एसईईको नतिजा, अपेक्षा र भविष्य

विद्यालयको अध्यक्ष र प्रधानाध्यापक छान्न राजनैतिक दाउँपेच चलिरहन्छ, स्थानीय तहले शिक्षाको कार्यभार बहन गर्न सक्दैन, विद्यालय, प्रधानाध्यापक र शिक्षकलाई विश्वास गरिँदैन, विद्यालयलाई र प्रधानाध्यापकलाई कार्य स्वायत्तता र अधिकार दिइँदैन , कक्षाकोठाको शिक्षण सिकाइ पढूँ पढू जस्तो, शिक्षकलाई पढाइरहूँ जस्तो र विद्यार्थीलाई पढीरहूँ जस्तो नभएसम्म परीक्षाको नतिजामा सारभूत सुधार आउँदैन ।

शैक्षिक सत्र २०७९ को एसईईको नतिजा सार्वजनिक भएको छ । कुल ४ लाख ८४ हजार ९३९ परीक्षार्थीमा २२ हजार ४७५ जनाले ३.६ देखि ४ जिपिए प्राप्त गरेका छन् । यो कुल विद्यार्थी संख्याको ४.६३ प्रतिसत हो । शैक्षिक सत्र २०७८ मा यो जम्मा १.९४ प्रतिसत थियो । यद्यपि २ देखि २.२४ जिपिए ल्याउने विद्यार्थीको संख्या आधाभन्दा धेरै रहेको छ । साथै प्रयोगात्मक अंक नहुने गणित विषयमा एक तिहाइ विद्यार्थीले ‘इर्’ ग्रेड प्राप्त गरेका छन् । समग्रमा विगत वर्षको तुलनामा यो वर्ष विद्यार्थीको प्राप्तांकमा निक्कै सुधार आएको देखिए पनि क्षेत्रगत र सामुदायिक तथा संस्थागत विद्यालयगत रूपमा नतिजा सन्तुलित देखिँदैन ।

एसईई परीक्षाको नतिजा पछि फेरी पनि चोकचोकमा नतिजाको विषयमा बहस हुन थालेको छ । छापा माध्यम र अनलाइन मिडियामा समेत यसको चर्चा उत्तिकै बाक्लो देखिन्छ । सामाजिक सञ्जालमा राम्रो नतिजा ल्याउने विद्यार्थी र विद्यालयको नाममा वधाइ ओइरिएको देखिन्छ । कमजोर नतिजाको विषयमा पनि गाइगुइ चर्चा हुने चलनको सुरूवात भएको छ, यद्यपि यो सानै स्केलमा किन नहोस् । यो लेख यहि नतिजाको विषय, यसमा गरिएको अपेक्षा र यसको भावी सुधारका विषयमा केन्द्रित गरिएको छ ।

कोशिस गर्नेहरूले नतिजा ल्याउँछन् । फरक ढंगले कोशिस गर्नेहरूले अलि फरक र उत्कृष्ट नतिजा ल्याउँन सक्छन् । नतिजाको कुरा गर्दा जति धेरै संघर्ष त्यति धेरै सफलता प्राप्त हुन्छ भन्ने परम्परागत बुझाइ थियो । अब स्मार्ट प्रयत्नबाट स्मार्ट नतिजा ल्याउन सकिन्छ भन्ने बुझाइ स्थापित भएको छ । परीक्षाको नतिजाको सन्दर्भमा कुरा गर्दा पनि यही विषय लागु हुन्छ धेरथोर ।

परीक्षामा नतिजा कस्तो आउँछ भन्ने विषय शिक्षण सिकाइ प्रक्रिया कस्तो थियो भन्ने विषयसँग बढी जोडिन्छ । यदि शिक्षण सिकाइ जीवन्त थियो, शिक्षण सिकाइ अर्थपूर्ण थियो, शिक्षण सिकाइ बालमैत्री थियो, शिक्षण सिकाइ गरेर सिक्ने पद्धतिमा आधारित थियो, शिक्षण सिकाइमा विद्यार्थी सक्रिय थियो, शिक्षण सिकाइ विद्यार्थीकै नेतृत्वमा सञ्चालित थियो, शिक्षण सिकाइमा समूहकार्य र सहकार्यमा जोड दिइएको थियो, शिक्षण सिकाइ सक्षमतामा आधारित थियो, शिक्षण सिकाइसँगै मूल्याङ्कन जोडिएको थियो, विद्यार्थीले सिकेन भने शिक्षकले सिकाएन भन्ने मान्यतामा आधारित थियो, विद्यार्थीको सिकाइ उपलव्धी प्रति शिक्षकलाई पूरापूर जवाफदेही र जिम्मेवार बनाइएको थियो भने विद्यार्थीले उत्कृष्ट नतिजा निसन्देह प्राप्त गर्न सक्छन्, यसमा कुनै दुविधा मानिरहनु पर्दैन ।

