेकै विद्यार्थीको सिकाइ स्तर कसरी सुधार गर्ने भन्ने नै हो । त्यसैले हरेक शनिबार शिक्षक अभिभावक छलफल गर्छौं । हरेक कक्षाका अभिभावकसंग छुट्टाछुट्टै भेट्छौं ।

अभिभावकलाई कसरी भेट्नु हुन्छ नि ?

हाम्रो हरेक कक्षामा कक्षा शिक्षकको व्यवस्था गरेका छौं । कुनै विद्यार्थी बिना सूचना कुनै दिन विद्यालय आएन भने हामी उसका अभिभावकसंग सम्पर्क गर्छौं । हाम्रो अभिभावकलाई बोलाउने तरिका फरक छ । हामी हरेक कक्षाका अभिभावकलाई छुट्टाछुट्टै भेट्छौं । हरेक शनिबार फरकफरक कक्षाका अभिभावकसंग भेटघाट गर्छौं । हरेक अभिभावकलाई उहाँहरूका छोराछोरीको राम्रा र सुधार गर्नुपर्ने विषयमा जानकारी लिन्छौं र दिन्छौं । सोही छलफलका आधारमा योजनाबद्ध शिक्षण गर्छौं । काठमाडौं महानगरको वार्षिक कार्यतालिका अनुसार वार्षिक चार पटक परीक्षा सञ्चालन गर्छौं । भने हरेक एकाइको अन्त्यमा एकाइ परीक्षा सञ्चालन गर्छौं । कक्षा १० र १२ मा हरेक शनिवार परीक्षा सञ्चालन गर्छौं । यी परीक्षाको प्रगति विवरण हामी अभिभावकको हातमा मात्रै दिन्छौं । त्यसैले हाम्रो प्रत्यक्ष सम्पर्क गर्न सहज भएको छ । हरेक पटक नतिजा वितरण तथा छलफलमा ९० प्रतिशतभन्दा माथि अभिभावकको सहभागिता हुन्छ ।

राम्रो भौतिक पूर्वाधार, तालिम प्राप्त शिक्षक, निःशुल्क पाठ्यपुस्तक, बुक कर्नरलगायत विभिन्न विषयमा सरकारले लगानी गरिरहेको तर सबै सामुदायिक विद्यालयको अवस्था टीठ लाग्दो नै सामुदायिक विद्यालयमा उपलब्धि तथा विद्यार्थी बढ्न नसक्नुको कारण के होला ?

कतिपय विद्यालयमा थोरै विद्यार्थी भएका कारण शिक्षकले के पढाउनु भनेर लत्तो छाडेको हुन सक्छ । कतै धेरै विद्यार्थी कम शिक्षक भएका कारण पेसाप्रति नै वितृष्णा उत्पन्न भइ मेहनत नगरेको देखिन्छ । तर हामी शिक्षकमा थोरै विद्यार्थी भए पनि तिनीहरूलाई अब्बल बनाउने तरिकाको खोजी गर्ने बानीको कमी छ । जति छन् त्यतिलाई नै अब्बल बनाउन सक्नुपर्छ । विद्यालयमा भएजति सबै अब्बल भएपछि स्वतः विद्यार्थी बढ्छन् । त्यसपछि अभिभावकले आफैं आफ्ना छोराछोरीलाई विद्यालय ल्याउनुहुन्छ । तर घरघरमा गएर तपाईँहरूले आफ्ना छोराछोरी पठाइदिनुन भनेर विद्यार्थी आउँदैनन् । त्यसैले विद्यार्थीलाई बालमैत्रीपूर्ण वातावरणमा शिक्षण गरी उपलब्धि सुधार गर्दै अभिभावकको भरोसा र विश्वास जित्नुपर्छ । यसका लागि राज्यले शिक्षकलाई कामका आधारमा दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्छ । शिक्षकले पनि विद्यालय छिरेपछि म यो विद्यालय र यी विद्यार्थीको मात्र हुँ भनेर प्रतिवद्ध हुनुपर्छ ।

सामुदायिक विद्यालयको सुधार गर्न के गर्नुपर्छ ?

