धनी र गरिबका छोराछोरी एउटै विद्यालयमा

Thuprai - Books and E-books

सामुदायिक र संस्थागत खाडललाई समानुपातिक ढंगले अघि बढाउन काठमाडौं महानगरपालिका पञ्चवर्षीय शैक्षिक योजना बनाउन जुटेको छ । प्रस्तुत छ धनी र गरिबलाई एकै खाले शिक्षा प्रदान गर्ने परिकल्पनासहित अघि बढेको महानगरपालिकाका निमित्त शिक्षा विभाग प्रमुख तारापति खरेलसंग इडियुपत्रले गरेको कुराकानीको सारसंक्षेपः

काठमाडौं महानगरपालिकाको शैक्षिक अवस्था प्रकाश पारी दिनोस् न ।

२०७५ को एसईई नतिजा विगत दुईवर्षको तुलनामा समरुपमा नै देखिएको छ । महानगरको औसत जीपीए ३.१२ छ । महानगरभित्र ९१ सामुदायिक, ६४५ संस्थागत र करिब १६ वटा वैकल्पिक विद्यालय सञ्चालनमा छन् । संस्थागत र सामुदायिकमा गरी जम्मा १ लाख ९४ हजार ७ सय विद्यार्थी अध्ययनरत छन् । जसमध्ये सामुदायिकमा ३८ हजार ७ सय विद्यार्थी छन् भने संस्थागतमा १ लाख ३६ हजार विद्यार्थी अध्ययनरत छन् । यहाँको साक्षरता प्रतिशत ९३ रहेको छ ।

सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि महानगर के गर्दै छ ?

यहाँ सामुदायिकभन्दा संस्थागत विद्यालय सात गुणाभन्दा बढी छन् । सामुदायिक विद्यालय र संस्थागत विद्यालयको संख्यात्मक खाडल उच्च छ । संख्यात्मक मात्र होइन गुणात्मक खाडल पनि विकराल छ । यो खाडललाई समानुपातिक रुपमा अघि बढाउने उद्देश्यले महानगरले विभिन्न योजना बनाएको छ । धनी तथा गरिबका छोराछोरीलाई एकै खाले शिक्षा प्रदान गर्न महानगरले पञ्चवर्षीय शैक्षिक योजना बनाउँदै छ ।

पञ्चवर्षीय शैक्षिक योजनाका प्राथमिकताका क्षेत्रहरू पहिचान गर्नु भएको छ ?

प्राथमिकताका क्षेत्र निर्धारण गरिएको छ । महानगरभित्र पाँचवर्षपछि तालिम प्राप्त शिक्षक, भूकम्प प्रतिरोधी आधुनिक भवन, बालमैत्री विद्यालय, प्रविधिमैत्री कक्षाकोठा, जिम्मेवार अभिभावक बनाउने उद्देश्यले पञ्चवर्षीय शैक्षिक बनाउँदै छौं । योजनामा जीवनोपयोगी, आधुनिक, व्यावसायिक एवं प्रविधियुक्त शिक्षामा जोड दिई धनी र गरिबका छोराछारीलाई एकै ठाउँमा एकै खाले शिक्षा दिने थलो बनाउँछौं । योजना कार्यान्वयनपछि सामुदायिक विद्यालयको शैक्षिक, भैतिक, आर्थिक र सामाजिक पक्षको विकास हुनेमा हामी विश्वस्त छौं । सबै विद्यालयलाई विश्वनिकेतन, ज्ञानोदय, ज्ञानमन्दिर, शिवपुरी, शान्ति निकुञ्ज, पद्यमोदय, रत्नराज्य जस्तै विद्यार्थी अभिभावकका आकर्षक विद्यालय बनाउँछौं । सबै विद्यालयलाई अघि बढ्न प्रेरणा मिलोस् भनी विद्यालयलाई पुरस्कृत गर्न थालेका छौं ।

कस्ता विद्यालयलाई पुरस्कृत गर्नु हुन्छ नि ?

