After SEE Portal

भूकम्प प्रभावित खोटाङका १६ विद्यालयको पुनःनिर्माण सुरु

Bridge Course

विसं २०७२ मा गएको भूकम्प र पराकम्पबाट क्षति भएका खोटाङका १६ विद्यालयको पुनः निर्माण चैत्र मसान्त भित्र सम्पन्न हुने भएको छ । दस स्थानीय तह रहेको जिल्लामा १६ विद्यालयको भवन पुनः निर्माणको काम धमाधम भइरहेको छ । निर्माणाधीन विद्यालय भवन दुईकोठे, तीनकोठे र चारकोठे पक्की विद्यालय भवन निर्माण सुरु गरिएको हो ।

 शिक्षा विकास तथा समन्वय एकाइका अनुसार २०७२ को भूकम्पले जिल्लाका १६२ विद्यालय भवन प्रभावित भएका थिए । ती मध्ये १४६ विद्यालय भवन पुनःनिर्माण सम्पन्न गरिएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले १३० र गैरसरकारी संस्थाले १६ गरी १४६ विद्यालयको भवन पुनः निर्माण सम्पन्न गरेको हो ।

‘जिल्लाभरका ९९ विद्यालयमा आधुनिक शौचालयसहितका भवन निर्माण भइरहेका छन्’, शिक्षा विकास तथा समन्वय एकाइका इन्जिनियर बुद्धन यादवले भने, ‘निर्माणाधीन शौचालयमा किशोरीले स्यानिटरी प्याड डिस्पोज गर्न तथा लगाउन र फेर्न सक्ने गरी व्यवस्था मिलाइएको छ ।’

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा हालसम्म ८७ शौचालय निर्माण भइसकेका र १२ शौचालय निर्माणको काम भइरहेको जनाइएको छ । पुनःनिर्माण प्राधिकरणकै बजेटमा जिल्लाका ५१ विद्यालयमा खानेपानीको योजनासमेत परेको जनाइएको छ ।

जिल्लाका ४६ विद्यालयमा खानेपानी योजनाको काम सम्पन्न भएको छ भने पाँच विद्यालयमा निर्माण हुन बाँकी छ । बाँकी रहेका विद्यालयमा तत्काल खानेपानी योजना निर्माणको काम सुरु गर्न विद्यालय व्यवस्थापन समितिलाई आग्रह गरिएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।

प्राधिकरणले चारकोठे भवन निर्माणका लागि रु ७० लाख ४० हजार, तीनकोठे भवनका लागि रु ३५ लाख ८० हजार, दुईकोठे भवन निर्माणका लागि रु २३ लाख ९० हजार, शौचालय निर्माणका लागि रु १५ लाख र खानेपानी योजनाका लागि रु सात लाख ४० हजार बजेट उपलब्ध गराएको छ ।

विद्यालय भवन, शौचालय र खानेपानी योजनाको काम जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)ले हेर्दै आए पनि गत असारपछि उक्त कार्यालय शिक्षा मन्त्रालयमा गाभिएसंगै ती काम अहिले शिक्षा विकास तथा समन्वय एकाइले हेर्दै आएको छ ।

A Levels MA
Thuprai - Books and E-books