बेझाड, १६ वैशाख (रासस): भूकम्पले क्षति पु¥याएको रामपुर नगरपालिका–६ स्थित नवदुर्गा माविको भवन चार वर्ष पछि पुनः निर्माण हँुदैछ ।
जिर्ण भवनमा पठनपाठन हुँदै आएको यस विद्यालयमा भूकम्प पुनःनिर्माण प्राधिकरणमार्फत भवन निर्माणका लागि बजेट निकासा भएपछि निर्माण कार्य अगाडि बढाइएको हो ।
दुईतले चार कोठाको सो भवन निर्माणका लागि रु ७० लाख बजेट प्राप्त भएको छ ।
आउँदो असोज कात्तिक भित्रमा भवन निर्माण गर्ने गरी निर्माण कार्य अगाडि बढाइएको भवन निर्माण समितिका अध्यक्ष घनश्याम खनालले बताउनुभयो । यस विद्यालयको सात वटा भवनमा २० वटा कोठा रहेकामा १२ वटा कोठामा कक्षा सञ्चालन भइरहेको छ ।
भूकम्पले चर्किएको भवन हटाएर नयाँ बनाउन पनि नसकिएकाले कोठाको सङ्ख्या बढी भए पनि पठनपाठनमा समस्या भएको प्रधानाध्यापक भानुभक्त न्यौपानेले बताउनुभयो ।
“सङ्ख्यात्मक रुपमा कोठा धेरै छन्, भूकम्पले खल्बल्याएको कोठामा अध्यापन गराउँदा हावाहुरी चलेका बेला टिन उडाउने, गारो भत्काउनेजस्ता डर हुने गरेको छ” उहाँले भन्नुभयो ।
जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे) को रु २० लाख सहयोगमा दुईतले भवन निर्माण गरिएको छ भने साविक जिल्ला शिक्षा कार्यालयको सहयोगमा पनि दुईतले भवन निर्माण भइसकेको छ ।
बाँकी रहेका पुराना भवन नहटाउँदासम्म विद्यालयमा सामान्य हावाहुरी चलेका बखत शिक्षण कार्य प्रभावित हुने त्यहाँका शिक्षक बताउँछन् । हाल त्यस विद्यालयमा ३३० विद्यार्थी अध्ययनरत छन् ।
कक्षा नर्सरी देखि ५ सम्म अङ्ग्रेजी माध्यममा पठनपाठन भइरहेको त्यस विद्यालयमा गतवर्षको तुलनामा यस वर्ष भर्ना दर बढ्दो रहेको पाइएको छ । निजी विद्यालयमा अध्ययनरत् विद्यार्थी पनि यस विद्यालयमा भर्ना हुन आएको विद्यालयले जनाएको छ ।
जिल्लाका धेरै विद्यालयको भौतिक अवस्था नाजुक भएकामा भूकम्प प्रभावित विद्यालयहरुको पुनः निर्माण धमाधम भइरहेका छन् । समयमा नै भवन पुनः निर्माण नहँुदा पठनपाठनमा समस्या परिरहेको सम्बन्धित विद्यालयको गुनासो छ ।
आव २०७५÷७६ मा ३६ वटा विद्यालय भवन निर्माण भइरहेकामा दुईकोठे १७ वटा, तीन कोठे चार वटा, चार कोठे १५ वटा भवन निर्माणको क्रममा रहेको जिल्ला प्राधिकरण कार्यालयले जनाएको छ ।