A Levels MA

उच्च शैक्षिक संस्थाहरूको शैक्षिक, प्राज्ञिक र भौतिक क्षमता अभिवृद्धि गर्न आवेदन माग

विश्वविद्यालय अनुदान आयोगले उच्च शैक्षिक संस्थाहरूको शैक्षिक, प्राज्ञिक र भौतिक क्षमता अभिवृद्धि गर्न विद्यार्थीहरूलाई छात्रवृत्ति तथा शिक्षक तथा कर्मचारीहरूको वृत्ति विकासका लागि आवेदन माग गरेको छ ।

शिक्षकको सिप, दक्षता, क्षमता अभिवृद्धिका लागि पुनर्ताजगीकरण, अनुसन्धान विधि तालिम, विद्वत्वृत्ति, अनुसन्धान सहायता, सामुदायिक क्याम्पसहरूलाई सञ्चालन तथा भौतिक विकास अनुदानलगायतका कार्यक्रमहरूका लागि आवेदन माग गरेको हो ।

उच्च शिक्षाको विकास, विस्तार र गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गर्न लागेको उक्त कार्यक्रमका लागि आयोगको कार्यक्रम कार्यविधि–२०७९ मा तोकेबमोजिमको ढाँचामा रही छुट्टाछुट्टै आवेदन र प्रस्ताव माग गरेको छ ।

 संस्थागत विकास अनुदान सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसहरूका लागि नियमित अनुदान प्रदान गर्न प्रस्ताव माग गरेको हो ।नियमित अनुदानका लागि क्याम्पसहरूले आवेदन दर्ता गर्नु पूर्व अनलाइन डाटा अनिवार्य रूपमा भरेको हुनुपर्नेछ । नियमित अनुदान प्राप्त गर्नका लागि न्यूनतम विद्यार्थी संख्या हिमाली जिल्लामा ५०, पहाडी जिल्लामा ७५, तराईका जिल्लामा १०० र काठमाडौं उपत्यकाभित्र १२५ जना हुनुपर्ने सूचनामा उल्लेख छ ।

भवन निर्माण अनुदानका लागि न्यूनतम विद्यार्थी संख्या हिमाली जिल्लामा ६०, पहाड़ी र तराई र भित्री मधेशका जिल्लामा १०० र काठमाडौं उपत्यका भित्र १४० जना हुनुपर्नेछ ।

अतिरिक्त क्रियाकलापका लागि संरचना विकास अनुदानअन्तर्गत यस अघि यस शीर्षकमा अनुदान प्राप्त नगरेका क्याम्पसहरूले प्रस्ताव पेश गर्न सक्ने सूचनामा उल्लेख छ ।

विशेष अनुदान लिनका लागि औपचारिक रूपमा पठनपाठन सुरु भई दुई वर्ष पूरा गरेका र नियमित अनुदान प्राप्त नगरेका सामुदायिक क्याम्पसहरूले आवेदन दिन सक्नेछन् ।

विशेष अनुदानका लागि न्यूनतम विद्यार्थी संख्या हिमाली जिल्लामा ५०, पहाडी जिल्लामा ७५, तराईका जिल्लामा १०० र काठमाडौं उपत्यकाभित्र १२५ ्रजना हुनुपर्ने प्रावधान तय गरेको छ ।

Thuprai - Books and E-books