सामुदायिक विद्यालय भन्ने बितिकै अहिले जो कोहीले पनि विद्यार्थी नभएका रित्ता कक्षाकोठा, न्यून उपलब्धि भन्ने सम्झन्छन् । तर नेपालका केही सामुदायिक विद्यालयहरू यस्ता पनि छन् जहाँ विद्यार्थीले भर्ना पाउनै मुस्किल हुन्छ । हरेक नयाँ कक्षामा भर्ना हुन आउनेले प्रवेश परीक्षा अनिवार्य पास गर्नैपर्ने, शिक्षक विहानदेखि बेलुकासम्म मात्र होइन शनिबार पनि विद्यालयमा नै भेटिने विद्यालय पनि छन् । प्रस्तुत छ वर्षैदेखि विद्यार्थी तथा अभिभावकको रोजाइमा आफ्नो विद्यालयलाई पार्न सफल काठमाडौं महानगरपालिकाको बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक नातिकाजी महर्जनसंग विद्यालय सुधारमा प्रधानाध्यापकको भूमिका विषयमा गरिएको कुराकानी ।
ज्ञानोदय माध्यमिक विद्यालयलाई अभिभावकले कसरी चिन्नु हुन्छ ?
अभिभावकले जहिल्यै पनि राम्रो उपलब्धि र गुणस्तरीय शिक्षा खोजिरहेका हुन्छन् । अभिभावकको चाहाना भनेको आफ्ना छोराछोरीले राम्रो पढुन् भन्ने नै हो । त्यसैले हामीले उहाँहरूको इच्छा, आकांक्षा परिपूर्ति गर्दै आएका छौं । हाम्रो उपलब्धि एसईईको मात्र होइन कक्षा १२ को पनि राम्रो छ । २०७५ सालको इसईईमा मात्र एक जनाले ४ जीपीए, १०३ जनाले ३.६ र सो भन्दा माथि जीपीए ल्याए । कक्षा १२ मा प्रदेश ३ को उत्कृष्ट विद्यालयका रूपमा यो वर्षको विज्ञान दिवसका दिन हाम्रो विद्यालय पुरस्कृत भएको छ । त्यसैले हाम्रो विद्यालयलाई सबै अभिभावकले हाम्रो र राम्रो विद्यालय भनेर चिन्नु हुन्छ ।
राम्रो र सबैको हाम्रो विद्यालय बनाउन अन्य विद्यालयभन्दा के कस्ता फरक अभ्यास गर्दै आउनु भएको छ ?
हाम्रो विद्यालयमा शिक्षकका छोराछोरी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीका छोराछोरीसहित अन्य विद्यालयका शिक्षक, प्रोफेसर, निजामती कर्मचारीका छोराछोरी पढ्छन् । यसका साथै व्यापारी, मजदुर, किसानका ३ हजार २ जना बालबालिका पढ्छन् । म लगायत सबै शिक्षक यी बालबालिकाको भविष्य हाम्रो हातमा छ, हामी सबै शिक्षकहरू यिनीहरूका आमाबुबा हौं भन्ने सोचले हरेक दिन विद्यालयमा आउँछौं । शिक्षण सिकाइ योजनाबद्ध रूपमा गर्छौं । सबै शिक्षकले आफ्नो पेसालाई सम्मान गर्छौं । हाम्रो पहिलो प्राथमिकता नै विद्यार्थीको खुसी हो । त्यसैले परम्परागत शिक्षण विधिलाई आइसीटीसंग जोडेर पढाउँछौं । कमजोर विद्यार्थीलाई पहिचान गरी उनीहरूको त्रुटि निराकरण गर्न उपचारात्मक शिक्षण पद्धति अपनाएका छौं । पूर्वप्राथमिक देखि कक्षा १२ सम्म नै पढाउने शिक्षकहरू अनुभवि, तालिम प्राप्त हुनुहुन्छ । शिक्षक तथा विद्यालय व्यवस्थापन समितिमा टिमवर्क र टिम स्पिरिटको भावना भरपूर मात्रामा विकास भएको छ । सबैको चासो र चिन्ता भनेकै विद्यार्थीको सिकाइ स्तर कसरी सुधार गर्ने भन्ने नै हो । त्यसैले हरेक शनिबार शिक्षक अभिभावक छलफल गर्छौं । हरेक कक्षाका अभिभावकसंग छुट्टाछुट्टै भेट्छौं ।
अभिभावकलाई कसरी भेट्नु हुन्छ नि ?