शिक्षण सिकाइ प्रक्रिया कस्तो हुन्छ भन्ने कुराको मानक शिक्षण सिकाइका लागि उपलव्ध गराइएको वातावरणले तय गर्दछ । यदि पर्याप्त विषयगत शिक्षककै दरबन्दी छैन, उपयुक्त कक्षाकोठा तथा विद्यालय पूर्वाधार छैन, विज्ञान, गणित, सूचना प्रविधिका प्रयोगशाला, पुस्तकालयको उपलव्धता छैन, शिक्षक उत्प्रेरित छैन, पढाउने र नपढाउने, राम्रो पढाउने र कमजोर शिक्षण सक्षमता भएको शिक्षक विच विभेद छैन, राम्रो नतिजा दिनेलाई प्रणालीले पुरस्कृत गर्दैन, कमजोर नतिजाको कारकलाई चिन्दैन र उपचार गर्दैन, शिक्षक, विद्यार्थी र अभिभावकबिच विद्यार्थीको नतिजा सुधारका लागि सहकार्य हुन सक्दैन, निरन्तर विद्यार्थी मूल्याङ्कन अर्ध–जीवित बन्छ, शिक्षकको लक्ष्य विद्यार्थीको सिकाइ सुधार तर्फ केन्द्रित हुँदैन, शिक्षक घोकाउने र विद्यार्थी घोक्ने परम्परागत पद्धतिको अनुसरण भइरहन्छ, शिक्षकको शिक्षण कार्यको स्तरीकरण, शिक्षकको पेसागत विकासको पक्ष ओझेलमा परिरहन्छ, पाठ्यक्रममा आधारित शिक्षण सिकाइ उपेक्षामा परिरहन्छ, विद्यालयको अध्यक्ष र प्रधानाध्यापक छान्न राजनैतिक दाउँपेच चलिरहन्छ, स्थानीय तहले शिक्षाको कार्यभार बहन गर्न सक्दैन, विद्यालय, प्रधानाध्यापक र शिक्षकलाई विश्वास गरिदैन, विद्यालयलाई र प्रधानाध्यापकलाई कार्य स्वायत्तता र अधिकार दिइदैन भने कक्षाकोठाको शिक्षण सिकाइ पढूँ पढू जस्तो, शिक्षकलाई पढाइरहूँ जस्तो र विद्यार्थीलाई पढीरहूँ जस्तो नभएसम्म परीक्षाको नतिजामा सारभूत सुधार आउँदैन ।

अल्बर्ट आइनस्टाइनले भनेका छन् ‘उही प्रक्रिया दोहोर्याएर फरक नतिजा ल्याउने प्रयत्न एउटा मुर्खता बाहेक केही होइन’ । तर यहाँ यही भइरहेको छ । डेढ सय वर्ष पुरानो शिक्षा प्रणाली र पचास वर्ष भन्दा पुरानो शिक्षण पद्धतिको अकर्मण्यतामा शिक्षा जकडिएको छ । शिक्षक अझै पनि ज्ञानको अन्तिम स्रोत, सत्यको अन्तिम व्याख्याता बनिरहेको छ । शिक्षक आदेशकर्ता भइरहेको छ । विद्यार्थी आज्ञाकारी हुनै पर्ने ठानिएको छ । उत्तर दिने काम विद्यार्थीको र प्रश्न सोध्ने काम शिक्षकको मात्र भनेर शैक्षिक मूल्यको निर्माण गरिएको छ । यो मान्यता टिकिरहेसम्म विद्यार्थी प्रश्न गर्न सामर्थवान बन्ने छैन । प्रश्न गर्न नसक्ने विद्यार्थीले नयाँ नयाँ समस्याको समाधान निकाल्न सक्दैन । अन्वेषणशील बन्न सक्दैन । अहिले चाहिएको आविष्कारक हो । कपी पेष्ट होइन । किताबका ठेली घोकेर पास गर्न सकिने लोकसेवा मात्र हो । यस शैलीबाट जीवनपद्धति चल्न सक्दैन । यहाँ चाहिएको हरेक फरक परिस्थितिलाई अनुकलन गर्न सक्ने र हरेक चरणमा नव प्रर्वतन गर्न सक्ने जनशक्तिको आवश्यकता हो । यो वर्तमान शिक्षा पद्धतिबाट संभब छैन । यस खाले शिक्षाको परीक्षाबाट पनि खासै अपेक्षित नतिजा आउन सक्दैन ।