शिक्षकले आफैंलाई विश्वास गरेर आफ्ना छोराछोरीलाई आफैंले पढाउने विद्यालयमा पढाउनुपर्छ ।शिक्षक पैसाका लागिभन्दा पनि सेवाभावले अभिप्रेरित भइ पेसा प्रति निष्ठावान हुनुपर्छ । कस्ता पाठ्यविषयका लागि के कस्ता शिक्षण विधि, शैक्षिक सामग्री प्रयोग गर्ने भन्ने पूर्व तयारी अवस्थामा कक्षाकोठमा छिर्नुपर्छ । शिक्षकले तालिममा सिकेका सिप तथा क्षमतालाई कक्षाकोठामा प्रयोग गरेकी गरेनन् निरीक्षण गर्नुपर्छ । सिकाइलाई आईसीटीमैत्री बनाउनै पर्छ । शिक्षणका नवीनतम् विधिहरूका बारेमा शिक्षक अद्यावधिक हुनैपर्छ । हरेक विषयमा परियोजना कार्य तथा पाठ्यक्रमको माग अनुरूप शिक्षण गराउन सक्ने वातावरण शिक्षकलाई प्रदान गर्नुपर्छ । विव्यस र शिक्षक–अभिभावक संघले पनि सहयोगी भूमिका निर्वाह गर्नुपर्छ ।अभिभावकहरूलाई विद्यालय केन्द्रित बनाउन आवश्यक हुन्छ । मासिक, वार्षिक कार्ययोजनासहित शिक्षक सक्रिय हुनुपर्छ ।

वर्तमान अवस्थामा सामुदायिक विद्यालयको प्रमुख समस्या के हो ?

शिक्षक विद्यार्थी अनुपात नमिल्नु प्रमुख समस्या हो । भने अर्को अङ्ग्रेजी भाषा मोह पनि हो । शिक्षणको माध्यम भाषामा विविधताको आवश्यकता छ तर हाम्रा शिक्षक साथीहरू सबै अङ्ग्रेजीमा पढाउन सक्ने हुनुहुन्न । विद्यार्थीको रूचि तथा आवश्यकतालाई कदर गर्नसक्ने पाठ्यक्रम निर्माण गर्न सकिएको छैन । विद्यालय वा विश्वविद्यालयको जनशक्ति अहिले पनि प्रमाणपत्रधारी मात्र छन् । व्यवहारिक छैन । एउटा स्नात्तकोतर गरेको व्यक्तिले अहिले पनि सामान्य निवेदन सम्म लेख्न नसक्ने अवस्था छ । त्यसैले विद्यार्थीको रूचि, आवश्यकतालाई सम्बोधन गर्न सक्ने विषयका पाठ्यक्रम विकासमा जोड दिनुपर्छ । प्राविधिक शिक्षालाई विस्तार गरी सबैको पहुँचमा पुर्‍याउन सकिएको छैन । हाम्रो देशमा अधिकांश बालबालिकाहरू गरिबीको समस्याले ग्रसित छन् । यिनीहरूलाई दिवाखाजाको व्यवस्था प्रभावकारी रूपमा हुन नसक्नु सामुदायिक विद्यालयको समस्या मात्र होइन चुनौति पनि हो ।

सामुदायिक विद्यालयको सुधार गर्न प्रधानाध्यापक भूमिका कस्तो हुनुपर्छ ?

शिक्षक, अभिभावक र विद्यार्थीका चाहनालाई सम्बोधन गर्न सक्ने तथा समन्वयकारी भूमिका खेल्नुपर्छ । उसले शिक्षकको मनोविज्ञान बुझेर काम गर्न सक्नुपर्छ । एउटा कुशल प्रशासक र दूरदर्शी प्रधानाध्यापकले नै विद्यालय सुधार गर्न सक्छ । कुशल प्रधानाध्यापकसंग जुनसुकै तह र तप्काका अभिभावक भए पनि विद्यालय भित्र ल्याउने रणनीति हुनुपर्छ । यसकालागि शिक्षक,अभिभावक सबैसंग मित्रवत सम्बन्धको विकास गर्न सक्नुपर्छ । प्रधानाध्यापक भनेको विद्यालय प्रशासनको प्रमुख व्यक्ति हो त्यसैले सबैलाई मिलाएर लान सक्ने क्षमता हुनुपर्छ । हरबखत अद्यावधिक भएको प्रधानाध्यापकले मात्र विद्यालयको सुधार गर्न सक्छ । धेरै विद्यार्थी भएका विद्यालयमा गएर हेर्नुस् हेरक विद्यालयमा प्रधानाध्यापकको पहिलो प्राथमिकता विद्यालय, सुधार र उपलब्धि सुधारमा नै केन्द्रित भएको हुन्छ  प्रधानाध्यापकहरू लगनशीलत, मेहनती र कुशल नेतृत्व भएको विद्यालयमा विद्यार्थी खचाखच छन् । प्रधानाध्यापक आफैं नै पहिले रोलमोडल हुनुपर्छ । मिलनसार, सामुहिक भावना, सहकार्यको भावना हुन आवश्यक छ । कुशल र नेतृत्वदायी प्रधानाध्यापकले चाहे विद्यालय सुध्रिन्छ । यसका लागि प्रधानाध्यापकले शिक्षक, अभिभावकलगायत सरोकारवालासंग समन्वयकारी भूमिका निर्वाह गर्न सक्नुपर्छ ।

A Levels MA
Thuprai - Books and E-books