थप गुणस्तरीय शिक्षा प्रदान गर्न प्रेरणा मिलोस् भनेर प्रोत्साहन स्वरुप गतवर्ष देखि आधारभूत तह र माध्यमिक तहको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने सामुदायिक ३ र संस्थागत ३ विद्यालयलाई प्रत्येक वर्ष ‘उत्कृष्ट शिक्षा’ पुरस्कार प्रदान गर्दै आएको छौं । महानगरले विद्यालय छनौटका लागि विभिन्न ५४ वटा सूचक सहित अन्य उपसूचकको व्यवस्था गरेको छ । त्यसैको आधारमा पुरस्कृत गर्छौं ।

उत्कृषट विद्यालय छनौट गर्ने सूचकहरू कस्ता छन् नि ?

कक्षाकोठा व्यवस्थापन, शिक्षक विद्यार्थी अनुपात, प्राथमिक उपचारसम्बन्धी व्यवस्था, छात्रवृत्ति, प्रयोगशाला,अतिरिक्त क्रियाकलाप, आम्दानी खर्चको लेखाप्रणाली र पारदर्शितालगायतका सूचक निर्धारण गरेका छौं । यही सूचकलाई आधार मानी औसत अंकका आधारमा विद्यालयको वर्गीकरण गर्ने गरेका हौं । यो वर्ष हामीले क्रमशः प्रथम, द्वतीय र तृतीय स्थान हासिल गर्ने संस्थागत र एक सामुदायिक विद्यालयलाई पुरस्कृत गरेका छौं । उत्कृष्ट प्रथम विद्यालयलाई १ लाख ५० हजार नगद, द्वितीयलाई ७५ हजार र तृतीयलाई ५० हजार नगद प्रदान गर्‍यौं ।

यो वर्ष कुन कुन विद्यालय पुरस्कृत भए त ?

यो वर्ष सामुदायिक तर्फ क्रमशः शिवपुरी मावि महाराजगञ्ज, शान्ति निकुञ्ज मावि भगवतीबारी र पद्यमोदय मावि रामशाहपथलाई प्रथम,द्वितीय र तृतीयका रुपमा पुरस्कृत गर्‍यौं भने संस्थागततर्फ नोबेल एकेडेमी मावि नयाँबानेश्वर, स्वर्णिम स्कुल डल्लु आवास र अरुणिमा मावि बौद्धलाई पुरस्कृत गरेका छौं ।

विद्यार्थीलाई पनि पुरस्कृत गर्ने प्रावधान छ कि ?

हरेक वर्षको एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई पुरस्कृत गर्‍छौं । विद्यार्थीको प्रतिभालाई कदर गर्ने उद्देश्यले जनही पाँच हजार, प्रमाण पत्र र दोसल्ला चढाइ पुरस्कृत गर्ने गरेका छौं । यो वर्ष सामुदायिक र निजी दुवैतर्फका २४ जना विद्यार्थीलाई शिक्षा दिवसका दिन पुरस्कृत गरेका छौं ।

महानगरभित्र सञ्चालित निजी विद्यालयले चर्को शुल्क लिन्छन् भन्ने सुनिन्छ नि ?

शुल्कको निगरानीका लागि शुल्क अनुगमन समिति गठन गरेका छौं । महानगरभित्र शुल्क अनुगमन गरेर मात्र विद्यालयले लिने गरेका छन् । केही विद्यालयले अभिभावकको सहमतीमा धेरै शुल्क लिने गरेका भए पनि अभिभावकको सहमतीमा लिइएको शुल्कका बारेमा हामीले केही गर्न सक्दैनौं ।

सामुदायिक विद्यालयले पनि शुल्क लिने गरेका छन् नि ?