परीक्षाको नतिजा पाठ्यक्रमको अपेक्षामा आधारित हुन्छ । पाठ्यक्रम कस्तो छ ? पाठ्यक्रमको कार्यान्वयन कस्तो छ ? यसमा परीक्षाको नतिजा निर्भर गर्दछ । लक्षित पाठ्यक्रम, कार्यान्वित पाठ्यक्रम र नतिजामा देखिएको पाठ्यक्रमबिच तादम्यता कायम गर्न नसकिएसम्म नतिजामा खास सुधार ल्याउन सकिँदैन । मौजुदा पाठ्यक्रम वढी सैद्धान्तिक भएको, आर्दशवान ठानिएको, किताबको माछा जस्तो मात्र भएको आरोप छ । यसबाट उत्पादित जनशक्ति जति उच्च स्तरको हुँदै जान्छ, व्यवहार भने त्यत्तिकै कमजोर देखिन्छ । जति धेरै पढ्यो, उत्तिकै विनयशील, जीवनपयोगी सीपले युक्त, परिस्थितिको मुकाविला गर्न समर्थवान बन्नु पर्ने होइन ? तर यस्तो देख्न किन सकिएन ? मूल्याङ्कनले यो ल्याकतको जाँच गर्न किन सकेन ? एउटा विद्यालय तहको शिक्षा हासिल गरेको जनशक्ति जीवनसीपमा कुन हदसम्म समर्थवान हुनु पर्दछ ? एउटा स्नातक र स्नात्तोकत्तर जनशक्तिमा स्थापित हुनुपर्ने विषयगत ज्ञान, सामाजिक तथा मानवीय मूल्यमान्यता, प्राविधिक सीपको दक्षता कति हुनुपर्ने हो ? यस्को कुनै मानक देखिँदैन । नत रोजगार बजारमा उपलव्ध जनशक्तिको तादम्यता त्यस अनुरूप देखिन्छ । एउटा विषयमा डिग्री गरी सकेपछि फेरी अर्काे डिग्रीको ध्याउन्नेमा रहने विद्यार्थीबाट के उत्पादनमूलकता, सामाजिक सहिष्णुता र राष्ट्रिय योगदानको अपेक्षा गर्ने, कठिन छ ।

परीक्षाको तयारीको समय र अभिभावकको भूमिकाले पनि विद्यार्थीको परीक्षाको नतिजा प्रभावित हुन्छ । परीक्षालाई हाउगुजी ठान्ने विद्यार्थीको मनोविज्ञान, जसरी पनि राम्रो अंक ल्याउनै पर्ने अभिभावक र शिक्षकको राम्रो नतिजाका बाधक हुन्छन् । राम्रो तयारी गर्दागर्दै पनि हुने प्राविधिक तथा परिस्थितिजन्य त्रुटिले विद्यार्थीको कुनै एक विषयको एउटा प्रश्न सोचे अनुरूप हुन नसक्दा पनि यसले विद्यार्थीमा मानसिक दवाव पर्न गइ बाँकी परीक्षा प्रभावित हुने जोखिम रहन्छ । परीक्षाजन्य परिस्थितिसँग समायोजन हुन कठिनाइ हुँदा अनुकुलन हुन नसकी परीक्षा प्रभावित बन्न पुग्दछ ।