हाम्रो हरेक कक्षामा कक्षा शिक्षकको व्यवस्था गरेका छौं । कुनै विद्यार्थी बिना सूचना कुनै दिन विद्यालय आएन भने हामी उसका अभिभावकसंग सम्पर्क गर्छौं । हाम्रो अभिभावकलाई बोलाउने तरिका फरक छ । हामी हरेक कक्षाका अभिभावकलाई छुट्टाछुट्टै भेट्छौं । हरेक शनिबार फरकफरक कक्षाका अभिभावकसंग भेटघाट गर्छौं । हरेक अभिभावकलाई उहाँहरूका छोराछोरीको राम्रा र सुधार गर्नुपर्ने विषयमा जानकारी लिन्छौं र दिन्छौं । सोही छलफलका आधारमा योजनाबद्ध शिक्षण गर्छौं । काठमाडौं महानगरको वार्षिक कार्यतालिका अनुसार वार्षिक चार पटक परीक्षा सञ्चालन गर्छौं । भने हरेक एकाइको अन्त्यमा एकाइ परीक्षा सञ्चालन गर्छौं । कक्षा १० र १२ मा हरेक शनिवार परीक्षा सञ्चालन गर्छौं । यी परीक्षाको प्रगति विवरण हामी अभिभावकको हातमा मात्रै दिन्छौं । त्यसैले हाम्रो प्रत्यक्ष सम्पर्क गर्न सहज भएको छ । हरेक पटक नतिजा वितरण तथा छलफलमा ९० प्रतिशतभन्दा माथि अभिभावकको सहभागिता हुन्छ ।
राम्रो भौतिक पूर्वाधार, तालिम प्राप्त शिक्षक, निःशुल्क पाठ्यपुस्तक, बुक कर्नरलगायत विभिन्न विषयमा सरकारले लगानी गरिरहेको छ । तर सबै सामुदायिक विद्यालयको अवस्था टीठ लाग्दो नै छ । सामुदायिक विद्यालयमा उपलब्धि तथा विद्यार्थी बढ्न नसक्नुको कारण के होला ?
कतिपय विद्यालयमा थोरै विद्यार्थी भएका कारण शिक्षकले के पढाउनु भनेर लत्तो छाडेको हुन सक्छ । कतै धेरै विद्यार्थी कम शिक्षक भएका कारण पेसाप्रति नै वितृष्णा उत्पन्न भइ मेहनत नगरेको देखिन्छ । तर हामी शिक्षकमा थोरै विद्यार्थी भए पनि तिनीहरूलाई अब्बल बनाउने तरिकाको खोजी गर्ने बानीको कमी छ । जति छन् त्यतिलाई नै अब्बल बनाउन सक्नुपर्छ । विद्यालयमा भएजति सबै अब्बल भएपछि स्वतः विद्यार्थी बढ्छन् । त्यसपछि अभिभावकले आफैं आफ्ना छोराछोरीलाई विद्यालय ल्याउनुहुन्छ । तर घरघरमा गएर तपाईँहरूले आफ्ना छोराछोरी पठाइदिनुन भनेर विद्यार्थी आउँदैनन् । त्यसैले विद्यार्थीलाई बालमैत्रीपूर्ण वातावरणमा शिक्षण गरी उपलब्धि सुधार गर्दै अभिभावकको भरोसा र विश्वास जित्नुपर्छ । यसका लागि राज्यले शिक्षकलाई कामका आधारमा दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्छ । शिक्षकले पनि विद्यालय छिरेपछि म यो विद्यालय र यी विद्यार्थीको मात्र हुँ भनेर प्रतिवद्ध हुनुपर्छ ।
सामुदायिक विद्यालयको सुधार गर्न के गर्नुपर्छ ?
शिक्षकले आफैंलाई विश्वास गरेर आफ्ना छोराछोरीलाई आफैंले पढाउने विद्यालयमा पढाउनुपर्छ ।शिक्षक पैसाका लागिभन्दा पनि सेवाभावले अभिप्रेरित भइ पेसा प्रति निष्ठावान हुनुपर्छ । कस्ता पाठ्यविषयका लागि के कस्ता शिक्षण विधि, शैक्षिक सामग्री प्रयोग गर्ने भन्ने पूर्व तयारी अवस्थामा कक्षाकोठमा छिर्नुपर्छ । शिक्षकले तालिममा सिकेका सिप तथा क्षमतालाई कक्षाकोठामा प्रयोग गरेकी गरेनन् निरीक्षण गर्नुपर्छ । सिकाइलाई आईसीटीमैत्री बनाउनै पर्छ । शिक्षणका नवीनतम् विधिहरूका बारेमा शिक्षक अद्यावधिक हुनैपर्छ । हरेक विषयमा परियोजना कार्य तथा पाठ्यक्रमको माग अनुरूप शिक्षण गराउन सक्ने वातावरण शिक्षकलाई प्रदान गर्नुपर्छ । विव्यस र शिक्षक–अभिभावक संघले पनि सहयोगी भूमिका निर्वाह गर्नुपर्छ ।अभिभावकहरूलाई विद्यालय केन्द्रित बनाउन आवश्यक हुन्छ । मासिक, वार्षिक कार्ययोजनासहित शिक्षक सक्रिय हुनुपर्छ ।
वर्तमान अवस्थामा सामुदायिक विद्यालयको प्रमुख समस्या के हो ?