शिक्षक दरबन्दी मिलान समयमा नै गर्न नसक्दा सामुदायिक विद्यालयले निजी स्रोतका शिक्षक व्यवस्थापन गर्नुपर्ने भएकाले अभिभावकबाट सहयोग रकम लिनु हुन्छ । यसमा अभिभावक सहमत देखिनु हुन्छ ।

 शिक्षक दरबन्दी मिलान गर्न केले रोक्यो त ?

रोकेको छैन । हामी गरिरहेका छौं । एकै पटक सबै कुरा पुरा नहुँदो रहेछ । १ हजार ७९४ शिक्षक कार्यरत छन् । यसमा ८८८ प्रावि तहमा, ४८६ निम्नमाध्यमिक तह र ४२० माध्यमिक तहका शिक्षक छन् । शिक्षक–विद्यार्थी अनुपातका आधारमा विषयगत शिक्षक व्यवस्थापन गर्दैछौं । हामीकहाँ बालविकास सहजकार्ता ९० जना छन् । सहजकर्ता पनि अझै ३० जना अपुग छन् । ती दरबन्दी मिलान गरी सहजकर्ताको न्यूनतम पारिश्रमिक १३ हजार ५ सय पुर्‍याउन हामीले पहल गरिरहेका छौं ।

स्थानीय पाठ्यक्रम लागु गर्नु भयो त ?

शैक्षिक सत्र २०७७ देखि कार्यान्वयन गर्ने गरी स्थानीय पाठ्यक्रम निर्माण गरिहेका छौं । स्थानीय आवश्यकता, अभिभावकको चाहना, विद्यार्थीको अभिरुचीलाई ध्यानमा राखेर पाठ्यक्रम निर्माण गर्छौं । महानगरले तयार पारेको स्थानीय पाठ्यक्रम उपत्यकाका अन्य स्थानीय तहलाई समेत काम लाग्ने हाम्रो विश्वास छ । पाठ्यक्रममा सांस्कृतिक, धार्मिक (मठ, मन्दिर), नेपाल भाषा, दिगो विकास, वातावरण शिक्षा, ट्राफिक व्यवस्थापन र संस्कृतिसम्बन्धी विषय समावेश गर्दैछौं ।

परम्परागत भाषा र संस्कृतिको जर्गेना गर्न कुनै योजना सञ्चालन गर्नु भएको छ ?

बौद्ध परियत्ति शिक्षाका लागि रु २३ लाख ६५ हजार बजेट विनियोजन गरेका छौं । पाठ्य सामग्री छपाइ, दीक्षान्त समारोह तथा नैतिक आचरण शिक्षाका लागि बजेट विनियोजन गरेका छौं । स्थानीय पाठ्यक्रममा नेपाल भाषा र परम्परागत संस्कृतिलाई स्थान दिएका छौं ।

महानगरले शिक्षामा बजेट कति छुट्याएको छ नि ?

महानगरले सामाजिक विकास अन्तर्गत शिक्षालाई राखेको छ । खानेपानी तथा सरसफाई, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, शिक्षा, स्वास्थ्य र संस्कृति प्रवर्द्धनका कार्यक्रमहरू समेटिएका छन् । यस शीर्षकमा कुल रु. ३ अर्ब ५२ करोड ७४ लाख ३१ हजार बजेट मध्ये शिक्षाका लागि आन्तरिक तथा समानकिरण अनुदानतर्फ रु.११ करोड ९३ लाख ३१ हजार बजेट विनियोजन गरेको छ । भने संघीय तथा प्रदेश सरकारबाट शसर्त अनुदानतर्फ रु.१ अर्ब ४ करोड २ लाख ४६ हजार गरी जम्मा रु १ अर्ब, १६ करोड, १ लाख ७७ हजार बजेट विनियोजन गरेको छ । यही बजेटलाई परिचालन गरी हामी नगरभित्र गुणस्तरीय शिक्षा प्रदान गर्ने जमर्को गरिरहेका छौं ।