परीक्षाको समयमा हुने सामान्य त्रुटिका कारण विद्यार्थीहरूले राम्ररी परीक्षा दिन सकिरहेका हुँदैनन् । परीक्षाको समयमा पिरियड हुने किशोरीहरूको परीक्षा विग्रिएका धेरै उदाहरण छन् । तर यस समस्याको व्यवस्थापनको विषय सोचिँदैन । परीक्षा केन्द्रमा विद्यालय नर्स वा स्वास्थ्यकर्मी खटाउँदा यो समस्याको धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ तर गरिएको छैन । थप कपी दिँदा र स्टिच गर्दा समेत समय व्यवस्थापनमा ध्यान नपुर्याउँदा विद्यार्थीको प्रश्न छुटेका विषयहरू छन् । यस्तै कपी हराउने, कपी साटिने लगायतका अनगन्ति विषयहरू छन् । यसतर्फ ध्यान दिन सकिएको छैन । यी विषय परीक्षार्थीको मनबाट हेर्दा अक्षम्य छन् ।

परीक्षा व्यवस्थापनमा भएका त्रुटिको मारमा परीक्षार्थी पर्नु परिरहेको छ । खासगरी विथेल्डमा पर्ने विद्यार्थीको पुन जाँचको नतिजा समयमा नआउँदा विद्यार्थीको शैक्षिक सपनामा कालो बादल लाग्छ । राम्रो भनिएका कलेजमा उनीहरूले प्रवेश परीक्षा दिन पाउँदैनन् । यसका लागि हरेक २ दिनमा पुनः परीक्षणको नतिजा प्रकाशन गरी मार्कसीट जारीहुने व्यवस्था गर्नु पर्दछ । जसबाट प्रणालीको त्रुटिले मारमा परेका विद्यार्थीहरूलाई राहत महशुस गराउन सकिन्छ ।

अर्काे कुरा मार्कसिटमा देखिने नतिजा सबै थोक होइन । सबै थोक त विद्यालय शिक्षाले दिएको जीवन ज्ञान, जीवन सन्देश, उत्प्रेरणा, जीवनमा केही गर्न सकिन्छ भन्ने आँट र उच्च शिक्षाका लागि दिएको आधार हो, जो आफैमा महत्वपूर्ण छ । यो एउटा टेक्ने ओखटो हो, जस्लाई टेकेर भविष्यको लक्ष्य चुम्न सकिन्छ ।

विद्यालय शिक्षामा औषत देखिएका विद्यार्थीहरू उच्च शिक्षामा अब्बल सावित भएको उदाहरण बग्रेल्ती देख्न सकिन्छ । त्यसैले एसईईको नतिजा अपेक्षित आएन भनेर दुःख मनाउ गर्ने सयम होइन यो । भोलीको शिक्षा राम्रो गर्छु भनेर प्रतिबद्धता गर्ने समय हो यो । जीवनमा एकै तहका र प्रकारका परीक्षाका नतिजा राम्रो आएर कोही सफल भएको देखिँदैन । एक पछि अर्काे परीक्षाको नतिजा राम्रो गर्न सके मात्र जीवनका लक्ष्यहरूले गगनफेदी चुम्न सक्छ । एसईईको नतिजा हजार माइलको याात्राको एउटा स्टेप मात्र न हो । अरू स्टेप त पार गर्नु नै छ । ती बाँकी स्टेपहरूलाई गर्बिला बनाउन सके जीवन अवश्य बन्छ ।

पुरानो हतियारबाट नयाँ युद्ध गर्न सकिन्न अब, नयाँ युद्धका लागि नयाँ हतियारको खाँचो छ । यो खाँचो पूरा शिक्षक र विद्यालयको नयाँ प्रतिबद्धताबाट प्राप्त गर्न सकिन्छ । यसका लागि हरहमेशा शिक्षक र विद्यालयले आफूलाई अपडेटेड गर्न जरूरी छ । शिक्षण सिकाइका अत्ति उत्तम शिक्षण र सिकाइशैलीको अन्वेषण र प्रयोग गर्न आवश्यक छ । राम्रो शिक्षकको व्यवस्थापन गर्न नसक्ने विद्यालयले राम्रो शिक्षा र राम्रो नतिजा निसृत गर्न सक्दैन । किनकि सिस्नोको झाँगमा सुन्तला फल्दैन । यसैले अब शिक्षक विकास र व्यवस्थापनमा जोड दिनुपर्दछ । खेताला र कामचलाउ शिक्षक व्यवस्थापन विधिबाट अब नतिजा आउन सक्दैन ।