शिक्षक विद्यार्थी अनुपात नमिल्नु प्रमुख समस्या हो । भने अर्को अङ्ग्रेजी भाषा मोह पनि हो । शिक्षणको माध्यम भाषामा विविधताको आवश्यकता छ तर हाम्रा शिक्षक साथीहरू सबै अङ्ग्रेजीमा पढाउन सक्ने हुनुहुन्न । विद्यार्थीको रूचि तथा आवश्यकतालाई कदर गर्नसक्ने पाठ्यक्रम निर्माण गर्न सकिएको छैन । विद्यालय वा विश्वविद्यालयको जनशक्ति अहिले पनि प्रमाणपत्रधारी मात्र छन् । व्यवहारिक छैन । एउटा स्नात्तकोतर गरेको व्यक्तिले अहिले पनि सामान्य निवेदन सम्म लेख्न नसक्ने अवस्था छ । त्यसैले विद्यार्थीको रूचि, आवश्यकतालाई सम्बोधन गर्न सक्ने विषयका पाठ्यक्रम विकासमा जोड दिनुपर्छ । प्राविधिक शिक्षालाई विस्तार गरी सबैको पहुँचमा पुर्याउन सकिएको छैन । हाम्रो देशमा अधिकांश बालबालिकाहरू गरिबीको समस्याले ग्रसित छन् । यिनीहरूलाई दिवाखाजाको व्यवस्था प्रभावकारी रूपमा हुन नसक्नु सामुदायिक विद्यालयको समस्या मात्र होइन चुनौति पनि हो ।
सामुदायिक विद्यालयको सुधार गर्न प्रधानाध्यापक भूमिका कस्तो हुनुपर्छ ?
शिक्षक, अभिभावक र विद्यार्थीका चाहनालाई सम्बोधन गर्न सक्ने तथा समन्वयकारी भूमिका खेल्नुपर्छ । उसले शिक्षकको मनोविज्ञान बुझेर काम गर्न सक्नुपर्छ । एउटा कुशल प्रशासक र दूरदर्शी प्रधानाध्यापकले नै विद्यालय सुधार गर्न सक्छ । कुशल प्रधानाध्यापकसंग जुनसुकै तह र तप्काका अभिभावक भए पनि विद्यालय भित्र ल्याउने रणनीति हुनुपर्छ । यसकालागि शिक्षक,अभिभावक सबैसंग मित्रवत सम्बन्धको विकास गर्न सक्नुपर्छ । प्रधानाध्यापक भनेको विद्यालय प्रशासनको प्रमुख व्यक्ति हो त्यसैले सबैलाई मिलाएर लान सक्ने क्षमता हुनुपर्छ । हरबखत अद्यावधिक भएको प्रधानाध्यापकले मात्र विद्यालयको सुधार गर्न सक्छ । धेरै विद्यार्थी भएका विद्यालयमा गएर हेर्नुस् हेरक विद्यालयमा प्रधानाध्यापकको पहिलो प्राथमिकता विद्यालय, सुधार र उपलब्धि सुधारमा नै केन्द्रित भएको हुन्छ प्रधानाध्यापकहरू लगनशीलत, मेहनती र कुशल नेतृत्व भएको विद्यालयमा विद्यार्थी खचाखच छन् । प्रधानाध्यापक आफैं नै पहिले रोलमोडल हुनुपर्छ । मिलनसार, सामुहिक भावना, सहकार्यको भावना हुन आवश्यक छ । कुशल र नेतृत्वदायी प्रधानाध्यापकले चाहे विद्यालय सुध्रिन्छ । यसका लागि प्रधानाध्यापकले शिक्षक, अभिभावकलगायत सरोकारवालासंग समन्वयकारी भूमिका निर्वाह गर्न सक्नुपर्छ ।