प्रतिभा पहिचान शैक्षिक प्रतियोगताको नतिजा प्रकाशन

काठमाडौँ, २९ साउन (रासस): नेपाल एष्ट्रोनोमिकल सोसाइटीले राष्ट्रिय प्रारम्भिक प्रतिभा पहिचान शैक्षिक प्रतियोगताको ‘पाँचौँ राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड २०१८’ को नतिजा प्रकाशन गरेको छ । 

प्रतियोगितामा क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर काठमाडौँका स्वर्णिम तिवारी यस वर्षको विजेता बन्नुभएको छ । यसैगरी रातो बङ्गला स्कूल पाटनका वेदान्त लोहनी, बूढानीलकण्ठ स्कूलका शुभम् शर्मा, अरनिको उच्च मावि विराटनगरका रुवेक पौडेल, द टाइम्स उच्च मावि काठमाडौँका प्रतीक भण्डारीले यसै वर्ष बेइजिङमा हुने सम्मेलनमा भाग लिन पाउनुहुनेछ । 

त्यस्तै रातो बङ्गला स्कूल पाटनका विशाल बराल, रातो बङ्गला स्कूल पाटनकै हर्ष रौनियार, गण्डकी बोर्डिङ स्कूल पोखराका हार्दिक श्रेष्ठ, सेन्ट जेभियर कलेज काठमाडौँका राजु बस्नेत, एस ओ एस हर्मन जिमिनियर स्कूल भरतपुरका निश्मा भट्टराई, रातो बङ्गला स्कूल पाटनका अङ्कित पण्डित, कान्तिपुर उच्च मावि विराटनगरका सहदेव राई र प्रसादी एकेडेमी पाटनका विनय ठाकुरले छैटौँ स्थानदेखि क्रमशः १३औँ स्थानसम्मको परिणाम प्राप्त गर्नुभएको जनाइएको छ । 

साउन १८ देखि २५ गतेसम्म सञ्चालन गरिएको अन्तिम चरणको परीक्षाको नतिजा आज प्रकाशित गरिएको हो । २०७४ साल फागुन ५ गते पहिलो चरणअन्तर्गत विराटनगर, चितवन, काठमाडौँ, पोखरा, बुटवल र धनगढीमा परीक्षा सञ्चालन गरिएको थियो । तीन चरणको राष्ट्रिय प्रतियोगितामा पहिलो चरणबाट ३३ विद्यार्थी छानिएका थिए । दोस्रो चरणअन्तर्गत खगोलीय साधन बनाउने, प्रतिवेदन लेख्ने, कार्यपत्र बनाउने, जनसम्पर्क कार्यक्रम गर्ने जस्ता चरण पूरा गरेका थिए । 

दोस्रो चरणबाट तेस्रो अर्थात् अन्तिम चरणका लागि १७ विद्यार्थी छनौट गरिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई बताउनुभयो । छनौटमा परेका प्रतियोगीलाई साउन १८ देखि २५ गतेसम्म सञ्चालन गरिएको बन्द शिविरका लागि काठमाडौँ बोलाइएको थियो । बन्द शिविरबाट अन्तिम चरण परीक्षाको नतिजा प्रकाशन गरिएको हो । 

कार्यक्रममा जुन ३०, २०१८ मा २० वर्षभन्दा कम उमेरका दश जोड दुईसम्म अध्ययनरत विद्यार्थीले आवेदन दर्ता गराएका थिए । राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड एक राष्ट्रिय प्रारम्भिक प्रतिभा पहिचान शैक्षिक प्रतियोगता हो । 

प्रतियोगितामा सामेल भई उत्कृष्टता प्रदर्शन गर्ने विद्यार्थीलाई अन्तर्राष्ट्रिय कार्यक्रमका लागि सिफारिश गरिँदै आएको सोसाइटीले जनाएको छ । सन् २०१४ देखि सञ्चालन भएको प्रतियोगिताबाट ८०० भन्दा बढी विद्यार्थीले आफ्नो प्रतिभा परीक्षण गरिसकेका छन् । कार्यक्रमले उत्कृष्ट ठह¥याएका विद्यार्थी देश विदेशका उत्कृष्ट विश्वविद्यालयमा अध्ययनरत छन् । 

Thuprai - Books and E-books