शिक्षक र विद्यालयहरूले पनि सोच्नु पर्ने बेला भएको छ । पुरानो हतियारबाट नयाँ युद्ध गर्न सकिन्न अब, नयाँ युद्धका लागि नयाँ हतियारको खाँचो छ । यो खाँचो पूरा शिक्षक र विद्यालयको नयाँ प्रतिबद्धताबाट प्राप्त गर्न सकिन्छ । यसका लागि हरहमेशा शिक्षक र विद्यालयले आफूलाई अपडेटेड गर्न जरूरी छ । शिक्षण सिकाइका अत्ति उत्तम शिक्षण र सिकाइशैलीको अन्वेषण र प्रयोग गर्न आवश्यक छ । राम्रो शिक्षकको व्यवस्थापन गर्न नसक्ने विद्यालयले राम्रो शिक्षा र राम्रो नतिजा निसृत गर्न सक्दैन । किनकि सिस्नोको झाँगमा सुन्तला फल्दैन । यसैले अब शिक्षक विकास र व्यवस्थापनमा जोड दिनुपर्दछ । खेताला र कामचलाउ शिक्षक व्यवस्थापन विधिबाट अब नतिजा आउन सक्दैन । यसका लागि शिक्षकको विकास र व्यवस्थापनमा धेरै लगानी आवश्यक छ । शिक्षकहरूको हकमा अबिलम्ब सामाजिक सुरक्षाका योजना र प्राबधानहरू कार्यान्वयन गर्नै पर्दछ । नगर्ने हो भने विद्यालय चलाउन बन्द गर्नुको विकल्प देखिँदैन ।

शिक्षा प्रशासन र व्यवस्थापनमा नविनता आवश्यक छ । शिक्षकलाई त्राहीमाम गर्ने शैक्षिक प्रशासनको ठाउँमा शिक्षकलाई अभिप्रेरित गर्न सक्ने, शिक्षकलाई नतिजामूलक ढंगले परिचालन गर्न सक्ने, शिक्षण सिकाइका नविनतम् पद्धतिको विकास र प्रयोगमा सहजीकरण गर्न सक्ने, शिक्षकको पेसागत विकासलाई नयाँ क्षितिजतर्फ अग्रसर गराउन सक्ने, अत्यावश्यकीय स्रोत साधनको व्यवस्थापन गर्न सक्ने, शिक्षामा पर्याप्त लगानीको जोहो गर्न सक्ने र अन्वेषणशील स्वरूपमा शैक्षिक प्रशासन र व्यवस्थापन गर्न सक्ने पूर्वक्रियाशील शैक्षिक प्रशासन र व्यवस्थापन आजको आवश्यकता हो । तब मात्र नतिजा अपेक्षित रूपमा हासिल गर्न सकिन्छ ।

नतिजा लगानी र प्रक्रियाको प्रतिफल हो । लगानी र प्रक्रिया सन्तुलित भएन, विद्यालयहरू अभावै अभाबमा गुज्रिरहे, शिक्षकको मनोबल र अभिप्रेरणाको स्तर खुस्किरह्यो, गुण नियन्त्रण हुन सकेन, व्यवस्थापन प्रक्रियामा केन्द्रित भयो, सरोकारवालाबिच समन्वय र सहकार्यको खडेरी परिरह्यो, प्रविधिको प्रयोग र व्यवहारिक शिक्षण सिकाइको प्रयोग हुन सकेन, पाठ्यपुस्तकमुखी शिक्षणबाट शिक्षक विद्यार्थी मुक्त हुन सकेन भने नतिजा निस्पादन हुन सक्दैन । नतिजाका लागि प्रणाली मोडेलको कार्यान्वयन, शिक्षकहरूबाट उच्च पेसागत प्रतिबद्धताको कार्यान्वयन, विद्यार्थीको सिकाइ उपलव्धी प्रति जवाफदेही शिक्षक प्रणालीको कार्यान्वयन, अतिउत्तम शिक्षण सिकाइशैलीको निर्माण र प्रयोग, विद्यार्थीमा सिकाइका लागि जागरूकता र तत्परता, व्यैक्तिक सिकाइ सुधार योजनाको निर्माण र कार्यन्वयन र अभिभावकहरूमा अभिभावकीय भूमिकाको निर्वाहको सर्बथा जरूरी छ । यति गर्न सकिएमा विद्यार्थीको र विद्यालयको नतिजामा सुधार नआउने अवस्था नै देख्न सकिन्न । गरेर हेरौ एकपटक ।

(लेखक बूढानीलकण्ठ नगरपालिकाका शिक्षा शाखा प्रमुख हुन् ।)